पैसा नभएर म त्यता जान सकिन

पैसा नभएर म त्यता जान सकिन

– उमा रेग्मी, मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

गोरखामा जन्मिएर ६ वर्षमा चितवन झरेकी उमा रेग्मीले त्रिविबाट मनोविज्ञानमा स्नातकोत्तर पार गरिन् ।  ०४८ सालमै पर्वतबाट चुनाव जितिन् । त्यसयता चारपटक  ०६२÷६३, पहिलो संविधान र ०७४ मा समानुपातिकतर्फबाट संसदमा रहिन् । पार्टी सभापति शेरबहादुर देउवाले यसपटक चितवन– २ बाट लड्न भन्नुभएको थियो । तर, खर्चिलो निर्वाचन प्रणालीका कारण मानिनन् । उनी केन्द्रीय सदस्य हुन् । महिला संघको निर्वाचित अध्यक्ष भई दुई कार्यकाल काम गरिन् । 

– हरि गजुरेल 

मत परिणामलाई कसरी लिनुभएको छ ?

– गठबन्धनको स्पष्ट बहुमत आउला भन्ने सोचेका थियौं, आएन । गठबन्धन एकजुट भएर सानातिना पार्टीलाई मिलाई सरकार बन्ने स्थिति छ । पार्टीहरुलाई जनताले अलि सचेत गराउन खोजेकोबाट सबक सिक्नुपर्छ । यो निर्वाचन प्रणाली हुँदासम्म कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ ।

यो निर्वाचनमा पनि महिलाहरुलाई सामानुपातिकमै लगेर थन्कायो । उनीहरु प्रत्यक्ष चुनाव लड्नै नसक्ने हुन् त ?

– गोरखामा जन्मिएँ, चितवनमा हुर्किएँ । ०४८ सालमा पार्टीले ११ जना महिलालाई टिकट दिएमध्ये सात जनाले जित्यौँ । तर, अहिले बढी पैसाको प्रयोग हुन्छ । सभापतिज्यूले चितवन– २ बाट लड भन्नुभएको थियो, मैले टिकट नपाएको होइन तर म हच्किएँ । कारण, पैसा नभएर नै हो । जुन क्षेत्रबाट टिकट पाएँ, त्यहाँ एमालेको वर्चश्व थियो । पहाडी भूभाग भएको कारण सबैतिर जान पनि गाह्रो । ३ नं. क्षेत्रबाट टिकट पाएको भए जान्थेँ र जित्थेँ पनि । 

अहिले राज्यमन्त्री उमेश श्रेष्ठले गगन थापाको असहयोगका कारण चुनाव हारें भन्नुभएको छ । यो कुरा सत्य हो त ?

– घण्टीको वेभ आएको थियो । पार्टीमा द्वन्द्व, अन्तर्घातका कारण जिल्लाका सबै घटकले सहयोग नगरेको अवस्था थियो । उहाँले पहिलोपटक चुनाव लड्नुभएकोले चुनावी ज्ञान कम थियो । जसले विरोध गरेको छ, उसैलाई आफ्नो स्ट्रक्चर मान्नुभयो । अभियान टोलसम्म पुग्न सकेको थिएन । थोरै कमीकमजोरी भयो ।

यहाँ मन्त्री भएपछि महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा के कस्ता काम भए ?

