सत्ता पलटपछाडिका यावत् श्रृङ्खला

सत्ता पलटपछाडिका यावत् श्रृङ्खला

२०७२ को संविधान जारी भएपछि त्यतिबेलाका प्रमुख तीन दलबीच सुशील कोइराला राष्ट्रपति, केपी ओली प्रधानमन्त्री र माओवादी सभामुख हुने सहमति थियो । तर, सहमतिअनुसार एमालेलाई सरकारको नेतृत्व छोड्न तयार नभएको कांग्रेसले सुशीललाई प्रधानमन्त्रीमा भिडायो । माओवादीको समर्थनमा ओली प्रधानमन्त्री हुँदा सुशीलको पराजय भयो । परिणामतः कांग्रेसले दुवै पद गुमाउनुप¥यो । आफैँले गरेको सहमतिमा अडिन नसक्दा केपी ओलीले पाँच वर्ष अकण्टक प्रधानमन्त्री रहिरहने अवसर गुमाउनुपरेको ताजा उदाहरण छँदै छ । अहिले पहिलो पार्टी भएर पनि कांग्रेस संघ र प्रदेश दुबैतिर प्रतिपक्षमा पुग्नुका पछाडिको कारण पनि सहमति उल्लंघन नै हो । 

शेरबहादुर देउवाले नै ‘चुनावपछिको प्रधानमन्त्री तपाईं’ भनेपछि पुष्पकमल दाहाल प्रचण्ड त्यसैअनुसार अभियानमा होमिनुभयो । देउवाले ‘हुन्छ’ भने पनि चुनावी परिणामले भने प्रचण्डलाई बेचैन बनायो । किनभने माओवादीले अपेक्षित सिट जित्न नसकेका कारण प्रधानमन्त्रीमा उहाँको दाबी स्वतः कमजोर हुने स्थिति थियो । त्यसैले अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै बालुवाटार पुग्नुभएका प्रचण्डलाई देउवाले कुरा छिनालेरै ‘हैन, तपाईं नै हो’ भनेपछि त्यसैलाई सहमति मानेर नेताहरू उठेका थिए । 

त्यसैको निरन्तरताका रूपमा पुस १ गते बालुवाटारमै प्रचण्ड र देउवाबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने र पहिलो खेप प्रचण्डले सरकारको नेतृत्व गर्ने ‘फाइनल’ सहमति भयो । गठबन्धनलाई जोगाएर सहमतिमै सबै पद भागबण्डा मिलाउन दुवै नेता राजी भए । त्यसैअनुसार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारको नेतृत्व भागबण्डा प्याकेजमा टुंगो लगाउने भनिएको थियो । नेताहरूका अनौपचारिक छलफल र गठबन्धनका बैठकहरूमा पनि त्यसैमा केन्द्रित हुने गरिएको थियो । 

तर, बचनको पक्का भनिएका देउवा आफूले गरेको सहमतिमा अडिन नसकेकै कारण गठबन्धन जोगाएर जाने नेताहरूको प्रयास सफल नहुँदा राजनीतिले नयाँ कोर्स लिएको छ । प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ तर उहाँलाई देउवाको होइन ओलीको समर्थन छ । नयाँ परिस्थितिले कांग्रेसलाई सत्ता राजनीतिबाट निकै पर धकेलिदिएको छ भने दुई वर्षदेखि ‘कर्नर’मा पर्दै आएको एमाले फेरि सत्तामा फर्किएको छ । कांग्रेसले मुखमै परिसकेको राष्ट्रपति र सभामुख गुमाउँदा कल्पनै नगरेको एमालेको पोल्टामा ती दुवै पद परेको छ । अंकगणित हेर्दा प्रदेशमा पनि कांग्रेस सबैतिर प्रतिपक्षी बेञ्चमा पुग्ने अवस्था छ । 

