०७९ को चुनावले बेग्लै परिणाम दिने प्रष्ट संकेत

०७९ को चुनावले बेग्लै परिणाम दिने प्रष्ट संकेत

मतगणनाको प्रारम्भिक नतिजाले राजनीतिक दलका उम्मेदवारसँगै राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात घण्टी चिन्ह लिएका उम्मेदवारहरु प्रतिस्पर्धामा देखिएका छन् । सोही आधारमा उक्त चिन्हले समानुपातिक मत पनि राम्रै ल्याउने आकलन गर्न थालिएको छ ।

हिजो दिनभर चुनावी सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकृतले भने,‘घण्टी,लौरो, माछालाई भोट दिएको भन्दा पनि मतदाताले दलहरुको निम्ति नो भोट गरेको अनुमान गरेका छौं ।’ प्रत्यक्षमा भन्दा पनि उक्त चिन्हले समानुपातिकमा धेरै मत ल्याउने सम्भावना बढेको उनी बताउँछन् । 

जताततै युवाको चर्चा चलाइएकाले राजनीतिक दलका पनि युवा उम्मेदवारको सम्भावना बढेको चर्चा हुन थालेको छ । त्यसैगरी बूढा भए पनि राष्ट्रिय रुपमा परिचित उम्मेदवारले भने निर्वाचनमा जित्ने सम्भावना रहेको मतदानमा खटिएका कर्मचारीले अनुमान गरेका छन् । 

प्रारम्भिक अनुमानअनुसार एकीकृत समाजवादीका नेता झलनाथ खनालको पक्षमा अवस्था त्यति सहज नदेखिन सक्ने भन्न थालिएको छ । तुलनात्मक रुपमा माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको पक्षमा मतदान राम्रै भएको अड्कल छ । एमाले अध्यक्ष केपी शर्मा ओली ढुक्क हुनुहुन्छ ।

एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको बारेमा पनि यसै हो भन्न सक्ने अवस्थामा काभ्रेका एमालेजन पनि देखिँदैनन् । भक्तपुरमा महेश बस्नेतभन्दा काँग्रेसका दुर्लभ थापा निकै अगाडि छन् । 

काठमाडौं ६ बाट उठाइएका एमाले उम्मेदवार तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालको अवस्था तेस्रोमा देखिन्छ । त्यहाँ पनि घण्टी र काँग्रेसवीच प्रतिस्पर्धा हुँदैछ । काँग्रेसको तर्फबाट भीमसेनदास प्रधान उम्मेदवार छन् । 

यता निर्वाचन क्षेत्र नम्बर ८ मा पर्यटनमन्त्री तथा एकीकृत समाजवादीका उम्मेदवार जीवनरामको पक्षमा खसेको भनिएको मतबारे पनि अनेक टिकाटिप्पणी हुन थालेको छ । तर, मतगणना नभइसकेकाले यसै हो भन्न सकिन्न ।

टिप्पणीहरू