क्यानाडामा पर्यटनमन्त्रीको सम्बोधन : ‘नेपाली आकाश सुरक्षित छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हवाई उडानको निम्ति नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभालाई सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो ।
मन्ट्रियल शहरमा जारी महासभालाई स्थानीय समयानुसार हिजो सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ आईकाओको प्रतिवेदनअनुसार हवाई सुरक्षा मापदण्ड परिपालनामा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा माथि भएकाले हाम्रो आकाश सुरक्षित छ ।’
नेपालको भू–धरातलबमोजिम हवाई यातायातको विकल्प नभएको उहाँले जानकारी गराउनुभयो । ‘त्यसैले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय रप्रभावकारी बनाउन नेपाल सरकार प्रतिवद्ध छ,’ उहाँले भन्नुभयो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको पनि मन्त्री श्रेष्ठले जानकारी गराउनुभएको छ । हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रीको भनाइ छ ।
सम्बोधनअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव हुँआ कार्लोस सालजा र काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको विषय जानकारी गराउनुभएको पर्यटन मन्त्रालये जनाएको छ ।
टिप्पणीहरू