आफू जागा बसेर भएपनि काठमाडौँबासीलाई आनन्दले सुताउँछौं

आफू जागा बसेर भएपनि काठमाडौँबासीलाई आनन्दले सुताउँछौं

अघिल्लो सप्ताहन्त तीन दिन लगातार परेको वर्षापछि आएको बाढीपहिरो र डुबानले मुलुकभर साढे दुई सयको हाराहारीमा सर्वसाधारणको ज्यान गएको छ । दुई दर्जन बढी बेपत्ता छन् । 

राजधानी उपत्यकामै तत्काल उद्धार हुन नसक्दा उद्धारको प्रतीक्षामा बसेका नागरिकलाई बाढीले बगायो । सयौं घाइतेको उपचार जारी छ । राहत र उद्धारमा सरकार चुकेको आमजनमासको बुझाइ छ । जनअस्थाकर्मी राजकुमार रायले सोही सेरोफेरोमा रहेर जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जयनारायण आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :

गत असोज १२ गते आएको बाढीपहिरोले सहरको जनजीवन समेत अस्तव्यस्त बनायो । ठूलो संख्यामा जनधनको क्षति भयो । राहत र उद्धारका लागि तपाईंहरुले के कस्तो प्रयास गरिरहनुभएको छ ?

विपदको बेला सबभन्दा पहिलो कुरा भनेको उद्धार हो । हामीले उद्धारको लागि  पूर्व तयारी गरेका थियौं । त्यसबेला सुरक्षाकर्मीहरु रातभरी खटाएका थियौं । रातिको दुई तीन बजेसम्म प्रहरीहरु जहाँ जोखिम छ त्यहाँ खटेका थिए । हामी अहिले पनि दिन रात नभनी राहत र उद्धारको प्रयास गरिरहेका छौँ ।

हिजोआज काठमाडौँ उपत्यकामा पनि भनेको समयमा उद्धार भएन भन्ने गुनासो यत्रतत्र सुनिछ । तपाईंहरुको प्रयासले कत्तिको क्षति न्यूनीकरण गर्यो ?

काठमाडौँको बागमती विष्णुमती वरपर कोही मान्छे बस्न सक्ने अवस्था थिएन । जसकारण हामी रातभर सुत्न पनि पाएनौं । प्रहरी परिसरमा बस्यौँ र प्रहरी परिचान गर्र्यौँ । जिल्लाका सुरक्षासँग जोडिएका सबै प्रमुखहरू बस्यौँ । नदी किनारबाट सबै नागरिकहरूलाई उद्धार गरायौँ । त्यो दिन १४ भन्दा बढी नागरिकलाई काठमाडौँबाट उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याइएको थियो । काठमाडौँको हकमा मात्रै लगभग १३ सय घरहरू डुबानमा परेका थिए । सकेसम्म हामीले क्षति न्यूनीकरण गर्यौैं ।

काठमाडौँ जिल्लामा बाढीपहिरोबाट के कति क्षति भयो ?

हामी निरन्तर उद्धारमा लाग्दा पनि काठमाडौँमा १७ जनाले ज्यान गुमाउनुपर्यो । दक्षिणकाली नगरपालिकामा सात जना, चन्द्रागिरि नगरपालिकामा दुई जना, नागार्जुनमा पाँच जना परेका छन् भने अन्नपूर्ण टोलबाट दुई जना छन् । तर उनीहरूको अझै पहिचान हुन सकेको छैन । 

उद्धार गरिसकेपछि तत्काल कसरी राहत व्यवस्थापन गर्नुभयो ?

मूलतः विष्णुमती नदी किनार आसपास बसोबास गर्नेहरु बाढीको जोखिममा थिए । उनीहरुलाई उद्धारपछि खान बस्नका लागि नगरपालिका, नेपाल रेडक्रस, गैरसरकारी संस्था र मानववादी सेवा समाजलाई भनेर खानाको ब्यावस्था गराएका थियौं ।

बाढीपहिरोमा घाइते भएकाहरूले तत्काल स्वास्थ्य उपचार पाए ?

हामीले यसको लागि विपद व्यवस्थापन समितिको बैठक राखेर वडा÷नगर र  रेडक्रसले गर्नुपर्ने कामलाई विभाजन गरेर अगाडि बढ्यौं । स्वास्थ्य उपचारको लागि त्यस्तो समस्या भएन । प्रहरीले समेत शिविर राखेको थियो ।

बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । यो रकम पाइसके कि बाँकी छ ?