– मानव विकासको कुरा यो मन्त्रालयसँग जोडिन्छ । झण्डै ८० प्रतिशत जनसंख्याको अभिभावकीय भूमिका खेल्नुपर्ने मन्त्रालय, तर ज्यादै निम्छरो । मैले रोजेरै यहाँ आएको हुँ । पार्टीले छायाँ मन्त्री बनाउँदा यही मन्त्रालय दिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रमको निर्देशक समितिमा रहेर काम गरिसकेकोले सडकमा हुँदा जहिल्यै यही विषय उठाएर हिँडें । जब नीति निर्माण गर्ने ठाउँमा जाने बेला रिसोर्सफुल मन्त्रालय रोज्ने कुरा जायज हुँदैनथ्यो । म यहाँ आउँदा मन्त्रालयको बजेट जम्मा ८० करोड थियो । जबकि अरुको ७०÷८० अर्बसम्म छ । उही मन्त्री, उही मन्त्रालय तर अर्बको मुख पनि देखेको थिएन । बजेट बढाउनलाई योजना आयोगले नै सिलिङ दिने हो । लबिङ गर्दागर्दै उपाध्यक्ष विश्वनाथ पौडेलजीले १ अर्ब ७८ करोड तोकिदिनुभयो । मैले पाँच अर्ब मागेकी थिएँ । बजेटै नभएपछि कसरी इम्पावर गर्ने ? यहाँ भएको थोरै बजेट पालिकामा जान्थ्यो । उनीहरुको प्राथमिकता भौतिक विकासमात्र हुने, मानव विकास प्राथमिकतामा नपर्दा ८० करोड बजेटमध्ये १६ करोड फ्रिज भयो । देशचाहिँ डोनरबाट चल्ने, अनि बालबालिकोमा डोनर ल्याउन हुँदैन भन्ने व्युरोक्रेसीको स्वार्थ के हो ? त्यसमा ठूलो द्वन्द्व भयो ।  व्युरोक्रेसीसँग काम गर्न धेरै गाह्रो । यो देश बिगार्नमा व्युरोक्रेसीको धेरै ठूलो हात छ । अर्थ, कानुन हुँदै आठ महिना लगाएर नियमावली पास गरी ल्याइएको छ । एउटा पुरानो नियमावलीले केही निर्देश गर्न सकेको थिएन । संघीयतापछि नयाँ नियमावली आउनै पथ्र्यो । ज्येष्ठ नागरिक ऐन खाका तयार भएर रद्दीको टोकरीमा फालिएको रहेछ । त्यसलाई तानेर, परिमार्जन गरें । पौंठेजोरी खेलेर, अंश मागेर छोराछोरीले वृद्ध, बाबुआमालाई पार्टीमा पु¥याउँछ । अब सन्तानले पालन पोषण गरेन भने अंश पनि नपाउने र बृद्धबृद्धालाई स्थानीय सरकारले हेर्नुपर्ने ऐन ल्याएका छौं । ज्येष्ठ नागरिकसम्बन्धी कानुन र  बालबालिका नीति मन्त्रिपरिषद्मा पुगेको छ । अबको क्याबिनेटबाट त्यो पास हुन्छ । अपांगता नीति पनि बनाइएको छ ।

ओछ्यान परेका ज्येष्ठ नागरिकको हेरचाह गर्न केयर गिभर तालिम दिएर जनशक्ति तयार गर्न लागेका छौं, सातै प्रदेशमा । महिला, सुरक्षा, सेवा कार्यक्रम ल्याइएको छ । यत्रो हत्या, हिंसा, बलात्कारको घटना भइरहेको छ । रातको समय महिला एक्लै हिँड्न गाह्रो छ । त्यसैले महिला सुरक्षा सेवा कार्यक्रम ल्याइएको छ । रात एक्लै हिँड्नु परे स्वीच थिच्नेबित्तिकै प्रहरीको गाडी घरमै लिन पुग्ने र उसलाई गन्तव्यसम्म पु¥याउने कामको शुरुवात चितवनको भरतपुरबाट हुँदैछ । 

चितवनबाटै शुरु गर्ने भनेर किन रोज्नुभएको ? 

– गृहजिल्लामै गर्न हुँदैन भनिएको होइन । यो त सातै प्रदेशमा हुने कार्यक्रम हो । 

एनजिओसँग सीधै ठोक्किने मन्त्रालय पनि हो यो । एनजिओमा अदृश्य पैसा आउँछ भनिन्छ । त्यो पैसालाई नियमन गर्नका लागि केही काम भएको छ । ? 

