माओवादीले मृतकको नाममा मत खसालेको गोरखा एमालेको आरोप

माओवादीले मृतकको नाममा मत खसालेको गोरखा एमालेको आरोप

नेकपा एमालेले गोरखाका दुवै निर्वाचन क्षेत्रमा पुनः मतदानको माग गरेको छ । एमाले जिल्ला कमिटी, गोरखाले पुनः मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगसमक्ष माग गरेको छ । 

स्वतन्त्र र धाँधलीरहित निर्वाचनको मर्ममाथि प्रहार गर्दै केही बुथमा निर्वाचन विरोधी कार्य भएको बताउँदै कमिटीले पुनः मतदानको व्यवस्था मिलाउन माग गरेको हो । 

सत्ता गठबन्धनमा आवद्ध दलहरुले निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताको नामबाट मतदान गरेको एमालेको आरोप छ । 

‘विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्नेजस्ता अवाञ्छित क्रियाकलाप भएका छन्,’ सचिव काजीराम रोकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

एमालेले विभिन्न मतदान केन्द्रमा भएको निर्वाचनविरोधी क्रियाकलापको घोर भत्र्सना गर्दै उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ । गोरखामा अहिलेसम्म मतगणना हुन सकेको छैन ।

टिप्पणीहरू