धनुषामा कस्तो आउला मत परिणाम ?

धनुषामा कस्तो आउला मत परिणाम ?

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । काठमाडौंसहित तराईको विभिन्न जिल्लामा आजबाटै मतगणना गर्ने तयारी छ । त्यसमध्ये धनुषा जिल्लाका चार वटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक ठाउँमा हुने भएको छ । 

हेमबहादुर मल्ल दम्पत्तीझैं धनुषामा एमालेबाट रघुवीर र जुली महासेठ दम्पत्तिले पनि कडा पकड जमाउने अनुमान छ । 

निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेपाल कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव मैदानमा छन् । पूर्वमन्त्रीसमेत रहेका यी दुईको प्रतिस्पर्धा घरदैलो अभियानदेखि नै एकदमै रोचक देखिएको थियो । 

पूर्वराष्ट्रपति रामवरण यादव निर्वाचित भएको यो क्षेत्रमा रघुवीरको धनका सामु कसैको दाल गल्ने देखिन्न । धनाढ्य उपेन्द्र महतोका बहिनी ज्वाईं उनले दुई कार्यकाल जितेको क्षेत्र हो यो ।  

यादवहरुको बाहुल्यता रहेको यो क्षेत्रको उत्तरीतर्फ पहाडी समुदाय र गैरयादवहरुको बाक्लो उपस्थिति छ । 

कडा टक्कर दिइरहेका यी दुई प्रतिस्पर्धीमा कसले चुनाव जित्ला भनेर मतदातामा उत्सुकता देखिएको छ । अहिले नै आकंलन गर्न सकिने अवस्था नरहेको एक स्थानीयले बताए । जातिगत र आर्थिक हिसाबले पनि नतिजा महासेठको हातमा पर्ने सक्ने अनुमान छ । त्यसैगरी,निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनको तर्फबाट अनिल झा र एमालेबाट जुलीकुमारी महतो महासेठ आमुन्नेसामुन्ने छन् ।

राजेन्द्र महतो भने ०७४ मा जितेको सो क्षेत्र छोडेर सर्लाही पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका लागि आफू जितेको क्षेत्र छोडेर अनिल धनुषा हान्निएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा राजेन्द्र महतोले विमलेन्द्र निधिलाई अघिल्लो चुनावमा हराएपछि उनले यसपालि समानुपातिक रोजेको कांग्रेसीहरुको भनाइ छ । 

अनिललाई जिताउन विमलेन्द्रले जोडबल गरेका छन् । जातिगत मत तान्न जुली गाउँगाउँ पुगेर थकित हुने गरेकी थिइन् । सुडी समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा जुलीलाई निकै फाइदा पुग्ने अाँकलन गरिएको छ ।

ब्राहमणलगायत उच्च जातिबाट उनले अपेक्षा गरेकी छन् । नागरिकता विधेयकमा एमालेले देखाएको अनुदार क्रियाकलापको चर्को आलोचना गर्दै अनिल गाउँगाउँ धाएका थिए । यता,मधेशीहरुको स्वाभिमान र अधिकार प्राप्तिका विषयहरु उनले जोडतोडका साथ उठाएको पाइन्छ । 

तर,राजेन्द्रले जसरी मधेश आन्दोलनको ‘राप र ताप’ बाट चुनाव जित्न आफूलाई सहज वातावरण बनाएका थिए, त्यो अवस्था अनिलका लागि छैन । चुनावी प्रसारप्रसारको क्रममा समेत उक्त क्षेत्रमा चारचोटि झडप भएको थियो ।  

यता, क्षेत्र नम्बर २ मा यादव जातिका तीन निकटतम प्रतिस्पर्धी भएपछि नेकपा एसका उम्मेदवार एवम् पूर्वमन्त्री रामचन्द्र झाले सन्चो मानेको अवस्था थियो । उच्च जातिको मत तान्न सके उनको जीत सम्भव भएको स्थानीयहरुको धारणा छ । 

यो क्षेत्रमा गठबन्धनबाट छुट्टिएर नेकपा एस एक्लै चुनावी मैदानमा उत्रिएको छ भने नेपाली कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवारको रुपमा पूर्वमन्त्री रामकृष्ण यादव छन् । 

मधेशी पार्टी त्यागेर एमाले छिरेका पूर्वमन्त्री उमाशंकर अरगरिया पनि उम्मेदवार छन् भने जसपाका तर्फबाट एमाले त्यागेका गंगाराम यादवलाई उठाइएको छ । यिनीहरुबीच पनि कडा प्रतिस्पर्धा देखिएको छ । 

यसैगरी क्षेत्र नम्बर १ मा माओवादीका मातृका यादव र जसपाका दीपक कार्कीले एकअर्कालाई कडा टक्कर दिएका छन् । क्षेत्र नम्बर १ को समिकरण परिवर्तन हुने ठोस संकेत नदेखिएपनि भित्री रुपमा मत चोर्ने र आफ्नै दलका उम्मेदवारलाई धोका दिने क्रम बढ्न थालेको बताइन्छ ।
 

टिप्पणीहरू