धाँधलीको आरोप लगाउँदै एमाले विजयोन्मुख

धाँधलीको आरोप लगाउँदै एमाले विजयोन्मुख

–अञ्जनकुमार 

मध्यनेपाल नगरपालिका–७ रामबजार बुथमा गठबन्धन टोलीले लफडा मच्चाएर पाँच सयभन्दा बढी फर्जी मत खसालेको एमालेले आरोप लगाएको छ । यसो हुँदा पनि उसको अग्रता कायम छ । 

१७ हजार ९ सय २८ मतगणना भइसक्दा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ९ हजार १ सय ९ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ ७ हजार २०० मत मै सीमित छन् । 

दूधपोखरी, मध्यनेपाल, क्व्होलासोथर र दोर्दीको मतगणना हुँदै गर्दा एमालेका गुरुङ माओवादीका गुरुङभन्दा १ हजार ९०९ मतले अघि देखिएका छन् । विशेष चासोसहित हेरिएको लमजुङको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले ७ सय ७१ मत पाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ सय ३१ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका नरेन्द्रबहादुर गुरुङले २६ मत ल्याएका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेस विपीका उम्मेदवार लक्ष्मीकान्त पौडेलले छ मत ल्याएका छन् ।

नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति र राप्रपा नेपालका टकबहादुर गुरुङले चार चार मत प्राप्त गरेका छन् । बिहान ३ बजेदेखि स्थगित मतगणना ८ बजेदेखि थालिएको छ ।

टिप्पणीहरू