बिसौं वर्ष गठबन्धन जोगाएर जाने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका नेताहरू के कारण एकाएक ‘नदीका दुई किनारा’ हुन पुगे ? सबैलाई मिलाउन सक्ने समन्वयकारी नेताको पहिचान बनाएका देउवा कहाँ चुक्नुभयो ? आफैँ खरानी हुने तहमा पुगेर अडान कसिरहन कांग्रेस नेताहरूलाई कुन तत्वले प्रेरित ग¥यो ? यसका पछाडि एउटा मात्र कारण नहुन सक्छ । तर, आन्तरिक राजनीतिको भन्दा पनि बाह्य शक्ति केन्द्रको चासो र स्वार्थले भूमिका खेलेको पनि यसबीचमा विकसित घटनाक्रमले पुष्टि गर्छ । 

जानकारहरू भन्छन्, जसरी एमसीसी पास गर्ने बेला पश्चिमाहरूको दबाबले देउवा गठबन्धनका अन्य दलप्रति कठोर हुनुभएको थियो, यसपटक दक्षिणको दबदबाले परिस्थिति बालुवाटारको काबुबाट फुत्किएको हो । उतैको चासो सम्बोधन गर्नुपर्ने बाध्यताका कारण देउवा पूर्वसहमति तोडेर राष्ट्रपति र प्रधानमन्त्रीको दाबी नछाड्ने ठाउँमा पुगेको धेरैको बुझाइ छ । उसै त म्याडमले रक्षाबन्धन र भेटघाटमार्फत साइनो मजबुत बनाउनुभएको, त्यसमाथि चुनावको परिणाम घोषणा भएलगत्तै दक्षिणको प्रभावले बालुवाटारलाई अर्कैतिर मोडिसकेको थियो । त्यसको अन्तिम पटाक्षेप मात्र पुस १० मा भएको हो । 

किनभने चुनावको परिणाम सार्वजनिक भैसकेपछि कांग्रेसका केही नेताको दिल्ली दौडाहा र भारतीय राजदूत नविन श्रीवास्तवले यहाँ गरेको दौडधुपले नै अहिलेको संकटलाई निम्तो दिइसकेको थियो । कांग्रेसको १४औँ महाधिवेशनपछि देउवाको कोर टिमबाट आउट भैसकेका विमलेन्द्र निधि एकाएक बालुवाटारको ‘प्रिय’ बनेर निस्किए । परिणाम सार्वजनिक भएलगत्तै दिल्ली भ्रमणमा रहेका उनी त्यताबाट फर्केपछि झन सक्रिय भए । दिल्लीको चासो संबोधन गराउन बालुवाटारले उनलाई नै भेटघाटमा खटाएको थियो । निधिले ८ गते साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेटेर कांग्रेस र एमालेबीच सहकार्यको औपचारिक प्रस्ताव गरेका थिए । अबेर साँझ बालकोट पुगेर ओलीसँग लामो भेट गरेका उनको प्रस्ताव थियो – हामी मिलौँ, माओवादीलाई साइड लगाइदिऊँ ।’ उक्त प्रस्तावमा ठोस जवाफ नदिए पनि ओलीले हुँदैन नभनेको स्रोतले बताएको छ । 

दक्षिणको लाइनमा बालकोटको सकारात्मक प्रतिक्रिया पाएको ठानेर हौसिएका निधि भोलिपल्ट ९ गते बिहानै खुमलटार पुगेका थिए । प्रचण्डलाई दबाबमा राख्न उनले अघिल्लो दिन एमाले अध्यक्षसँगको भेटबारे जानकारी दिँदै कांग्रेस र एमालेबीच सहकार्यको सम्भावना बढेको सुनाए । निधिको धम्कीपूर्ण भाषा उद्धृत गर्दै स्रोतले सुनायो, ‘तपाइँ आउने भए आउनु, ठीकै छ हामी सँगै चुनाव लडेका हौँ । नत्र एमालेसँग मिलेर सरकार बनाउँछाँै, त्यसमा ओलीजी सहमत भइसक्नुभएको छ ।’

