नैतिकता भए तेजबहादुरले पद छोड्नुपर्छ

नैतिकता भए तेजबहादुरले पद छोड्नुपर्छ

व्यक्तिले जति नै ख्याति कमाए पनि अन्तत: पदभन्दा नैतिकता हजारौँ गुणा ठूलो हुन्छ । नैतिकता ठूलो भन्दै संसारका धेरै सफल व्यक्तिले पद त्यागेका थुप्रै उदाहरण छन् । खासगरी राजनीतिमा नैतिकताको प्रश्न महत्वपूर्ण हुन्छ । तर,पदको लोभमा नेपाली राजनीतिमा नैतिकताको खडेरी लाग्ने गरेको छ ।

२०६६ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरण असफल भएपछि नैतिकताको आधारमा सहजै राजीनामा दिए । सोही वर्ष माओवादी नेता मातृका यादवले पनि आफूले चाहेअनुरुप काम गर्न असहज भएको भन्दै मन्त्री पद छोडे । गएको मंसिर ४ को चुनावमा पराजय भोग्नु परेपछि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समेत बाटो खुला गरिदिए ।

बरालले राजीनामा दिएलगत्तै माओवादी लालकिल्ला भनेर चिनिने रुकुम पूर्वबाट पराजित तेजबहादुर वलीलाई नैतिक संकटले घेरेको छ । अरु ठाउँबाट हार्नुको ठूलो अर्थ राख्दैनथ्यो तर रुकुम पूर्वमा पराजित हुनुसङ्ग वलीको मात्रै होइन,सिङ्गो पार्टीको प्रतिष्ठा जोडिन्छ । त्यसैले जिल्ला इन्चार्जसमेत रहेका उनले नैतिकताको आधारमा राजीनामा देलान् या पदमा बसिरहलान् हेर्न बाँकी नै छ ।

वलीमा त्यति नैतिकता छ जस्तो त लाग्दैन । रुकुम पूर्वमा म जत्तिको कोही छैन भन्ने भ्रम पालेका  उनले राजीनामा दिने कुरामा सन्देह छ । तर, जानेर आफैँ पदबाट राजिनामा दिए भने भविष्यमा उनैलाई फाइदा हुनेछ ।

नेता वली कत्तिसम्म अहंकारी छन् भन्ने कुरा उनको पछिल्लो अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ । गत हप्ता चुनावी मत परिणाम आएको केही मीनेटमै सामाजिक सन्जाल फेसबुकमा षडयन्त्रपूर्वक आफूलाई हराइएको र हराउनेहरुसंग कुनै घुम्तीमा भेट हुने धम्कीपूर्ण भावमा स्ट्याटस लेखे । सायद अप्रत्यासित रुपमा आएको त्यो जनमतलाई पचाउन उनको पाचन प्रणालीले काम गरेन ।  

रुकुम पूर्वबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता पूर्ण घर्ती मगरले फराकिलो मतले जीत हात पार्दा प्रदेशसभामा भने वलीले लज्जास्पद हार ब्यहोर्नु परेको हो । पार्टी एउटै,चुनाव चिन्ह पनि एउटै । तर कसरी जिते पूर्ण अनि कसरी हारे तेजबहादुर ? यसको कारण माओवादीले खोज्ला नखोज्ला ?

कसैले जनमत उल्टेको भन्ला । यदि त्यो हो भने पूर्णबहादुरले कसरी जिते ? प्रतिनिधि सभाको लागि छानीछानी हँसिया हथौडामा छाप लगाउने मतदाताले प्रदेशसभामा भने छानीछानी स्वतन्त्र (बिजुलीको चिम)लाई भोट खन्याए । यसले रुकुम पूर्वमा तेजबहादुर वली अलोकप्रिय छन् भन्ने प्रमाणित गर्दैन र ? 

अब यस्तो अलोकप्रिय व्यक्तिले नेतृत्व गरेको जिल्ला कमिटीसँग जनताले के अपेक्षा गर्छ ? उनी मातहतको संगठन कसरी सुदृढ हुन्छ ? कसरी मार्क्सवादी कार्यकर्ता जन्माउँछ ? एकजना तेजबहादुरकै कारण आफ्नो आधारक्षेत्रबाट नील खानु पर्‍यो माओवादीले । यस्ता मान्छेलाई अझै पनि माओवादी नेतृत्वले काखी च्याप्छ भने रुकुमपूर्वमा माओवादी विरासत ध्वस्त हुने प्रायः निश्चित छ ।

गएको चुनावमा 'चैते कार्यकर्ता' बाहेक युद्ध लडेका माओवादी युवाहरु वलीविरुद्ध एक भए । यसको कारण उनको कार्यशैली नै मुख्य  हो । भनिन्छ,जनसम्बन्ध सुधारमा ध्यान दिइएन । ०७४ सालमा चुनाव जितेपछि एकपटक पनि उनी गाउँ छिरेनन् । रुकुमको विकासमा सिन्को भाँच्चिएन । सबभन्दा ठूलो आरोप त के थियो भने उनी कमिसन र घुसखोर भए । सर्वसत्तावादी भए, र पार्टी कमिटीको निर्णय लत्याएर एकलौटी गरे । 

उपरोक्त आरोपहरु त मिथ्या पनि हुन सक्ला तर सिङ्गो जिल्ला कमिटी र विशाल जनसमुदायको त्यत्रो मतले वलीलाई अस्वीकार गरेको भने सत्य हो । त्यसकारण उनको कार्यशैलीमाथि उठेका प्रश्न र लागेका आरोपमा दम छ भन्न सकिन्छ । त्यसैले तेजबहादुर वलीमाथि नैतिक संकट चुलिएको छ । उनीसँग अलिकति मात्रै पनि नैतिकता छ भने जिल्ला इन्चार्जबाट आफैँ राजीनामा दिएर नयाँलाई ठाउँ खाली गरिदिनुपर्छ । यसो गरियो भने संगठनलाई फेरि नयाँ शिराबाट उठाउन सम्भव देखिन्छ । रुकुमपूर्वमा माओवादी विरासत जोगाउन सकिन्छ । 

(लेखक माओवादी केन्द्र अन्तर्राष्ट्रिय विभागअन्तर्गत पश्चिम एसिया क्षेत्रीय सदस्य हुन्)

टिप्पणीहरू