किराना पसलेको किस्सा, उद्योग वाणिज्य संघमा सम्झाइबुझाइ
एकजना व्यक्ति केही खाद्यवस्तु किन्न किराना पसलमा जान्छन् । व्यापारीले पैसा लिएर सामान दिई पठाउँछन् । बेलुकी पसले घरमा पुग्दा ती ग्राहक आफ्नै घरमा पाहुना आएका हुन्छन् । बेलुकीको खाना खान लाग्दा पसलेकी श्रीमतीले तिनै भाइ पर्ने पाहुनाले किनेर ल्याएको जुस पिउन लाग्छिन् । पसलेले यो खान हुँदैन भन्छन् । श्रीमतीले ‘जुस त मलाई भन्दा बढी तपाईंलाई नै मन पर्छ’ भन्दै पिउनै लागेपछि पसले मुख खोल्न बाध्य हुँदै भन्छन्, ‘यो डेट एक्सपायर जुस हो, खान हुँदैन ।’ त्यसपछि व्यापारी भएर यस्तो गलत काम गर्ने भन्दै पाहुना रिसाएर जान्छन् ।
पसले राति सुत्दा अख्तियारीप्राप्त सरकारी अधिकारीको टोली उनको पसलमा पुग्छन् । ती प्रशासकले खाद्य ऐन विपरीत काम गरेको र पटक–पटक सम्झाउँदा पनि नसच्चिएको भन्दै उनलाई कडा कारबाही हुने र पसल पनि सिल हुने बताउँदै गर्दा पसले सपनाबाट झल्याँस्स हुन्छन् । भोलिपल्ट पसलमा पुग्नेबित्तिकै म्याद नाघेका सामान जति झिकेर एउटा कार्टुनमा छुट्याउँछन् । त्यसैबेला अर्का एक ग्राहक आएर त्यही कार्टुनमा राखिएको बिस्कुटलाई कति हो भनी सोध्छन् । पसलेले यो म्याद नाघेको बिस्कुट हो खानुहुँदैन भनी ग्राहकलाई अर्काे राम्रो बिस्कुट झिकेर दिन्छन् र भन्छन्, ‘तपाईं ग्राहकहरुले पनि सामान किन्दा लेबल विवरण हेरेर मात्र किन्ने गर्नुहोला ।’ र अन्त्यमा जान लागेका ग्राहकलाई पख्नुस् भन्दै रोकेर बिल पनि काटेर दिन्छन् ।
म्याद गुज्रेका, गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्रीवितरण गरेको कसुरमा बेलाबेलामा कारबाही र जरिवाना भोग्दै आएका किराना व्यवसायीहरुलाई हिजो उद्योग वाणिज्य संघ चितवनमा राखेर सम्झाइबुझाइ गर्ने क्रममा सचेतनामूलक भिडियोमा देखाइएको किस्सा हो यो ।
हामीले उपभोग गर्ने प्रायः खाद्यवस्तु किराना पसलमा नै पाइन्छन् । उत्पादक र उद्योगसँग उपभोक्ताको प्रत्यक्ष सम्बन्ध हुँदैन । उपभोक्ताहरुका लागि नजिकको जिम्मेवार व्यक्ति भनेकै बिक्रेता हुन् । तर व्यापारीहरुले पनि बढी नाफाको लालच, लापरवाही वा अज्ञानताको कारण रद्दी, गुणस्तरहीन खाद्य वस्तु बेचबिखन गर्दा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्छ, परिरहेको छ । जानी–नजानी पसलेहरु पनि दण्डसजायको भागीदार भइरहेका छन् । त्यसैले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजना एवम् उद्योग वाणिज्य संघ चितवन र किराना व्यवसायी संघ चितवनको सह–आयोजनामा हिजो खाद्य स्वच्छता अभिवृद्धिका लागि किराना तथा खाद्य व्यवसायीहरुलाई सचेतना कार्यक्रम गरिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ६५–७० प्रतिशत मानिसहरु नसर्ने रोगबाट पीडित रहेको र त्यसको मुख्य तीन कारणमा अल्कोहल, धुम्रपान र विषाक्त खाद्यवस्तुको सेवन नै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी बताउँछन् । बाहिरबाट हेर्दा ठिकै भएपनि भित्र खानेकुरा गुणस्तरहीन हुनसक्ने (उत्पादकले मनग्गे फाइदाका लागि गुणस्तरमा ठगी गरेको हुनसक्ने) भन्दै उनले किराना पसलेहरुलाई पसलमा राख्नुअघि खाद्यवस्तुहरुको गुणस्तर, लेबल विवरण सबै राम्रोसँग नियाल्न र गएगुज्रेका खानेकुरा राख्दै नराख्न सचेत गराए ।
खाद्य अनुज्ञापत्र नं., खाद्य पदार्थको नाम, उत्पादकको नाम–ठेगाना, पौष्टिक तत्वहरुको मात्रा–मिश्रण, प्रयोग गर्ने तरिका, उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल आदि सबै यकिन गरेर मात्रै पसलमा खाद्यसामग्री राख्न सजग गराइएको छ । बोरा वा प्याकेट खोली बिक्री गर्दा व्यवसायी आफैं जिम्मेवार हुने बताउँदै अधिकारीले भने, ‘पसलमा रद्दी खानेकुरा फेला परे उद्योगीले यस्तै दिए भनेर छुट पाउनुहुन्न ।’
