प्रकाशमानको विजयमा प्रदेशमन्त्री दङ्ग

प्रकाशमानको विजयमा प्रदेशमन्त्री दङ्ग

–   राजकुमार राय

बागमती प्रदेशका संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठले आफूलगायत नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गराउन पार्टीभित्रैबाट खेल भएको बताएका छन् । उनले उक्त जानकारी हिजो काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा दिएका हुन् । 

तर आज संघीय संसद सदस्यमा निर्वाचित भएपछि सोही स्थानमा पुगेका प्रकाशमान सिंहलाई उनै दीपेन्द्रले अभिवादन गर्दै हात समाएर भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय तथा पार्टीभित्रैबाट अनेकौं खेल भयो ।’ उनीहरुले अनेक तिकडम गरे पनि अन्तिममा आफूहरुको जीत भएको उनले भन्न नपाउँदै नजिकैका अर्का एक जनाले थपिहाले, ‘पार्टी भित्रैबाट हामीलाई हराउन कम प्रयास भएन दाइ ! तपाईंले पार्टी महाधिवेशनमा सभापतिमा लडेदेखि नै अनेकौं खेल भए ।’

दुई वटै भनाइको जवाफ फर्काउँदै प्रकाशमानले भने, ‘त्यस बेलादेखि (सभापतिमा लडेदेखि नै) मलाई हानेको हान्यै छ ।’ प्रकाशमानले त्यत्ति भनिसक्दा नसक्दै केही काँग्रेसीले रुखमा भोट नहाली राप्रपाका रविन्द्र मिश्र र स्वतन्त्र उम्मेदवारलाई भोट हालेको आशंकामा जोड दिएका थिए । श्रीमती सिर्जना सिंह काठमाडौं महानगरको मेयरमा नराम्रोसँग पराजित हुन पुगेको घटनालाई पहिले र अहिले अन्तर्घात भएको घटनासँग जोडिएको हो ।

अर्का एक जना आगन्तुकले प्रकाशमानलाई अभिवादन गर्दै भने, ‘आखिर दाइले निर्वाचन जित्नुभयो ।’ आफूले जीतलाई एक चमत्कारको रुपमा लिएको महसुस गर्दै प्रकाशमानले भने, ‘यस्तो चुनाव कहिले होला र ! मतगणनामा हरेक क्षण प्रतिस्पर्धीले पनि उत्तिकै मत बढाउँदै लगे । त्यसबाट अर्कै अवस्थाको कल्पना गरियो ।’ उनी निराश भए पनि चमत्कारिक रुपमा विजयी भएको उनकै मुहारले देखाइरहेको थियो ।
 उता,निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभातर्फ (क) का उम्मेदवार संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठ हिजोको तुलनामा आज उत्साहित देखिन्थे । प्रकाशमानले जितेपछि आफूहरुको पनि सम्भावना बढेको उनले बताए । हिजो एमालेका प्रदेश सभा उम्मेदवार रामप्रसाद बजगाईंले जनआस्था सम्वाददातासँग भनेका थिए, ‘प्रकाशमानले समेत सुकुम्बासी टोलमा विभिन्न प्रलोभन बाँडे, अन्तिममा भोजै खुवाए ।’

टिप्पणीहरू