खतरनाक खेलहरु
राजनीतिलाई आफ्नो वशमा राख्न विदेशीले केसम्म गर्छन् भन्ने कुरा फेरि एकचोटि देखिएको छ । जसरी ०७२ सालमा राष्ट्रपति र प्रधानमन्त्री छाड्नै हुँदैन भनेर राष्ट्रपति भई नै सक्नुभएका सुशील कोइराला रोकिनुभयो, यसपटक फेरि त्यस्तै भएको छ । शक्तिकेन्द्रहरुको भर पर्दा र आफ्नो शक्ति निर्माण, सञ्चय र पूर्वतयारी नगर्दा नेपाली कांग्रेस नराम्रोसँग किनारामा परेको छ । यसका लागि पश्चिमा ध्रुवका खेलाडीहरुले शेरबहादुर पत्नी आरजुको कान फुकेका थिए, ‘कुनै हालतमा पनि राष्ट्रपति र प्रधानमन्त्री छोड्नुहुँदैन है । त्यसमा पनि प्रधानमन्त्री त झन् छोड्नै हुँदैन !’ यसअघि नेकपा फुटाउँदा पनि विदेशीले यसरी नै खेलेका थिए ।
ईश्वर पोखरेलहरुलाई उनीहरुले भनेकै थिए, ‘यत्रो वर्ष राजनीति गरेर आएको तिमीहरुले अब के पाउँछौ ? दुःख तिमीहरुले ग¥यौ, खाने बेलामा प्रचण्ड आए !’ तिनै तत्वले फेरि ओलीलाई पनि यसै भनेर उकासे, ‘तपाईंहरुले बनाएको एमालेको मैदानमा प्रचण्डलाई यति धेरै खेल्ने ठाउँ किन दिनुहुन्छ ?’ यसरी प्रचण्डलाई पर राख्नका लागि केपीले अनेकन चाल चल्नुभयो । तर, आफ्नै पार्टीका माधव नेपाल, झलनाथ खनालहरु उहाँबाट टाढिए ।
अहिले एउटा अर्को स्वार्थले प्रचण्डलाई ओलीसँग नजिक ल्यायो । तर, आफैँबाट चोइटिएर गएका माधव–झलनाथ टाढा छन् । माधव नेपाललाई छोडेर प्रचण्ड ओलीकहाँ पुग्ने मनस्थितिमा हुनुहुन्थेन । तर, बालकोटबाट भनियो, ‘उनीहरुसँग एकता गरेर आउनु हुन्छ भने अर्कै कुरा, तर हामी अलग्गै शक्तिका रुपमा मान्दैनौँ ।’ एमालेसँग प्रचण्डको कुरा मिल्दैन भन्ने बुझेरै होला, आइतबार ३–४ बजेतिर बालुवाटारबाट ओलीलाई फोन गयो । भनिएको थियो, ‘हामीलाई प्रधानमन्त्री दिनोस्, बाँकी सबै एमालेलाई...!’ तर, त्यतिञ्जेल कुरै अर्कै भइसकेको थियो ।
टिप्पणीहरू