समयमै नबिकेर म्याद गुज्रेका सामानलाई ‘एक्सपायर जोन’ बनाएर छुट्टै राख्न सिकाइएको छ । पहिले ल्याएका सामान पहिले नै बेचिसकेरमात्रै पछि ल्याएका सामान बिक्री गर्ने असल व्यापारिक अभ्यास गर्न पनि व्यापारीहरुलाई सम्झाइयो ।
खाद्य वस्तु र सरफ, साबुन जस्ता कुनै पनि अखाद्य वस्तुलाई एकै ठाउँमा नराख्न, कम्तीमा ४÷५ फिटको दूरीमा अलग–अलग राख्न भनिएको छ । त्यस्ता अखाद्य वस्तुको संसर्ग र गन्धले खाद्यवस्तु दूषित हुने अधिकारीले बताए । तेल, घिउ, जुस, दूध, नुन, चाउमिन जस्ता संवेदनशील खाद्यपदार्थहरु बाहिर शोकेसमा देखाएर घाम पर्ने गरी राख्दा म्याद अगावै गुणस्तर नष्ट हुने हुँदा ओसिलो ठाउँमा राख्न भनिएको छ । अत्यधिक र अखाद्य रंग प्रयोग गरिएका खाद्य वस्तु बेच्दै नबेच्न खबरदारी गरिएको छ ।
व्यवसायीले स्वीकृति नलिएका सामग्री बिक्री नगर्न (पूजा सामग्री) भनिएको छ । पूजा सामग्रीको रुपमा बेचिने तिलका तेल, घिउहरु खानेतेल–घिउभन्दा सस्तोमा पाइने र नपढेका, आर्थिक अवस्था कमजोर भएकाहरुले त्यही पूजाकै तेल, घिउलाई खाद्य प्रयोजनका लागि प्रयोग गर्नसक्ने, यसले उनीहरुको स्वास्थ्यमा ठूलो हानिनोक्सानी हुने अधिकारीले बताए । सामान खरिद–बिक्री गर्दा बिल लिनदिन र मूल्यसूची अनिवार्य राख्न पनि सुझाइएको छ । ‘यति गर्नुभयो भने तपाईंहरुको व्यवसायमा समस्या आउँदैन’, अधिकारीले भने । खाद्यपदार्थमा हुनसक्ने मिसावट र स्वास्थ्यमा पर्ने असरबारे पनि उनले किराना व्यवसायीहरुलाई जानकारी गराएका थिए ।
खाद्य वस्तु उत्पादनदेखि उपभोक्तासम्म पुग्ने श्रृंखलामा व्यापारीहरुको महत्वपूर्ण हात हुन्छ । तर सस्तोमा बढी नाफा हुने सामान पाएपछि गुणस्तर, म्याद र लेबल नै नभएका सामान पनि उनीहरुले बेच्ने गरेको पाइन्छ । उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीद्वारा सञ्चालित कार्यक्रममा सचेत र जिम्मेवार व्यापारी भएर कारोबार गरिदिन किनारा व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष रविन्द्र श्रेष्ठको आग्रह थियो । व्यवसायीहरुलाई सचेत बनाएर दण्ड–जरिवानाबाट बचाउन र ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यापारीहरुलाई भने, ‘हाम्रो व्यवसायलाई हामीले एक्सपर्टिजको हिसाबले अगाडि बढाउनुपर्छ ।’
कार्यक्रममा सहभागी किराना व्यवसायीहरुले अनुज्ञापत्र र उद्योगको नामसमेत उल्लेख नभएका खाद्यवस्तु इन्डियाबाट भित्रिरहेको र भन्सार छिरेर आएका त्यस्ता सामानहरुको नेपालमा बेचबिखन भइरहेको बताएका थिए । ‘बोर्डरबाट मापदण्ड विपरीतका त्यस्ता सामान कसरी छिर्छन् ?’ भन्दै ल्याउनेलाई नै क¥याप्प पार्नुपर्ने व्यापारीहरुको भनाइ थियो । साइट्रिक एसिड हालेर बनाइएका अखाद्य चुक अमिलो पनि बजारमा छ्याप्छ्याप्ती रहेको उनीहरुले सुनाएका थिए ।
व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी सरल भाषामा महत्वपूर्ण ज्ञान दिएर सचेत तुल्याउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख घननाथ अधिकारीलाई विशेष धन्यवाद दिँदै किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले संघको तर्फबाट अधिकारीलाई मायाको चिनोस्वरुप बुद्धको प्रतिमा प्रदान गरेका थिए । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष शिरिष पन्त, कार्यसमिति सदस्य राजन पिया लगायत ७० जना जति किराना व्यवसायीहरु उक्त कार्यक्रममा सहभागी थिए ।
टिप्पणीहरू