हात्तीपाइले रोगविरुद्ध अभियानमा जोडिन गृहद्धारा पत्राचार

हात्तीपाइले रोगविरुद्ध अभियानमा जोडिन गृहद्धारा पत्राचार

गृह मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानमा समन्वय तथा सहयोग गरिदिन विभिन्न निकायलाई निर्देशन दिएको छ । 

गृहले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय र १५ वटा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै हात्तीपाइले रोग निवारण गर्ने उद्धेश्यका साथ थालिएको औषधी सेवन अभियानमा समन्वय तथा सहयोग गर्न भनेको हो । 

‘हात्तीपाइलेविरुद्धको आम औषधी सेवन अभियान २०७९’ लाई सफल बनाउन आम नागरिकलाई औषधी सेवनमा सरिक गराउन जरुरी रहेको गृहको भनाइ छ । ‘हात्तीपाइलेविरुद्धको आम औषधी सेवन अभियान २०७९ लाई सहयोग गर्ने र औषधी सेवन अभियानमा सरिक हुन समन्वय गरिदिन अनुरोध प्राप्त भएको हुँदा त्यहाँ निकायअन्तर्गत सम्पूर्ण कर्मचारीहरुलाई औषधी सेवन गर्न र औषधी सेवा अभियान, २०७९ लाई सहयोग गर्न हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ । 

सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोगलाई निवारण गर्ने उद्धेश्य राखेको छ । सोहीअन्तर्गत आज विभिन्न जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै छ । झापा, मोरङ, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, लमजुङ, बाग्लुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, कैलालीमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जनाइएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको अध्यक्षतामा गत फागुन ४ गते बसेको राष्ट्रिय समन्वय समितिको बैठकले गृहअन्तर्गतका विभिन्न निकायसंग सहयोग माग्ने निर्णय गरेको थियो । 

सोहीअनुरुप स्वास्थ्यले गृहलाई फागुन ८ गते पत्र लेख्दै हात्तीपाइले अभियानमा सहयोग गरिदिन आग्रह गरेको हो ।

टिप्पणीहरू