अहिलेसम्म १७ जनामध्ये  १३ जना मृतकका परिवारले पाइसकेका छन् । बाँकी चारजनाको परिवार अर्घाखाँची र सिन्धुपाल्चोकमा भएको कारण पाउन सकेका छैनन् । उनीहरू आइसकेपछि पाउनेछन् ।

उपत्यकासँग जोडिएका सडकहरु क्षतविक्षत छन् । यात्रुलाई आवतजावत गर्न झनै कठिन भएको छ । सडक सुचारु गर्न के कस्ता पहलकदमी भए ?

बाढीपहिरोले गर्दा हाम्रा सबै नाकाहरू बन्द थिए । दक्षिणकालीबाट चोभारदेखि हाम्रो सिमाना सिस्नेरीसम्मको बाटो पूरै बन्द थियो । ठूलाठूला रुख र पहिरो लडेको थियो । हामीले भोलिपल्टै सबै शक्ति परिचालन गरेर काठमाडौँको बाटो खुलायौं । सिस्नेरीमा ठूलो पहिरो गएको छ, अहिले पनि हाइवे पूर्णरुपमा खुलेको छैन । पहिरो पन्छाउने कार्य जारी छ ।

धादिङको झ्याप्ले खोलाको दुर्घटनालाई हेर्दा अप्ठेरोमा ठाउँमा पहिले नै गाडी आवतजावतमा रोक लगाएको भए यस्तो नहुने थियो कि ?

हामीले अघिल्लो दिन सबै गाडीहरू थानकोट नाकामै रोक्यौँ । पहिरो आउने सम्भावना देखेकाले कुनै पनि गाडीलाई काठमाडौँ बाहिर जान दिएनौँ । यता  रोकेको जति सबै सुरक्षित भए । तर नारायणघाट हुँदै आएका गाडीहरू चाहिँ झ्याप्ले खोलाको पहिरोमा परेर ३५ जनाको दुःखद निधन भयो। तीन÷चार वटा गाडी नै दबिएको थियो ।

उद्धारको लागि तपाईंहरु पनि पुग्नुभयो ?

घटना थाहा पाएलगत्तै हामी पुगेका थियौं । सेनाको हेलिकप्टरबाट उद्धार गरी घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पुर्यायौँ । सरकारले निःशुल्क सेवा प्रदान गरेको छ । घाइतेलाई अस्पतालमा गएर भेट्यौँ । हाम्रो जिम्मेवारी पूरा गरेका छौँ ।

आफ्नो जिम्मेवारी सबै पूरा गरेको भन्नुभयो । तर जनमासमा त उद्धारमा सरकार चुकेको भन्ने छ त ?

देशैभरिको विपदलाई आकलन गर्दा त्यस्तो देखिएला । तर काठमाडौँको  हकमा उद्धार र राहत कार्यमा कुनै कमी भएको छैन । घरघरमा पुगेर खोजीखोजी राहत वितरण गरेका छौँ । राज्यले आफ्नो काम गर्छ नागरिकलाई जोगाउँछ । तर प्रचारप्रसार गर्दैन । 

प्रचारप्रसार नगरी उद्धार र राहत कार्यमा जुटेको भए यस्ता गुनासो आउँथ्यो र ?

हाम्रो दायित्व प्रचार गर्नुभन्दा पनि कर्तव्य पूरा गर्नु हो । भिडियो खिचेर पोस्ट गरेर हामी सेवा गर्दैनौँ । त्यसैले भएन कि भनेर भनेका होलान् । तर काठमाडौँमा त्यस्तो छैन । देशका अन्य ठाउँमा होला । आम नागरिकको लागि राज्यले हेलिकप्टरबाट एकै दिन ४०–४५ ट्रिप मान्छे बोकेर काठमाडौँ ल्याएको छ । त्यो त सराहनीय काम हो । काठमाडौँ भ्यालीमा राहत र उद्धारको कमी हुन दिइएको छैन ।

हिन्दुहरूको बडा दशैं आइसकेको छ । यस्तो अवस्थामा नागरिकको सहज यात्राको लागि के कस्तो पहल भइरहेको छ ?

काठमाडौँबाट बाहिरिने टेन्डेन्सी हेर्दा १३ लाखसम्म बाहिरिन्छ्न् । अहिले पनि १३ देखि १५ लाख मान्छे बाहिरिन्छन् भन्ने आकलन गरेका छौं । त्यसैले हामी छिटोभन्दा छिटो सडक सुचारु गर्न लागिपरेका छौँ । दसैंमा  मान्छेलाई सुरक्षित साथ बाहिर पठाउनुपर्छ भनेर नै विभिन्न नाकाहरुमा चौबीसै घण्टा प्रहरी तैनाथ छन् । दसैंको विषयमा हामी संवेदनशील छौँ।

भनेपछि जनता ढुक्कसँग दसैं मान्न गाउँ जान पाउँछन् ?

