सिन्धुलीपछि जित्यो माओवादीले रुकुम पूर्वको सीट

सिन्धुलीपछि जित्यो माओवादीले रुकुम पूर्वको सीट

रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका पूर्ण घर्तीमगर विजयी हुनुभएको छ । उहाँ १२ हजार २६२ मतसहित विजयी हुनुभएको हो । 

निकटतम प्रतिश्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले पाँच हजार २११ मत ल्याउनु भएको छ । स्वतन्त्र तर्फबाट उम्मेदवार हुनुभएका चन्द्रराज झाक्रीले ८९६, राप्रपाका खिमबहादुर खत्रीले ५८६, मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४६४ र 

नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत प्राप्त गर्नुभएको छ ।  रुकुम पूर्वमा कूल ३४ हजार १ सय १२ मतदाता संख्या रहेकोमा  २१ हजार ९० अर्थात ६१.८२ प्रतिशत मत खसेको थियो ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार १० हजार १ सय ८७ पुरुष र १० हजार ९ सय ३ जना महिलाले मतदान गरेका थिए ।

 यस जिल्लामा ४४ वटा मतदान स्थल र ५६ वटा मतदान केन्द्र छन् । एउटा अस्थायी मतदान केन्द्र थप गरी ५७ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो । अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित घर्ती २०७४ सालको प्रदेशसभा निर्वाचनमा विजयी भई पाँच वर्षको कार्यकालमा लुम्बिनी प्रदेशको सभामुखको भूमिकामा रहनुभएको थियो ।

टिप्पणीहरू