चुनावपछिका सम्भावित चित्रहरू
– विश्वमणि सुवेदी
‘मियाँका दौड मस्जिद तक’ भनेजस्तो आजको पाँच दिनपछि (मंसिर ४) हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूको हस्याङ्फस्याङ् अन्ततः मुलुकलाई असन्तुलित संसदीय अभ्यास (हङ्ग पार्लियामेन्ट) मै लैजानका लागि हो । अर्को साता, आजकै दिन (बुधवार) सम्म नेपालको राजनीतिक परिदृश्यको आगामी शक्ति सन्तुलन करिब–करिब निर्धारित हुने नै छ । र, आजसम्मको चुनावी परिदृश्यलाई केलाउँदा यौटा स्पष्ट खाका आइसकेको छ ।
अहिलेको पेचिलो चुनावी प्रतिस्पर्धाले नेकपा (एमाले) लाई २०७४ को परिणामका तुलनामा निकै खुच्याउने धेरैको आकलन छ । तर, यही चुनावबाट गठन हुने प्रतिनिधिसभाभित्र अहिलेको पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धन कस्तो स्वरूपमा रूपान्तरित होला भन्ने कुराको सम्पूर्ण परिणामका निम्ति भने समानुपातिकतर्फको अन्तिम कुर्नै पर्ने हुन्छ । यसर्थ, यसबारे गरिने अनुमान वा भविष्यवाणीलाई अबको ३ सातासम्म थाती राख्नुपर्ने अवस्था छ । यद्यपि, दुईमध्ये कुनै एक सम्भावना भने सुनिश्चित छ । पहिलो हो, पाँच दलकै साझेदारी सरकारको गठन । र, दोस्रो हो–वामपन्थी मिल्दा सरकार बनाउन सहज हुने स्थितिमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको वाम सरकार । अन्यथा, फेरि पनि शेरबहादुर देउवा छैटौंचोटि प्रधानमन्त्री हुने ज्योतिषीय भविष्यवाणीलाई कसैले पनि रोक्न सक्ने स्थिति छैन ।
यसमध्ये दोस्रो विकल्प त्यति सहज हुँदैन । किनभने, वर्तमान राजनीतिक परिदृश्यको निर्माणका निम्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली मुख्य कारक छ । चरित्रतः उही केपी ओली रहँदासम्म प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र चित्रबहादुर केसीहरू एक थान प्रधानमन्त्री र केही थान मन्त्रीको सौदावाजीमा जाने कुरा पत्याउन सकिँदैन । त्यो परिस्थिति निर्माण एमालेको नीति र स्थिति कस्तो बन्ला भन्ने कुराले निर्धारण गर्छ । अबको पाँच–सात दिनभित्र आउने निर्वाचन परिणामले केपी ओली उक्लिएको अभिमानको पहाडमा कति पहिरो खसाल्छ भन्ने कुराले वामपन्थीको आगामी सहयात्रा तय हुने अनुमान लगाउँदा अन्यथा हुने छैन । त्यसो त ओली आफ्ना कारण सिर्जित क्षतिलाई सहजै स्वीकार्न सक्ने व्यक्ति होइन भन्ने भाष्य खण्डित गर्न एमालेलाई सहज पनि छैन । पहिलोपटकको संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरिरहँदा उहाँ बालुवाटारमा जन्म दिन मनाएर नाचिरहनुभएको धेरैलाई सम्झना हुनुपर्ने हो ।
