सेतीमा जहाज खस्नुअघि कमल र अञ्जुको त्यो संवाद

सेतीमा जहाज खस्नुअघि कमल र अञ्जुको त्यो संवाद

अञ्जु आत्तिइन् र कराइन्, ‘तानेन सर, तानेन...!’ त्यसअघि कमल भन्दै थिए, ‘यहाँ डाँडाकाँडा नजिकै छन् । चरा ठोक्किने खतरा हुन्छ, रेडियोका टावर पनि थुप्रै छन् । हावाको गति यताउता भइरहन्छ । त्यसैले कहिलकाँही झुक्याउँछ...!’ 

गत माघ १ गते काठमाडौंबाट पोखरा पुगेको यति एयरलाइन्सको एनवाइटी ६९१, एनए–एएनसी जहाज सेतीको खोँचमा दुर्घटनाग्रस्त हुनुअघि प्रशिक्षक पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडाबीच सुनिएको संवाद हो यो । दुर्घटना हुनु ५२ सेकेण्ड अगाडिको समय पाइलट र कोपाइलटका निम्ति तनावयुक्त भएको छानबिनका क्रममा भेटिएको छ । प्रशिक्षक पाइलटले एकै पटक धेरै कुरा बताउँदै जाँदा को–पाइलटको ध्यान विकेन्द्रित हुन पुगेको भन्दै यसरी दुर्घटनाको कारण त पत्ता लाग्यो । तर, ‘बुझ्न अझै बाँकी छ’ भन्ने नाममा आयोगको म्याद ४५ दिन थपिएको छ । कारण हो, उपकरणको परिचालनमा भएको मानवीय त्रुटि, अर्थात् ‘ह्युमन एरर !’ चालक दलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएको उक्त दुर्घटनाको प्रमुख कारण पत्ता लागिसक्दा पनि सरकारले अन्तिम प्रतिवेदन बुझाउने समय सारेको छ । जहाज निर्माण गर्ने फ्रान्सेली कम्पनीले कतै आफ्ना पार्टपुर्जाको खराबी पो हो कि भनेर परीक्षण गर्न चाहेको र दुर्घटनापछि ‘ककपिट भ्वाइस रेकर्डर’ (सिभिआर) र ‘फ्लाइट डेटा रेकर्डर’ (एफडिआर) को परीक्षण गराइएको सिंगापुरले पनि विस्तृत प्रतिवेदन दिन बाँकी छ । यद्यपि त्यही दिनदेखि पाइलटको जिम्मेवारीमा उक्लन लागेकी अञ्जुले जहाजको स्पिड बढ्न नसकेको गुनासो गरेसँगै पाइलट केसीले खै खै भन्दै कमाण्ड आफ्नो हातमा लिएको तर त्यतिञ्जेल बेला घर्किसकेको छानविनको प्रारम्भिक रिपोर्ट आइसकेको छ । 

जब जहाज अवतरणका लागि पूर्वनिर्धारित रनवे परिवर्तन गरी चालक दलले अर्को दिशा रोज्यो, त्यसैक्रममा त्रुटि भएको छानबिनबाट खुलेको हो । निश्चित उचाइमा झरिसकेपछि इञ्जिनको पावर घटाइएकोमा फेरि त्यो पावर बढाउने प्रयास सफल भएन । यसैकारण दुर्घटना भयो भनिएको छ । तर, इञ्जिनको पावर किन र कसरी घटाइयो भन्ने प्रश्न हालसम्म अनुत्तरित छ । अवतरण निम्ति गति घटाउँदा इनधन आपूर्ति कम हुने र त्यसबाट इञ्जिनको ‘पिच’ लाई ‘फेदर’ (धिमा) गराएको अवस्थामा पंखाहरूले विमानलाई धकेल्न सक्दैनन् । त्यही कारण हावामा जहाजले आफूलाई थेग्न सकेन र कोल्टियो । त्यतिबेला अन्तिम मोड लिएर धावनमार्गमा अवतरण हुनुपर्ने विमान सेती खोँचमा झर्न पुग्यो । 

