पासपोर्ट दलालीमा ‘मन्त्रीका पीए’ पक्राउ

पासपोर्ट दलालीमा ‘मन्त्रीका पीए’ पक्राउ

भनौँ, आफूलाई मन्त्रीको पिए भन्छन् । नभनौँ, हदैसम्मको अत्याचार † पद हुँदासम्म कर्मचारीले सहे, पद गएको दुई चारदिनमै पुलिस बोलाएर थुन्न पठाइदिए ।  यसरी एकजना मन्त्रीले जिम्मेवारी छोडेको ८–१० दिनमै उनका ‘स्वकीय सचिव’ प्रहरीद्वारा पक्राउ गरिए । पुसको चिसोमा आठ रात कालिमाटी प्रहरी बृत्तमा बिताए । उनी हुन्, उदयपुरको रामपुर ठोक्सिला घर भएका दीपक कोइराला । आफूलाई निवर्तमान परराष्ट्रमन्त्री डा.नारायण खड्काको पीए बताउने कोइराला खासमा नियुक्तिप्राप्त स्वकीय हैनन्, कांग्रेस कार्यकर्ता र मन्त्रीका जिल्लावासी हुन् । उनैलाई डा.खड्का मन्त्रीबाट हटेको केही दिनमै त्रिपुरेश्वरस्थित राहदानी विभागका कर्मचारीले पुलिस बोलाएर जिम्मा लगाइदिए । कसुर गम्भीर थियो ।

प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ लिएर लाइन बस्नुनपर्ने गरी राहदानी बनाइदिने त सामान्य नै भयो । विभागका निर्देशकहरुको सहीसमेत नक्कली धस्काएर काम चलाउने गरेका थिए । दिनकै १०–१५ जना मान्छे लिएर पुग्थे । १० जनाबाट १० हजारकै दरले लिए पनि दिनमै एक लाख उठ्थ्यो । उदयपुरकै मान्छे, कांग्रेस पनि हो भनेपछि त्यहाँका कर्मचारीले मन्त्रीको आधिकारिक पीएकै व्यवहार गर्थे । पटक–पटक सम्झाए पनि, ‘यस्तो नगर्नुस्’ भनेर । ‘हुन्छ–हुन्छ’ भन्ने तर भोलिपल्ट फेरि उही धन्दा चलाउने † ‘मन्त्रीज्यूको आदेश छ’ भन्दै कतिपयका कामहरु तुरुन्तातुरुन्तै गर्न लगाउने । ‘आदेश नै भएपछि गरिदिऊँ न त’ भन्दा पनि कहिलेकाँही एक–घण्टा ढिलो हुन्थ्यो । अनि, शाखा अधिकृत, उपसचिवहरुलाई धम्क्याउन थाल्ने ।

दीपकबाट आजित भएका त्यहाँका हाकिमहरुले डा.खड्का मन्त्रीबाट हट्नासाथ निगरानी राख्न थाले, सिसिटिभीबाट । एकदिन त्यस्तै काम गर्दागर्दै कालिमाटी प्रहरी बृत्तको टोली बोलाएर उनलाई पक्राउ गराइयो । यसपछि केही उदयपुरे कांग्रेसहरु छुटाइदिनका लागि निवर्तमान मन्त्री डा.खड्काको घरमा पुगे । उनले विभागका हाकिमहरुसँग घटनाबारे सोधे । सबै कुरा सुनेपछि घरमा पुगेका जिल्लावासीसँग डा.खड्का उल्टै कड्किए, ‘यस्तो काम पनि गर्ने हो ? मेरो नाम लिएर मेरै बद्नाम गर्ने, अनि मैले छुटाइदेऊ भन्दा के हुन्छ ? म पनि बदमास हुन्नँ ?’ 

यसरी डा.खड्काले केही नभनिदिने भएपछि उनीबाट पीडित भएका व्यक्तिहरुसँगै मिलेमतो गरेर आठौं दिनमा जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।
 

टिप्पणीहरू