गृहमन्त्री खाँणमाथि काँग्रेसीहरुले ‘घात’गरेको ठहर

गृहमन्त्री खाँणमाथि काँग्रेसीहरुले ‘घात’गरेको ठहर

गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार रहेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको एउटा खेमाले अन्तरघात गरेको निश्कर्ष निकालिएको छ । मतगणनाको प्रारम्भिक नतिजाले उक्त संकेत गरेको गृहमन्त्री निकटस्थहरुले बताएका छन् । 

स्थानीय वडा नम्बर १४ मा प्राप्त मतको आधारमा उनीहरुले यस्तो विचार ब्यक्त गरेका हुन् । उक्त निर्वाचन क्षेत्रमा यसअघि स्थानीय तहको चुनावताका नेपाली काँग्रेसले जितेका वडाबाट खाँणलाई सोचेभन्दा कम मत प्राप्त भएको छ ।

‘काँग्रेसले नै गद्दारी गरेको देखियो,’ गृहमन्त्री निकट एक जना स्थानीय नेताले भने, ‘अहिले मन्त्रीको र राप्रपा उम्मेदवार दीपक बोहराको मत उस्तै छ । काँग्रेसले जितेका वडा गनिसक्दा पनि जम्माजम्मी ७२ मतको अन्तर छ ।’ 

प्राप्त पछिल्लो विवरणअनुसार मन्त्री खाँणको ३३ सय ७४ र बोहराको ३३ सय २ मत देखिन्छ ।

उता रुपन्देहीकै निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रमोद यादवले ३६ सय १५ मत पाउँदा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले ४८ सय मत ल्याएका छन् ।

टिप्पणीहरू