अहिले काठमाडौँ  आउन जान  कुनै समस्या छैन । भीमढुङ्गा, टोखा– खहरे र नागढुङ्गा –नौबिसीको बाटो खुल्ला छ । पूर्वतिर भकुण्डेबेसीसम्म जान सक्छौं । अरनिको हाइवे पनि खुला छ । दक्षिणकालीबाट काठमाडौँसम्म पनि क्लियर छ । तथापि सुक्खा पहिरो झर्नसक्ने भएकाले हामीले फिल्डमा खटिने कमान्डरहरूलाई परिस्थिति हेरेर आकलन गरी अरु जिल्लामा पनि समन्वय गरेर मात्रै गाडी पठाउनुपर्छ भनेका छौं । सुरक्षित बनाउने हाम्रा प्रयत्न जारी छन् । आशा छ यो तरिकाले दशैं पनि व्यवस्थित हुनेछ । 

दसैंको बेला सहरका मान्छेहरू गाउँ फर्कन्छन् । यो समयमा कोठा, घर चोरीसँग लुटपाट हुने भएकाले यसतर्फ कस्तो प्रयास गरिरहनुभएको छ ?

दसैंमा मान्छे घर गइसकेपछि घर खाली हुन्छ । चोरी चकारी हुन सक्छ भनेर नै हामीले प्रहरीको भौतिक उपस्थित मात्र नभई ड्रोन क्यामेरा, सिसी क्यामेरा राखेर  हरेक ठाउँमा रातभरी गस्ती गरी दसैं ,तिहार र छठको लागि विशेष रुपमा सुरक्षा योजना लागु गरेका छौँ । नागरिकको सम्पत्ति संरक्षणका लागि पनि हामी हरदम तयार छौं ।

भनेपछि यसपटक दसैंमा तपाईंहरु घर नगइ जनताको सुरक्षामा जुट्नुहुन्छ ?

हो , हामी घर जाँदैनौँ । हामी जागा बसेर भए पनि काठमाडौँका नागरिकलाई मजाले सुताउने हो । हामी पानीमा  भिजेर भए पनि नागरिकलाई घरभित्र सुरक्षित राख्ने छौँ ।

मनलाग्दी सवारी साधानको भाडातर्फ कुनै अनुगमन गरिएको छ कि छैन ?

अग्रिम बस टिकट बुकिङको बेलामा पनि हामी उपस्थित थियौं । बसपार्कमा भएको प्रहरी पनि प्रशासन हो । राज्य पनि त्यही हो । बस पार्कमा प्रधानमन्त्री र सिडिओ खोज्न गएर सम्भव छैन । त्यहाँ सादा पोशाक र वर्दीका प्रहरी सबै तरिकाले परिचालन गरेका छौं । भीडभाडमा केही कमजोरी हुन सक्ला । त्यस्तो ठगी  भयो भने जानकारी गराउने नागरिकको पनि दायित्व हो । नागरिकले पनि कम्प्लेन गर्नुपर्छ । बस कम्पनी पनि जिम्मेवार हुनुपर्छ । त्यसका लागि सडकसँग जोडिएको यातायात व्यवस्था विभाग पनि छ । हामी पनि छड्केमा गएका छौँ । कम्प्लेन आएको सन्दर्भमा कम्प्लेनलाई सम्बोधन पनि गरेका छौँ । यदि कोही ठगिएको भए हामीलाई सूचना दिनुपर्यो । हामी कारबाही गर्नेछौं।

कारबाही गर्दैगर्दा कसैले छोड्दिनु त भन्दैनन् ?

भन्छन्  । कोही कसैले मलाई पनि भन्ने गर्छन् । तर म हुँदैन भन्दिन्छु । म कानुन अनुसार चल्ने मान्छे हो ।

नागरिकको गुनासो सुन्न काठमाडौँमा यात्रु सहायता केन्द्र राखिएको छ नि ?

हामीले काठमाडौँ मात्रै ११ ठाउँमा यात्रु सहायता केन्द्र राखेका छौं। जहाँ पनि कम्प्लेन गर्न सक्नुहुन्छ । बल्खु, कलङ्की, स्वयम्भू, बसपार्क ठाउँ ठाउँमा ट्राफिक प्रहरी, नेपाल प्रहरी गुनासो सुन्नकै लागि बसेका छन् ।

भनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्नो बलबुताले भ्याएको प्रयास गरिरहेको छ ?

हो, हामीले हाम्रो बलबुताले भ्याएको सबै प्रयास गरिरहेका छौं । बाँकी अब जे जस्तो रहन्छ त्यही किसिमले व्यवस्थापन गर्दै जानेछौँ।

टिप्पणीहरू