फ्रान्समा नेपाली चेलीको रहस्यमय मृत्यु, प्रहरीद्वारा परिवारको खोजी
केही महिनाअघि फ्रान्स पुगेकी एक नेपाली युवतीको रहस्यमय मृत्यु भएको छ । उनले राजधानी पेरिस नजिकै ड्रेन्सी नगरको एउटा रुखमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
राहदानीमा जन्मस्थान सर्लाही लेखिएकी २५ वर्षीया सानुमाया तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको प्राप्त समाचारमा उल्लेख छ । उनको माइती सर्लाही र घर मकवानपुर भएको बताइए पनि विस्तृत विवरण खुल्न सकेको छैन । उनका पति श्रेष्ठ थरका हुन् ।
त्यहाँको प्रहरीले सानुमायाले आत्महत्या गरेको भने पनि अवस्था शंकास्पद भएको फ्रान्सस्थित नेपालीहरुले बताएका छन् । यतिखेर प्रहरीले आवश्यक अनुसन्धान पूरा गरेर अन्त्येष्टिको निम्ति परिवारको खोजी गरेपछि नेपालीहरुले उनको परिवार खोजीमा सक्रियता देखाएका हुन् ।
फ्रान्सेली कानुनअनुसार मृतकको परिवार सम्पर्कमा नआए सामान्य प्रक्रियाबाट लाश गाड्ने गरिन्छ । अन्यथा, परिवारको चाहनाबमोजिम जलाउने व्यस्थासमेत रहेको प्राप्त समाचारमा उल्लेख छ ।
अपुष्ट स्रोतले सानुमाया पोर्चुगल हुँदै केही महिनाअघि फ्रान्स छिरेपछि पेरिस नजिकै बस्दै आएको जानकारी दिएको छ । फ्रान्सको प्रहरी र पेरिसस्थित नेपाली दूतावासले गरेको प्रयासमा पनि हिजो साँझसम्म मृतकको परिवार पत्ता लागेको छैन । शव प्रहरीको नियन्त्रणमा अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार उनले नेपाली पात्रोअनुसार असोज ३ गते सम्बिधान दिवसको दिन आत्महत्या गरेकी हुन् । पेरिसस्थित स्रोतले उनी एउटा नेपाली परिवारसँगै बस्दै आएको जानकारी दिएको छ । तर उनको कोठामा फ्रान्सेली नियमभन्दा धेरै मानिस बस्ने गरेकाले पनि घटनालाई रहस्यमय बनाएको हो ।
तामाङले झुण्डिएर आत्महत्या गरेको खबर पाएपछि एनआरएनए फ्रान्सका आइसिसी मेम्बर अमर भण्डारी घटनास्थल पुगेका थिए । उनले मृतकको मुख हेर्न खोजे पनि प्रहरीले परिवारको सदस्य नभएकाले हेर्न नमिल्ने भन्दै फर्काइदिएको थियो ।
भर्खरकी युवती भएकाले उनको बलात्कारपछि हत्या गरेर झुण्डाइएको हुनसक्ने कतिपयको आशंका छ । कसैले उनको एक जना बंगाली पुरुषसँग प्रेम रहेको र इजरायल हुँदै पेरिस पुगेको अपुष्ट खबर गरेका छन् ।
घटना रहस्यमय भएकाले मृतकको परिवारको सदस्यले अनुमति नदिएसम्म प्रहरीसँग कसैले पनि थप सोधनी गर्न नमिल्ने बताइन्छ । उनको धार्मिक परम्पराअनुसार शव व्यवस्थापन गर्न पनि परिवारको अनुमति तत्काल चाहिएको हो ।
उनलाई देख्नेहरुले यसअघि पनि चुरोट पिउने बेलामा सँधै अहिले झुण्डिएको रुखको फेदमा जाने गरेको बताएका छन् । पहिले त्यही रुखको फेदमा बसेर सँधै चुरोट पिउने उनको अहिले इहलीला समाप्त भएको छ ।
उनको शवलाई स्थानीय प्रहरीले ड्रान्सी नगरपालिकालाई जिम्मा दिएको खबर प्राप्त भएको छ । यसअघि प्रहरीले उनको शवसँगै सबै कागजात लगेको थियो । अहिले सोही कागजातसहित शव नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
टिप्पणीहरू