कांग्रेस–एमालेको एक तहका नेताबीच छलफल भैरहेको र सम्भावित सहकार्यबारे जानकार रहेका प्रचण्डले ‘यो देउवाको भनाइ हो ?’ भनेर सोध्दा निधिले ‘हो, म उहाँले पठाएरै आएको’ भनेका थिए । त्यसपछि रिसाएका प्रचण्डले त्यतिबेलै कुनै हालतमा त्यो खेल सफल हुन नदिने बताउनुभएको स्रोतले बताएको छ । सधैँ पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्कीलाई दूत बनाएर पठाउने देउवाले त्यो दिन निधिलाई किन पठाउनुभयो आफैंमा रहस्यमय प्रश्न छ । 

यसपालि कांग्रेसलाई ‘थाङ्नामा सुताउन’ एमालेको भूमिका पनि निर्णायक रह्यो । देउवाका दूतहरूलाई निवासमा बोलाएर छलफल गरिरहनुभएका ओलीले माओवादीका नेताहरूसँग कुरा गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई खटाउनुभएको थियो । केही दिनअघि मात्रै चीनमा स्वास्थ्योपचार गराएर फर्किएका माओवादी उपमहासचिव वर्षमान पुनको सक्रियतामा दुवैतिरका दोस्रो तहका नेताहरू नियमित छलफल र भेटघाटमा थिए । तर, देश तथा विदेशको सूचनामा सहजै पहुँच भएको बालुवाटारले त्यसको भेउ नै पाएन । यसको सुइँकोसम्म पाएको भए सायदै निधिले त्यसरी भेटघाट गर्ने थिए । 
अर्कोतिर देउवालाई प्रचण्डले गठबन्धन छाड्दैनन् भन्ने परेको थियो । पत्नी आरजु राणामार्फत परिचालित कोर टिमका सदस्यहरूले पनि त्यही रिपोर्ट गरेका थिए ।

एमाले अध्यक्ष ओलीले पुस ९ गते ‘प्रचण्डले गठबन्धन छोड्न ढिला गरेकाले अब प्रधानमन्त्री बन्दैनन्’ भनिदिएपछि देउवा अझै ढुक्क हुनुभयो । तर, त्यही ढुक्कता अन्ततः प्रत्युत्पादक बन्न पुग्यो । यता, ओलीको अभिव्यक्तिबाट संवादमा रहेका एमाले र माओवादीका नेताहरू पनि तरंगित भए । त्यही दिन साँझ ओलीलाई भेटेर सुवास नेम्वाङले ‘हामीलाई यता कुरा गर्न लगाउने अनि बाहिर अर्कै बोल्ने ?’ भन्दा ओलीले आफ्नो आशय त्यसो नभएको बताएपछि पुनः छलफल अघि बढेको बताइन्छ । 

अर्कोतिर प्रचण्डलाई जसरी पनि देउवा नेतृत्वको ‘इण्डो–अमेरिकन’ गठबन्धनबाट बाहिर निकाल्न वर्षमानहरू चुनावअघिदेखि नै सक्रिय थिए । तर, प्रचण्डले नमानेकै कारण त्यतिबेला सम्भव नभएको माओवादी नेताहरू बताउँछन् । एमाले–माओवादी कोएलिसनको ‘म्यान अफ द म्याच’ का रूपमा चर्चा गरिएका वर्षमान अन्ततः ओली–प्रचण्ड एक ठाउँमा उभ्याउन सफल भएका छन् । त्यही भएर केपी ओलीले पुनलाई ‘तपाईं आउनुभयो सबै ठीक भयो, तपाईंको र देशको स्वास्थ्य पनि ठीक भो’ भन्नुभएको ।  – साहस न्यौपानेबाट
 

टिप्पणीहरू