संक्रान्तिको भोलिपल्टदेखि मतदाता नामावलीमा नाम थपिने

संक्रान्तिको भोलिपल्टदेखि मतदाता नामावलीमा नाम थपिने

निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन कार्य पुनः थाल्ने भएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि बन्द भएको मतदाता नामावली संकलन र अद्यावधिक कार्य आयोगले माघ २ गतेदेखि फेरि थाल्ने निर्णय गरेको हो । 

गत साउन १९ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक काम स्थगित भएको हो । आगामी माघ २ गतेदेखि देशभरका निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्ने गरी तयारी गरिएको आयोगले जनाएको छ । बाहिरी जिल्लामा मतदाता नामावली संकलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइनबाट आवेदन गर्न सकिने छ । 

त्यस्तै, विवाह वा बसाइँसराईका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाइँसराई दर्ता प्रमाणपत्रका आधारमा अनलाइन प्रणालीमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिन्छ । 

मतदाता नामावली ऐन २०७३ बमोजिम कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउन तथा कानूनबमोजिम मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ताका लागि अनलाइनमार्फत आवेदन दिन आयोगले आग्रह गरेको छ ।
 

टिप्पणीहरू