मतगणना थाल्नुपर्ने माग गर्दै गठबन्धनका कार्यकर्ताद्वारा नाराबाजी

मतगणना थाल्नुपर्ने माग गर्दै गठबन्धनका कार्यकर्ताद्वारा नाराबाजी

दोलखामा मतगणना गर्न ढिलाइ गरेको भन्दै गठबन्धनका कार्यकर्ताले नाराबाजी गरेका छन् । मतगणनामा ढिलासुस्ती भएको भन्दै गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले चरिकोटस्थित गौरीशंकर बुहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले अहिले पनि प्रदर्शन गरिरहेको बताइन्छ ।

सबै मतदान केन्द्रवाट मतपेटिका मतगणनास्थलमा आइपुगे पनि अहिलेसम्म मतगणना थालिएको छैन । नेकपा एमालेले जिल्लाका पाँच वटा मतदान केन्द्रमा गठबन्धनले बुथ कव्जा गरेको भन्दै पुनः निर्वाचनको माग गरेको छ । उसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो उजुरी दर्ता गराएको हो । उक्त उजुरीलाई हिजै निर्वाचन आयोगमा पठाइए पनि आयोगवाट कुनै निर्णय नआएकाले मत गणनामा ढिलाइ भएको बताइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सहमतिका लागि सर्वदलीय बैठक बोलाए पनि एमालेले निर्वाचन आयोगको निर्णय नआएसम्म मतगणना गर्न नहुने अडान लिएपछि बैठक विना निश्कर्ष टुङ्गिएको हो ।

तामाकोशीको जफे, बैतेस्वरको गैरीमुदी र नाम्दु, मेलुङको भेडपु तथा गौरीशंकरको जुँगु मतदान केन्द्रको निर्वाचन रद्द गरी पुनः मतदान गर्नुपर्ने एमालेको माग छ ।

टिप्पणीहरू