यस्तो छ अमेरिकी सहायकमन्त्रीको दुई दिनको ‘सेड्युल’
गए राति काठमाडौं ओर्लिएकी विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडेउ मुश्किलले दुई दिन काठमाडौंमा बस्ने कार्यक्रम छ । गए राति ३ बजे काठमाडौं ओर्लिएकी उनी कतार एयरवेजको क्युआर ६४४ उडानबाट दोहा हुँदै काठमाडौं आएकी हुन् ।
आज बिहान १० बजेदेखि अमेरिकी दूतावासमा आयोजित कार्यक्रमा सहभागी हुन मन्त्री एलिजाबेथ महाराजगञ्ज पुगेकी छन् । उनी आज दिनभर अमेरिकी दूतावासको कार्यक्रममा सहभागी हुने बताइएको छ ।
त्यसपछि आजै अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म बौद्धस्थित होटल तिब्बतमा आयोजना गरिएको कार्यक्रममा भाग लिने जानकारी दिइएको छ । त्यसपछि साढे ६ बजे आफू बसेको बत्तिसपुतलीस्थित होटल द्वारिकाज जाने बुझिएको छ ।
भोलि बिहान ठमेलको एलफ्ट होटलमा ब्रेकफास्टसहितको छलफल कार्यक्रम राखिएको छ । त्यहाँ बिहान १० बजेसम्म युवा परिषद्ले कार्यक्रम आयोजना गरेको छ ।
ठमेलको कार्यक्रमपछि मन्त्री एलिजाबेथ १२ बजे नेपाली चुल्होमा दिवा भोजनको लागि जाने भ्रमण तालिका बनाइएको छ । दिवा भोजनपछि बसन्तपुुरस्थित काठमाडौं दरबार स्क्वायरको भ्रमण गराइने उच्च स्रोतले बताएको छ ।
भोलि नेपाल भ्रमण पूरा गरेर अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ राति ९ बजेको फ्लाई दुबईको उडानमा फर्कने बताइन्छ ।
टिप्पणीहरू