– म आउँदा खातका खात फाइलहरु थिए । अष्ट्रेलिया, जर्मनी, बेलायत, ब्राजिललगायत देशका राजदूतहरु लाइन लागेर आउनुभयो । हाम्रो फाइल सदर भएन भनी गुनासो गर्नुभयो । मेरालागि यो लाजलाग्दो परिस्थिति थियो । जे भए पनि हाम्रै देशमा आएको पैसा हो । त्यसलाई यसरी अवरुद्ध गरिरहनु ठीक होइन भन्ने लाग्यो र आँखा चिम्लेर दुई महिनाभित्रै सबै निकासा दिएँ । झण्डै ८० अर्ब जति स्वीकृत भयो । त्यसलाई पारदर्शी बनाउन, समाज कल्याण परिषद्मा डिजिटलाइजेसनको काम प्रारम्भ भइसकेको छ । 

भृकुटीमण्डपको जग्गावाला लफडाचाहिँ के हो ? 

– त्यो समाज कल्याण परिषद् मातहतकै हो । त्यहाँ जे जति पसल र जग्गाहरु छन्, त्यसलाई व्यवस्थित गर्ने र नियमन गर्ने काम त्यही परिषद्को हो । १४ हजार भाडा तिरेर २९ रोपनी जग्गा भोग गरिरहेकाहरु थिए त्यहाँ । सम्झौताको अवधि सकिएको थियो । हामीले इ बिडिङ गरेर त्यही जग्गा २२ लाख भाडा आउने गरी अहिले सम्झौता भएको छ । साना व्यापारीहरुलाई सम्झौताबिनै जग्गा दिइएको थियो । अहिले उनीहरुसँग पनि सम्झौता भएको छ । 

कोप २७ सम्मेलनमा भाग लिन इजिप्ट जाँदा र त्यहाँबाट फर्किएपछिको समीक्षा गोष्ठीमा समेत तपाईंमाथि वन सचिव पे्रमनारायण कँडेलबाट लैंगिक हिंसा भएको कुरा उठेको छ । वास्तविकता के हो ?

– प्रधानमन्त्रीले नेतृत्व गर्ने कार्यक्रम थियो तर निर्वाचनका कारण जान भ्याउनु भएन । वनमन्त्री थिएनन् । मलाई मुलुकको प्रतिनिधित्व गरेर जान क्याबिनेटले निर्णय ग¥यो । प्रधानमन्त्रीज्यूले मुलुकको प्रतिनिधित्वको कुरा छ, ‘जान्नँ नभन्नु, जसरी पनि जानु’ भन्नुभएको थियो । त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी वन मन्त्रालयको तर सचिवले वास्तै गरेनन् । न त टिकट काटिदिए, न दुई पैसा दिए । आफैं टिकट काटेर, आफैंले उता होटल बुक गरेर सो कार्यक्रममा सहभागी भएँ । सचिवको इन्टेनसनचाहिँ, मलाई अनेकन तरिकाले दुःख दिने, म नगइदिए  आफ्नै नेतृत्वमा  सो कार्यक्रममा जाने रहेछ । साउथ एसियन मिटिङमा नेपालको धारणा राखें र फर्किएँ । राससबाट भीष्म ओझा पनि गएका थिए । मलाई लागेको थियो, सरकारी रिपोर्टर नै गएपछि सबै कुरा कभरेज भइहाल्ला । तर, यहाँ त सचिवको मात्र कभरेज गरेर रिपोर्ट सार्वजनिक भएको रहेछ । बुद्धि लामिछाने भन्ने सहसचिवले मलाई बाइपास गरेर रिपोर्ट सार्वजनिक गरिएको रहेछ । नेपालको झण्डा उल्टो राखिएको छ । त्यो मैले हेर्ने कि मन्त्रालयका सचिव, सहसचिवले ? भएभरका आसेपासे लाइन लागेर गएका छन् । अहं भएको सचिव रहेछ त्यो । पितृसत्ता पनि त्यसमा हावी भयो । मेरै ठाउँमा एउटा पुरुष भएको भए त्यसरी हेप्न सक्दैनथ्यो । 

