हिंसा : कुरा बुझौं, नाइँ भनौं

हिंसा : कुरा बुझौं, नाइँ भनौं

– दर्शन शर्मा

अहिले सामाजिक सञ्जालमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोबिता गौतमले चार वर्षअघि बलात्कारका विषयमा गरेको टिप्पणी भाइरल छ । त्यसको विषयमा उनले प्रष्टीकरण दिइसकेकी छन् । ‘बालगायिका’ कमला घिमिरेलाई गाउन लगाएको लोकदोहोरीबारे पनि ‘बहस’ भइरहेको छ । मंसिर २० गते सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरले ३० वर्षीया श्रीमती मीनाको हत्या गरे । हत्या मात्रै गरेनन्, छिनालेको टाउको प्लाष्टिकको झोलामा हालेर निष्फ्रिकी हिंडे । अम्मरबहादुरले त श्रीमतीको हत्या नै गरे तर तुलनात्मक रूपमा सोविता र कमलाले भन्दा गाली कम खाइरहेका छन् । कारण के होला ? यसले समाजमा हुने हिंसा र बलात्कारका विषयमा बुझाइको चेतलाई झल्काउँछ । 

पछिल्लो ५ वर्ष नेपालमा हिंसाका एक लाख घटना भए । ६३ महिनामा हिंसाका ९६ हजार एक सय ४१ घटना भएमध्ये ७४ हजार तीन सय ६ घरेलु हिंसा रहेको सरकारी तथ्यांक छ । आर्थिक वर्ष ०७४/७५ मा १५ हजार २३४, ०७५/७६ मा १९ हजार ३०४, ०७८/७९ मा २१ हजार ४५१ र चालु आर्थिक वर्षको तीन महिनामा मात्रै पाँच हजार ४३५ वटा महिला हिंसाका घटना भएका छन् । आर्थिक वर्ष ०७४/७५ देखि चालू आर्थिक वर्षको असोज मसान्तसम्म बोक्सीका दुई सय चार घटना भए । पछिल्ला पाँच वर्षमा करणी र जबर्जस्ती करणी उद्योगका मात्रै २१ हजार एक सय २९ घटना देखिए । ०७४/७५ मा एक हजार चार सय ८०, ०७५/७६ मा दुई हजार दुई सय ३०, ०७६/७७ मा दुई हजार एक सय ४४, ०७७/७८ मा दुई हजार पाँच सय ३२, ०७८/७९ मा दुई हजार तीन सय ८० र चालु आवको असोजसम्म ६ सय २१ गरी ११ हजार तीन सय ८७ जबर्जस्ती करणीका घटना भएका छन् । त्यस्तै, जबर्जस्ती करणी उद्योग ०७४/७५ मा सात सय २७, ०७५/७६ मा सात सय ८६, ०७६/७७ मा ६ सय ८७, ०७७/७८ मा सात सय ३६, ०७८/७९ मा ६ सय ५५ र ०७९/८० को असोजसम्म ६ हजार एक सय ५१ गरी नौ हजार सात सय ४२ जबर्जस्ती करणी उद्योगको उजुरी परेको प्रहरीको तथ्यांक छ । 

प्रदेशगत रूपमा सबैभन्दा धेरै महिला हिंसा मधेसमा भएका छन् । आव ०७४÷७५ यता चालु आवको असोजसम्म मधेसमा २३ हजार आठ सय ८२ घटना भएका छन् । त्यसपछि उपत्यका १६ हजार सात सय ७३ घटना छन् । प्रहरीले आफ्नो रेकर्ड सिष्टमभित्र उपत्यकाका तीन जिल्लालाई बागमती प्रदेशमा राखेको छैन । त्यस्तै, लुम्बिनीमा १५ हजार एक सय ६०, बागमतीमा ११ हजार पाँच सय ४४, प्रदेश १ मा नौ हजार दुई सय चार, गण्डकीमा आठ हजार ५८, सुदूरपश्चिममा ६ हजार पाँच सय ९३ र कर्णालीमा पाँच हजार सात सय ६४ महिला हिंसाका घटना भएको प्रहरी तथ्यांक छ । यो वर्ष पनि नेपालमा महिला हिंसाविरुद्धको १६ दिने अभियान अघिल्ला वर्ष झैं चल्यो । अभियान चलाउने उही भए, सहभागी हुने पनि उही । तपाईंले कत्तिको याद गर्नुभएको छ– अभियान चलाउने र सहभागी हुने उही व्यक्ति, उही प्रवृत्ति छ । फरक यत्ति हो हिंसा पीडित र हिंसाको स्वरूप भने बेग्लै छ । हिंसाविरुद्धको अभियान चलेको चल्यै अनि हिंसा पनि बढेको बढ्यै ! अचम्म छैन त ? यसले हिंसाविरुद्धको अभियानले नै पो हिंसा बढाएको पो हो कि भन्ने प्रश्न जन्माएको छ । तर हिंसाविरुद्धका अभियन्ताहरू यसलाई अस्वीकार गर्छन् । उनीहरूको तर्क छ– ‘पहिले पहिले महिलाहरू हिंसा सहेर बस्थे, अहिले सार्वजनिक गर्न थाले । यसले बढेको देखिए पनि हिंसाका घटना कम भएका छन् ।’ 

हिंसाका कुरा गर्दा पहिले शारीरिक हिंसालाई मात्रै हिंसा मानिन्थ्यो । पीडकले सशरीर नै हिंसा गरेको हुन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन । हिंसाको प्रकृति फेरिएको छ । प्रविधिमार्फत हिंसा भइरहेको छ । यो क्रम बढ्दो छ । प्रहरी अनुसन्धानले चिनेजानेको व्यक्ति वा नातेदारभित्रैबाट यौन हिंसाका घटना भइरहेको देखाउँछ । सामाजिक सञ्जालबाट चिनजान, प्रलोभनमा पारेर पनि यस्ता हिंसाहरू भइरहेका छन् । कम उमेरका बालबालिका पनि सामाजिक सञ्जालमा जोडिने र खराब नियतका मानिसहरूले बालबालिकामाथि हिंसा गरिहेका छन् । सामाजिक सञ्जालमा जोडिएकाहरूबीच कुन नियतले कुराकानी गर्न खोजिरहेका छन् भनी बुझेर मात्रै संवाद अघि बढाउने, पूर्णविराम लगाउने भन्ने बेलैमा सोच्नु आवश्यक छ ।
 

टिप्पणीहरू