विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित हुने सुरसारमा भारत, भारतीयको निम्ति ‘देखो अपना देश’

विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित हुने सुरसारमा भारत, भारतीयको निम्ति ‘देखो अपना देश’

भारतले चालु वर्ष सन् २०२३ मा विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरुको समूह जी २० को नेतृत्वसँगै अर्को महत्वाकांक्षी योजना अघि सारेको छ । उसले भारतलाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउँदै मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान पुर्याइउने बताइएको छ ।

आगामी दिनमा भारतमा थप ५० वटा नयाँ गन्तव्यको विकास गरिनेछ । पर्यटन क्षेत्रले सन् २०१९ मा भारतको कुल गार्हस्थ्य उत्पादनमा ९.२ प्रतिशत योगदान गरेको थियो । त्यसबाट ४ करोड २० लाखभन्दा बढी रोजगारी प्राप्त भएको थियो । त्यो भनेको भारतमा सिर्जित कुल रोजगारीको ८.१ थियो । 

अब भारतले सन् २०२८ को बीचमा ७.७ प्रतिशतको औसत वार्षिक दरले पर्यटन क्षेत्रको वृद्धि हुने अपेक्षा गरेको छ । सन् २०२८ सम्ममा भारतको कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रले करिब ५५ हजार ४५५ अर्ब भारतीय रुपैयाँ योगदान दिने प्रक्षेपण गरिएको बताइएको छ । जबकी सन् २०१९ मा २९ हजार ५८५ अर्ब भारतीय रुपैयाँ मात्र योगदान थियो ।

‘मिसन मोडमा पर्यटनको विकास’ सम्बन्धी पोस्ट–बजेट वेबिनारलाई सम्बोधन गर्दै, प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा पर्यटनको दायरा फराकिलो पारिने बताएका छन् । अब भारतमा तटीय पर्यटन, समुद्र तट पर्यटन, म्यानग्रोभ पर्यटन, हिमालय पर्यटन, साहसिक पर्यटन, वन्यजन्तु पर्यटनलाई सूचीबद्ध गरिने उल्लेख छ । त्यसैगरी पर्यावरण पर्यटन, सम्पदा पर्यटन, आध्यात्मिक पर्यटन, विवाह गन्तव्य, सम्मेलन मार्फत पर्यटन र खेल पर्यटन पनि भारतीय पर्यटन क्षेत्रमा समावेश हुँदैछ ।

प्रधानमन्त्रीले रामायण सर्किट, बुद्ध सर्किट, कृष्ण सर्किट, पूर्वोत्तर सर्किट, गान्धी सर्किटलगायत सबै तीर्थस्थलको उदाहरण दिँदै यसका लागि सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन् । वाराणसीको काशी विश्वनाथ धामको उदाहरण दिँदै मन्दिर पुनर्निर्माण हुनुअघि एक वर्षमा झण्डै ८० लाख मानिसले मन्दिर दर्शन गर्ने गरेको तर जीर्णोद्धारपछि गत वर्ष पर्यटकको संख्या सात करोड नाघेको प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ । 

गुजरातमा बनाइएको विश्वको सबैभन्दा अग्लो प्रतिमा ‘स्ट्याच्यू अफ युनिटी’ मा निर्माण सम्पन्न भएको एक वर्षभित्र २७ लाख पर्यटक पुगेको जानकारी दिइएको छ । भारतले सीमावर्ती गाउँमा केन्द्र सरकारले भाइब्रन्ट भिलेज योजना सुरु गरेको छ । 

अघिल्लो वर्षको जनवरीमा जम्मा २ लाख पर्यटक भारत घुमघाममा गएका थिए । यस वर्ष जनवरीमा मात्रै ८ लाख विदेशी पर्यटक भारत पुगेका छन् । भारतमा विदेशी पर्यटकहरुमध्ये सबैभन्दा धेरै बंगलादेश, अमेरिका, बेलायत, श्रीलंका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जर्मनी, चीन र फ्रान्सबाट पुग्ने गरेका छन् ।

पर्यटन विकासको निम्ति प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा सूचीकृत सबै भाषाको पर्यटक एप्स विकास गर्न लागिएको जानकारी दिएका छन् । आन्तरिक पर्यटन बढाउन भारतले ‘देखो अपना देश’ जस्ता अभियान थालेको छ ।

टिप्पणीहरू