तपाईं सर्म अल शेखको कार्यक्रम सकेपछि कायरोको दूतावासमा पनि बस्नुभयो । त्यहाँका राजदूतको शारीरिक अवस्थाप्रति तल्लो स्तरको टिप्पणी गर्दै धन्न, यति जिम्मेवारी भए पनि पाउनुभएको रहेछ भनेर कुरा निकाल्नुभयो भन्छन् परराष्ट्रका कर्मचारीहरु । किन त्यस्तो भन्नुभएको ? 

– कसरी अपांग हुनुभयो भनेर सोधेकी हुँ । उनको इतिहास नै थाहा छ मलाई । अत्यन्त प्रतिभावान । म आफैं पनि पढ्दा गोल्डमेडलिष्ट । योग्यता, क्षमताको सदैव कदर गर्दछु । उहाँ त त्योभन्दा राम्रो ठाउँमा जिम्मेवारी पाउनुपर्ने व्यक्ति । उहाँलाई एकदमै आदर, सम्मान गर्दछु । काम नभएको ठाउँमा पठाइएको छ । उहाँलाई च्यालेञ्जिङ भएको ठाउँमा पठाउनुपर्ने, त्यो पनि सहजैसँग काम गर्नुहुन्थ्यो उहाँले । उहाँसँग त्यो क्षमता छ । 

यो सरकार कति अगाडि जाला ? 

– यो महिनाभित्र समानुपातिकको टुंगो लागिसक्ला । दलका नेताहरु चुनिएला ? संसद बोलाएर हो प्रधानमन्त्री छान्ने । यी प्रक्रिया टुंगिदा पुसको मध्यतिरसम्ममा नयाँ सरकार बनिसक्ला ।

सरकार कस्तो बन्ला ? 

– वर्तमान गठबन्धनकै सरकार बन्दछ । प्रचण्ड कुनै पनि हालतमा गठबन्धन छाडेर केपी ओलीको पछि लाग्नुहुन्छ जस्तो लाग्दैन । 

निर्वाचन लड्दादेखि नै गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् । कत्तिको सम्भावना छ ? 

– उहाँ पार्टीको महामन्त्री । दाबी गर्नै नपाउने भन्ने त होइन । हिजो गिरिजाप्रसाद कोइरालासँग पनि शेरबहादुर देउवाले प्रतिस्पर्धा नै गर्नुभएको हो । जीत वा हार आफ्नो ठाउँमा होला । कम्युनिष्ट र काँग्रेसमा यही फरक छ । लौ त एमालेमा केपी ओलीको विरुद्ध म लड्छु भनेर कसैले दाबी गरोस् । उसलाई घनश्याम भुषाल र भीम रावललाई झैं स्याक गरिदिन्छन् । प्रचण्डको विरुद्धमा म लड्छु भन्ने हिम्मत पनि कसैको छैन । लोकतन्त्रको सुन्दरता नै यही हो । कांगे्रस ब्यालेटमा विश्वास गर्ने पार्टी हो । गगन थापा मात्र होइन, अरुले पनि उठ्छु भन्न पाउँछ । वर्ष दिनअघिको महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला लडेकै हुन् । त्यसलाई सहर्ष स्वीकार गर्छौं हामी । शेखर आफूसँग लडेको भनेर शेरबहादुर देउवालाई कुनै तुष छैन । तर, कम्युनिष्टहरु लोकतन्त्रमा आए पनि रुपान्तरण हुन सकेका छैनन् । 

अब शेरबहादुर देउवाको पोजिसन के होला ? 

– उहाँ अन्तिमपटकका लागि पार्टी सभापति हो । अब त विधानले पनि दिँदैन । मोटामाटी हेर्दा संसदीय दलको नेता हुने उहाँ नै हो ।
 

टिप्पणीहरू