चितवने जनताले देखाइदिएको दिन, समानुपातिकमा पनि घन्टीकै टिनटिन

चितवने जनताले देखाइदिएको दिन, समानुपातिकमा पनि घन्टीकै टिनटिन

देशको प्रमुख तीन ठूला दलको रुपमा स्थापित नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको भागबण्डा र बेथितिको राजनीतिले नेपाली जनताले आजित थिए । त्यही भएर यसपटकको संसदीय चुनावमा जनताले उनीहरुलाई नराम्ररी देखाइदिएका छन् । 

चितवनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस, माओवादी कसैले एक सिट पनि सुँघ्न पाएनन् । तीनवटै निर्वाचन क्षेत्रमा रविको घन्टी यसरी बजिदियो कि ती पुराना दलहरु सायद अहिले सुन्न सक्ने अवस्थामा छैनन् । क्षेत्र नं. १ र २ को प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी फराकिलो मतान्तरले विजयी भएको अवस्थामा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अनपेक्षित रुपमा धेरै नै मत ल्याएर जीत हासिल गर्दा एमाले, कांग्रेस र माओवादीको यसपटक होसहवास नै उडेको हुनुपर्छ ।

प्रतिनिधिसभा अन्तर्गत भएको समानुपातिक निर्वाचनमा पनि चितवनमा घन्टीकै टिनटिन यसरी गुन्जियो कि ९९ हजार ३७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी नै पहिलो दल बन्न पुगेको छ । एमाले दोस्रो (५५३१२), नेपाली कांग्रेस (३९३५१) तेस्रो र माओवादी केन्द्र (२९४६२) चौथो स्थानमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (२५०५५)ले पाँचौं स्थान ओगटेको छ ।  ​​​​​​​​​​​

प्रदेशसभामा रविले कोही पनि उठाएनन् । फलतः प्रदेशसभा अन्तर्गत चितवनको ६ वटा क्षेत्रमा भएको प्रत्यक्ष निर्वाचनमा एमाले दुई ठाउँमा विजयी हुनसक्यो भने नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक ठाउँमा चित्त बुझाउनुपरेको छ । प्रदेशसभाको पनि एउटा क्षेत्रमा त राप्रपाकै शानदार जीत भयो ।

चितवनमा प्रदेशसभाको समानुपातिक निर्वाचनमा एमाले (७४२७३) पहिलो, नेपाली कांग्रेस (५७२२३) दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी (५२३२०) तेस्रो, माओवादी केन्द्र (३६९२८) चौथो र एकीकृत समाजवादी (७२२०) पाँचौं भएको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।
 

टिप्पणीहरू