दोस्रोपटकको विघटन बदरसँगै देउवालाई प्रधानमन्त्री बनाउने परमादेश आएपछि बालकोटको बार्दलीमा पुगेर सहकर्मी र अग्रजहरूलाई लालगद्दार घोषणा गर्नुभएको घटना पनि त्यति पुरानो भइसकेको छैन । फेरि पनि मंसिर ४ को परिणामले उहाँको दललाई पु¥याउने क्षतिको कारकका रूपमा उहाँले आफूलाई स्विकार्ने सम्भावना एकदमै पातलो मात्रै देखिन्छ । एउटा निर्विवाद सत्यचाहिँ के हो भने अब पनि निराशाजनक परिणाम आएको स्थितिमा एमालेका कतिपय नेताहरू ओलीलाई पूर्ववत् ‘जी–हजुरी’ गरेर बस्न गाह्रो हुनेछ । अबको क्षतिले एमालेभित्र नयाँखाले असन्तुष्टि जन्माउने वा आन्तरिक शक्ति सन्तुलन कायम गर्ने अनुमान बलियो छ । यसै पनि निर्वाचनमा उम्मेदवारीको विषयलाई लिएर देशभरि असन्तुष्टि छँदै छ । त्यो असन्तुष्टिले प्रकारान्तरमा नयाँखाले विद्रोहको सूत्रपात नगर्ला भन्न सकिन्न । यदि, त्यस्तो भयो भने, एमालेको ओलीविरोधी धारसँग अन्य वामपन्थीले सहकार्य गर्ने सम्भावना रहन्छ । अन्यथा फेरि पनि कांग्रेस नेतृत्वको सरकार र संख्यात्मक सन्तुलनका आधारमा पाँचदलीय सरकार नै गठन हुने पक्का छ ।
यो निर्वाचनको परिणामले सरकार कस्तो बन्छ भन्ने कुरा मात्रै निर्धारण गर्दै छैन । यसको परिणामसँग नेपालको कम्युनिष्ट आन्दोलन कहाँ पुग्छ र कसरी अगाडि बढ्छ भन्ने कुराको समेत छिनोफानो लाग्नेछ । तसर्थ, कांग्रेसका निम्ति त यो चुनाव नै हो, कम्युनिष्टहरूका निम्ति भने यो ‘चुनाव’ भन्दा बढी ‘युद्ध’ हो । महाभारतमा कौरव र पाण्डवको युद्ध हुँदा जसले जित्छ उसले हस्तिनापुर पाउँछ भनेजस्तो ओलीको हार वा यथास्थितिसँग कम्युनिष्ट आन्दोलन एकताबद्ध बन्ला या अझै आपसी दूरी बढ्ला भन्ने कुरा निर्धारण गर्दै छ । यदि, ओली चट्टानी अडानमै रहनुभयो, वामपन्थीसँग सहयात्राको बदला राप्रपा र होलीवाइनवाला परिवार दलप्रति नै आशक्ति देखाइरहनुभयो भने मुख्यतः माओवादी केन्द्र, एकीकृत समाजवादी, एमालेभित्रका भीम रावलसहित केही पूर्व १० भाइवाला नेताहरूको एउटा मोर्चाबन्दी हुन सक्छ । कुनै आश्चर्य (हाइपोथेटिकल) भएर केपी लौ यसरी त नचल्ने रहेछ भन्ने बिन्दुमा पुग्नुभयो भने फेरि पनि ०७५ को नेकपाजस्तै मजबुत कम्युनिष्ट शक्ति निर्माण हुन सक्छ ।
यी घटनाक्रमसँग विश्व राजनीतिको गहिरो सम्बन्ध रहन्छ । नेपालको सन्दर्भमा हिन्द–अमेरिकीसँगै युरोपेली समुदायको पनि मतैक्य छ । त्यसका निम्ति कम्युनिष्ट शक्तिलाई निर्णायक वा एकताबद्ध हुन नदिनु उनीहरूको मुख्य लक्ष्य हो । अर्कातिर दुई ध्रुवीय विश्वराजनीतिभित्र नेपालमा कांग्रेसको अग्रता चाहनु अमेरिकी र भारतीय शक्तिकेन्द्रका निम्ति स्वाभाविक हो । अहिले निर्वाचनको वातावरण त्यसैतर्फ अग्रसर छ । कम्तीमा पनि अबको पाँच वर्षको राजनीति त्यही विश्व प्रवृत्तिको चंगुलमा जाने निश्चित छ । यसक्रममा कम्युनिष्ट शक्तिले भोग्ने पीडा, यातना र दुर्घटनाका शृंखलाले फेरि पनि उनीहरूलाई एक ठाउँमा त ल्याउला । तर, त्यतिबेलासम्म कम्युनिष्ट ‘मानक’ ले कुन अस्तित्व ग्रहण गरेको हुन्छ ? भन्न सकिन्न ।
टिप्पणीहरू