मंसिर ४ गते रातिसम्म यी काम गर्न नपाइने
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगले तोकेको आचारसंहिता लागू भएको छ ।
अब सरकारी, अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति प्रयोग गरेर कुनै पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार गर्न–गराउन पाउने छैनन् । त्यस्तै, कुनै संस्था वा विद्यालयमा निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन अंकित ज्याकेट, कमिज, टोपी, टिसर्टजस्ता सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण गर्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने गरी प्रचारप्रसार गर्न नहुने आयोगले बताएको छ । त्यस्तै, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न पाइने छैन ।
साथै, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न, झूठा साइट खोल्न वा सञ्चालन गर्न पनि रोक लगाइएको छ । निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी अवाञ्छित लाञ्छना नलगाउन र कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग हुने कार्य नगर्न नपाइने भनिएको छ ।
मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरुलाई हतोत्साहित गर्ने र निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेलगायत कुनै पनि कार्य नगर्न आचारसंहितामा भनिएको छ ।
यता, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा सोका पदाधिकारी, कर्मचारी, सरकारी तथा सार्वजनिक निकायलाई राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न नहुन कडा निर्देशन दिइएको छ ।
वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम गर्न नपाइने जनाइएको छ । योजनाको शिलान्याश, उद्घाटन, सर्वेक्षण तथा सम्भाव्यता अध्ययन गर्न नहुने आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिने राजनीतिक दल, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ ।
टिप्पणीहरू