सुदूरपश्चिममा माओवादी पछाडि, एकीकृत समाजवादीलाई सन्तोष

सुदूरपश्चिममा माओवादी पछाडि, एकीकृत समाजवादीलाई सन्तोष

सुदूरपश्चिम प्रदेशमा भइरहेको प्रतिनिधि सभाको मतगणनामा माओवादी केन्द्रको कुनै पनि स्थानमा अग्रता देखिएको छैन ।

प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका चार स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको थियो । तर कैलाली–३ मा पराजित भइसकेको माओवादी केन्द्र अन्य तीन स्थानमा पनि पछाडि देखिएको छ । 

कैलाली ३ बाट माओवादी केन्द्रका कुन्दन चौधरीले उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन् ।

भगत बडुवाल उम्मेदवार रहेको कैलाली क्षेत्र नम्बर–२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता देखिन्छ ।

कञ्चनपुर-१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालकी बुहारी विना मगर उम्मेदवार छिन् । तर त्यहाँ पनि नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता छ ।

बैतडीमा माओवादी केन्द्रका नरेन्द्र कुँवरले उम्मेदवारी दिएका थिए । त्यहाँ पनि एमाले उम्मेदवार दामोदर भण्डारीले अग्रता लिएको बताइन्छ । 

प्रतिनिधि सभातर्फ सुदूरपश्चिममा नेपाली काँग्रेस र नेकपा एमाले ५–५ स्थानमा अगाडि छन् । 

बाजुराबाहेक सबै निर्वाचन क्षेत्रमा मतगणना थालिएको छ । काँग्रेसले अछाम–२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ र ३ मा अग्रता लिएको छ । एमालेले बझाङ,बैतडी,कञ्चनपुर–१, कैलाली–४ र ५ मा अग्रता लिएको छ ।

अछाम २ मा नेपाली काँग्रेसका पुष्प शाही,डडेल्धुरामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, कञ्चनपुर–२ मा एनपी साउद र ३ मा रमेश लेखकको अग्रता छ । 

नागरिक उन्मुक्ति पार्टीको दवदवा

एक वर्षअघि दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर–३ मा जीत हासिल गरिसकेको छ । कैलाली १ र २ मा अग्रता कायम गरिरहेको छ । 

नेकपा एकीकृत समाजवादीलाई राहत

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई राहत मिलेको छ । प्रदेशका तीन स्थानमा मात्रै उम्मेदवारी दिएको उक्त पार्टीले आज साँझसम्म दुई स्थानमा अग्रता कायम गरिरहेको छ ।

डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको नेकपा एसले डोटी र अछाम–१ मा अग्रता कायम गरेको छ । डोटीमा प्रेम आले र अछाममा बहालवाला मन्त्री शेरबहादुर कुँवरले अग्रता कायम गरेका छन् । बझाङमा भानुभक्त जोशी नेकपा एमालेका ऐन महरभन्दा पछाडि देखिन्छन् ।
 

टिप्पणीहरू