निमित्तले पनि छाडेपछि बालेनलाई नयाँ चाहियो
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रमुख प्रशासकीय अधिकृत माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गुहारेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँमाथि कारबाहीको सिफारिसपछि रिक्त पदमा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन उनले आग्रह गरेका हुन् ।
हिजो मन्त्रालयलाई एउटा पत्र पठाउँदै उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिमको कामकाजका लागि प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेका छन् । पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिकामा खटिई आउनुभएका प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ ।’
आधिकारिक प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको आरोपमा महानगरले गुरागाइँमाथि कारबाहीको सिफारिस गरेको हो । उनीमाथि छानबिन गर्न महानगरले समितिसमेत गठन गरेको छ । त्यसपछि बिदामा बसेका गुरागाइँले पदबाट राजीनामा दिएका छन् । उनले छोडेपछि महानगरले शिक्षा विभागका प्रमुख गोविन्द शर्मालाई निमित्तको जिम्मेवारी दिएको थियो ।
मेयर साहले अनुचित काम गराउन खोजेको भन्दै उनी पनि राजीनामा दिएर हिँडेका छन् ।
टिप्पणीहरू