लमजुङमा सत्ता गठबन्धनको अनुमान फेल हुने सम्भावना बढ्यो
-अञ्जनकुमार
मतदानको अघिल्लो दिन अस्तिसम्म एकथरीले लमजुङमा एमालेभन्दा गठबन्धन दलका उम्मेदवार नै हावी हुने प्रक्षेपण गरेका थिए । उनीहरुको आधार माओवादी केन्द्रको सातदेखि आठ हजार,समाजवादीलगायत अन्य दलको कम्तीमा पनि दुई हजारदेखि २५ सय र काँग्रेसको ३५ हजार मत एकत्रित गर्दा एमाले त्यसै ढल्ने अनुमान थियो ।
तर जनआस्था संवाददाताले मतदानस्थल पुगेर हिजो दिनभर मत सर्वेक्षण (एक्जिट पोल) गर्दा उक्त अनुमान भुस हुने अवस्था बनेको छ ।
लमजुङ (ख) को बेसीसहर,सुन्दरबजार र मध्यनेपाल नगरपालिकाका एक दर्जन मतदान स्थलका चार सय ८७ जनालाई सोधिएको प्रश्नको जवाफमा दुई सय ९८ जनाले नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङको पक्षमा धारणा राखेका छन् । त्यसैगरी ८९ जनाले स्वतन्त्र पार्टीका धर्म केसीलाई र ३६ जनाले मात्रै गठबन्धनतर्फका माओवादी नेता देवप्रसाद गुरुङलाई मत दिएको बताए ।
बाँकी ६४ जनामध्ये चार जनाले मतपत्रमा छाप नलगाएको,तीन जना युवकले मादललाई भोट दिएको र एक जनाले सबैलाई दिएको बताए । बाँकी अरुले थप बताउन चाहेनन् ।
पटक पटक पृथ्वीसुब्बा गुरुङलाई मत दिएर आफूहरु आजित भएको, गुरुङले जातीय नारा लगाएको र रुखो स्वभावका कारण एमाले उम्मेदवारको पराजय निश्चित रहेको गठबन्धनका नेताहरुले ठोकुवा गरेका थिए । तर उक्त दावीले मूर्त रुप लिने जस्तो देखिएको छैन ।
संघीय निर्वाचनमा काँग्रेस उम्मेदवार नभएपछि काँग्रेसका कतिपय मतदाताले घण्टी र कतिपयले सूर्यमा मतदान गरेको पाइएको छ । जलविद्युत परियोजनाबाट पीडित पूर्वी लमजुङका माओवादी समर्थकहरु नै देव गुरुङको विरोधी भएर निस्किएका छन् । उता सँधै एमाले भन्नेहरु पनि यस पटक घण्टी खोज्दै थिए । प्रदेश सभामा घण्टीको उम्मेदवार नभएकाले घण्टी समर्थकले एमालेलाई मतदान गरेको पनि देखिएको छ ।
२०४८ सालमा देव गुरुङलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका काँग्रेसका रामचन्द्र अधिकारीले नै पाँच हजार फरकले पृथ्वीसुब्बा गुरुङले जित्ने ठोकुवा गरेका छन् । प्रदेश सभाको (ख) मा काँग्रेसको राम्रै देखिए पनि जीतको सुनिश्चितता गर्न गाह्रो देखिएको छ ।
प्रदेश (क) मा काँग्रेस सभापति र एमाले केन्द्रीय सदस्यबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । गठबन्धनको पकड भनिएको राइनास नगरपालिकामा झण्डै १६ हजारको हाराहारीमा मतदाता छन् । तर नौ हजारको हाराहारीमा मत खसेपछि टकराज गुरुङले अपेक्षा गरेअनुरुप अन्तर नहुने अड्कलका साथ काङ्ग्रेसी उम्मेदवारको अनुहारमा चमक उडेको भन्नेहरु पनि छन् ।
यता एमालेका जमिन्द्रमान घले पनि ढुक्क देखिन्नन् । कूल १ लाख ३३ हजार ५ सय ५९ मतदातामध्ये ६३ हजार ५ सय ७५ प्रदेश १ मा र ६९ हजार ९ सय ८४ प्रदेश २ मा छन् । स्थानीय चुनावपछि दुई हजार ६५ मतदाता थपिए पनि ८० हजार ९१७ मत मात्रै खसेको निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी गराए ।
निकै ढिलो गरी मतगणना शुरु गरिएको लमजुङमा ४९०४ मत गन्दा प्रतिनिधिसभातर्फ एमालेका पृथ्वीसुब्बा गुरुङ ४ सय २१ मतले मात्रै अगाडि देखिएका छन् । उनले २५०८ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार अर्का गुरुङ्ग अर्थात माओवादी महासचिव देवप्रसाद गुरुङले २ हजार ८७ मत प्राप्त गरेका हुन् ।
टिप्पणीहरू