विश्वकर्मासँग विवाह गरेकी महिलालाई बाबुको किरिया गर्न बन्देज

विश्वकर्मासँग विवाह गरेकी महिलालाई बाबुको किरिया गर्न बन्देज

विश्वकर्मा थरका युवासँग अन्तजार्तिय विवाह गरेकी एक महिलालाई माइतीपक्षले सानो जात भन्दै बुबाको मृत्युसँस्कारमा सामुहिक सहभागी हुन बंचित गराएका छन् ।

मोरंङको केरावारी गाउँपालिका ६ अमृत चौक माइती भएकी २९ बर्षिया अञ्जु पुरी दर्नाललाई बाबुको मृत्यु संस्कारमा सामुहिक सहभागी हुनबाट माइती पक्षले बंचित गराएका हुन् ।

सानो जातसँग विबाह गरेर जात फालेको भन्दै माइतीले सामुहिक मृत्यु सँस्कार गर्न नदिएपछि अहिले सञ्जु माइती घरको बरण्डामा अलग्गै ढिकुरो बनाएर बाबुको किरिया गर्न बसिरहेकी छन् । तर घिमिरे थरका बाहुनसँग विवाह गरेकी अञ्जुकी बहिनी गंगामायालाई चाँही माइती पक्षले सगोलमै मृत्यु संस्कारमा सहभागी गराएको छ ।

आफुले विश्वकर्मासँग विवाह गरेर कुनै गल्ति नगरेको र कानुनले पनि जातिय छुवाछुतलाई अपराध मानिसकेकोले सगोलमै बुबाको किरिया बस्न पाउनुपर्ने माग अञ्जु र उनका श्रीमानले गरेका थिए । तर माइती पक्षले सानो जातको भएर ठूला कुरा नगर्न र आफनै समुदायको पुरोहित बोलाएर काजकिरया सम्पन्न गराउन भन्दै धाकधम्की दिएर उनीहरुलाई छुवाछुत गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन । एउटै माइतीका दुई चेलीहरु एक जना घरभित्र सगोलमा बाबुको काजकिरिया गरिरहेकी छन भने दिदी अञ्जु माइती घरको बरण्डामा अलग्गै झोक्राइरहेकी छन ।

गाउँलेहरुका अनुसार जातिय बिभेद र छुवाछुत संबिधान र कानुन अनुसार अपराध भैसक्यो भनेर सम्झाउँदा पनि माइती पक्षले आफनो कुल बंश परम्परा भन्दै उनीहरुलाई सगोलमा सहभागी गराएनन । बरु घरकै बरण्डामा अलग्गै ढिकुरो र अर्कै बाहुन बोलाएर किरिया गर्न भने दिइएको छ । उनीहरुलाइ माईती पक्षका पुरुषहरुले घटनालाई बाहिर लगेमा जेपनि गर्न सक्ने धम्की दिएको र सहयोगीहरु पनि कोही नभएकोले उनीहरु आफुमाथि भएको अन्याय चुपचाप सहिरहेका छन । उनीहरुले घटनाबारे पत्रकार , मानव अधिकारकर्मी र प्रहरीलाई जानकारी दिएमा जे पनि गर्नसक्ने धम्की दाइभाइहरुले दिइरहेका छन ।

२०६९ सालमा पाँचथर फिदिम नगरपालिका १४ घर भएका सुभाष दर्नाल विश्वकर्मासँग मोरङको केरावारी गाउँपालिका घर भएकी अञ्जु पुरीले अन्तर्जातिय प्रेम विवाह गरेकी थिइन । विवाहपछि अञ्जु श्रीमान र एक छोरीसँगै काठमाण्डौमा बस्दै आएकी थिइन । उनका बुवा शमशेर पुरीले अन्तिम अवस्थामा छोरी ज्वाईको मुख हेरेर मर्छु भनेर बोलाउन लगाएका थिए । यसैले अञ्जु लकडाउनको समयमा पनि जोखिम मोलेर १८ हजार भाडा तिरेर विरामी बुबाको मुख हेर्न श्रीमान र ८ बर्षको छोरीसँगै माइती हिँडेकी थिइन । तर बाटोमा आउने क्रममै २९ जेठमा बुबाको मृत्यु भएको थियो । बुबाको मृत्यु भएपछि माइती पक्षले ‘अब तिमीहरु आउन पर्दैन ’, कोरोना सर्छ फर्क भनेर फोनबाट माइत आउन रोकेका थिए । तर वडा अध्यक्षसँग सम्पर्क गर्दा आरडिटी टेस्ट गराएर आउन पाउने भनेपछि उनीहरुले सबैको आरडिटी जाँच गराएका थिए । आरडिटी नेगेटिभ आएपछि अञ्जु र उनका श्रीमान सुभाष १ असार साँझ केरावारी स्थित माइती घर पुगेका थिए । तर माइती पक्षले अञ्जु श्रीमान सुभाष र छोरीलाई सानो जातको भनेर घर भित्र पस्न नदिई बाहिरै राखेर अलग्गै किरिया गर्न भनेका थिए । अञ्जुकी आमा बौद्धिक अपांगछिन बोल्न सक्दिनन । यसैले माइतीहरुले उनलाई अलग्गै किरिया बस्न र १३ औ पनि अलग्गै बाछो ल्याएर कर्म गराउन अह्राएका छन ।

वडा अध्यक्ष उपेन्द्र लुंङगेलीले आफुले समन्वय गरेर अञ्जु र उनका श्रीमानलाई बाबुको मृत्यु सँस्कारकालागि माइत आउन सहयोग तर उनीहरुमाथि जातिय विभेद भएको भन्ने कुरा बिहिबार दिउँसो मात्र जानकारी पाएकोले शुक्रबार मात्र अवस्था बुझन जाने वताए ।

जातिय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कसैलाई पनि कुनैपनि स्थानमा पस्न रोक लगाउनु र सबैखाले धार्मिक र समाजिक सँस्कारबाट बंचित गर्नु जातिय विभेद र छुवाछुतको अपराध हो । यसरी अपराध गर्नेलाई प्रहरी प्रशासनले सूचना पाएकै आधारमा पक्राउ गरेर कानुनी कार्वाही चलाउनुपछर्् । दोषी ठहरिएमा अभियुक्त्तहरुलाई ३ बर्षसम्म कैद २५ हजार जरिवाना र पिडितलाई १ लाख रुपैया सम्म क्षतिपुर्ति भराउनुपर्ने सजाय छ ।

टिप्पणीहरू