दश वर्षदेखि एकै ठाउँमा अड्डी

दश वर्षदेखि एकै ठाउँमा अड्डी

एउटै अड्डामा १० वर्षभन्दा बढी समय, त्यसमा पनि आर्थिक कारोबारमा संलग्न कर्मचारी त्यहाँबाट हट्न नचाहनुपछाडिको रहस्य के होला ? काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा यस्तै हालत छ । केयुकेएलबाट दुई वर्षका लागि सरुवा भएर आएका वरिष्ठ अधिकृत रामचन्द्र ढकालले काजमा बोलाइएको पत्र बुझ्न नमानेपछि सबै आजित बनेको बताइन्छ । केयुकेएल बोर्ड बैठकले उनलाई दुई पटक काज फिर्ताको पत्र पठाइसकेको छ । बोर्ड बैठक पत्र लेखेको लेख्यै गर्ने, ढकाल टेर्दै नटेर्नेको स्थिति छ । यता, बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उनलाई हाजिर गराएर सम्पूर्ण कामको जिम्मेवारी सुम्पिएका छन् । 

जनआस्थासँग कुराकानी गर्दै राणाले भने, ‘अब उनी जान्छन् । चिठी नबुझ्दा पठाउन गाह्रो परेको छ ।’ राना र ढकालको भित्री चिठीको समेत अवज्ञा भएको कर्मचारीहरूको आरोप छ । एक जना कर्मचारीले भने, ‘ढकालले उपसचिवको परीक्षा दिँदाखेरि तालिम लिएका थिएनन् । तर, नक्कली प्रमाणपत्र पेश गरेर बढुवा भए ।’ अख्तियारले छानबिन गर्ने क्रममा दोषी ठहर भएपछि बढुवा रद्द भएको थियो । अकुत सम्पत्तिको मुद्दा खेपिरहेका ढकाललाई राणाको भरपुर साथ रहेको बताइन्छ । 

‘तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु’ भन्ने शैलीमा सञ्जीवले साथ दिइरहेको बुझाइ मन्त्रालयदेखि केयुकेएलसम्म छ । अति नै भएपछि अख्तियारले मन्त्रालयको नाममा पत्र लेखेर साविककै दरबन्दी रहेको केयुकेएलमा फिर्ता बोलाउन भनेको छ । यसैबमोजिम मन्त्रालयका सचिव इञ्जिनियर मणिराम गेलालले कार्यकारी निर्देशकलाई निर्देशन दिएका छन् । यता, राणाले रमानापत्र तयार पारिसकेको जवाफ फर्काएको स्रोतको भनाइ छ ।

यस विषयमा राणाले केयुकेएलमाथि कटाक्ष गर्दै भने, ‘केयुकेएलले आफ्नो कर्मचारीलाई चिठी बुझाउन सक्दैन भने अरू संस्थालाई के भन्न सक्छ ?’ केयुकेएलको बोर्ड बैठकले २०७९–८–१३ गते चलानी नम्बर १५३, दर्ता नम्बर २४४ मा ढकाललाई काज फिर्तासम्बन्धी पत्र लेखेको छ । त्यस्तै, २०७८–१२–२४ गतेको पत्रमा भनिएको छ, ‘उपर्युक्त विषयमा यस कम्पनीको सञ्चालक समितिको मिति २०७८–१२–२४ को बैठक नम्बर ३९६ को निर्णयानुसार तपाईंंको काज फिर्ता भएको व्यहोरा जानकारी गराइएको छ । 

 

टिप्पणीहरू