दुर्घटनापछि जहाजको उपकरणमा समस्या भएको हल्ला चलेसँगै फ्रान्सबाट एटिआर कम्पनीका प्रतिनिधि नेपाल आएका थिए । उनीहरूले शंकास्पद पार्टपुर्जा परीक्षणका लागि लिएर गएका छन् । त्यसकारण पनि विस्तृत प्रतिवेदन प्रस्तुत गर्ने समय बढाइएको हो । भनिन्छ, ‘कतै अवतरण गर्ने समयमा पोखराको वस्तुस्थितिबारे कमलले अञ्जुलाई एकै पटक धेरै थोक भनिरहँदा उनको ध्यान अन्यत्र मोडियो र इञ्जिनको पावर बढाउने कुरामा त्रुटि पो भयो कि’ भन्ने कोणबाट पनि कुरा उठेको छ । चालक दलले जहाजमा पावरको समस्या छ भन्ने कुरा थाहा पाएको ५२ सेकेण्ड अगाडि मात्रै हो ।

अञ्जुले ‘तानेन सर’ भनेपछि कमलले ‘के हो, के हो ?’ भन्दै हत्तपत्त देब्रेतर्फको मुख्य सीटमा हस्तक्षेप गर्न पुगेका थिए । तर, त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो । पहिला पूर्वी धावनमार्गतर्फ अवतरण गराउन जहाजलाई धेरै तल लगियो । धावनमार्ग परिवर्तन गर्ने भएपछि केही सेकेण्ड बढी उडान बाँकी थियो । कोपाइलट अञ्जुले पोखरा टावरलाई अर्को धावनमार्गमा अवतरण गर्नेबारे सोधिन्, टावरले ‘ठीक छ’ भनिदियो । जहाज धेरै तल भएको कारण घुमाउँदा ३० डिग्रीभन्दा कममा गयो । प्रश्न उठेको छ– टावरले शुरुमा दिएको रुट फेर्ने अनुमति फेरि किन दियो ? भन्नुपथ्र्यो, ‘यति तल आइसक्यौ, यतैबाट आऊ !’ यसबारे उनीहरूसँग सोधपुछ गरिँदा त्यसअघि पनि धावनमार्ग खालि भएको बेला अवतरण अनुमति दिने गरिएको बताएका छन् । अब भने आन्तरिक उडानतर्फका जहाजलाई एक हजार फिटभन्दा तल आएपछि रुट फेर्न नदिने नीति बनाइएको छ ।

उता, प्रधानमन्त्रीको भारत भ्रमणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनबारे छलफल गर्नका लागि पर्यटन मन्त्रालयले एजेण्डा तय गरेको छ । भ्रमण मितिको टुंगो नलागे पनि परराष्ट्रले पर्यटनका सरोकारबारे सोध्दा एजेण्डा तय गरिएको हो । भैरहवाको नयाँ विमानस्थल चलाउन देशबाहिरबाट आउँदा महेन्द्रनगर वा वैकल्पिक रुट लिनुपर्ने हुन्छ । अहिलेसम्म सिमरा हुँदै विदेशबाट विमान नेपाली आकाशमा भित्रिने गरेका छन् । भैरहवाको हकमा उक्त रुट काठमाडौंको तुलनामा टाढा पर्छ । त्यहाँ जडान भएको इन्स्टुमेन्टल ल्याण्डिङ सिष्टम (आइएलआर) सञ्चालन गर्न भारतको अनुमति अनिवार्य हुन्छ । किनभने, भारतीय भूमिमा सञ्चार विकिरण (वेभ) जान्छ भनेर तर्काउने गरिएको छ । त्यहाँ भारतीय स्थल सेनाको क्याम्प पनि भएको कारण यो विषय संवेदनशील भएको बताइन्छ । भारतले पनि यसबारे छलफल गर्न प्राविधिक टोली खटाएर गम्भीर चासो दिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै छलफल गर्न नेपालको तर्फबाट पनि टोली गठन भएको छ । उक्त टोलीमा पर्यटन मन्त्रालयबाट यति जहाज दुर्घटनाको छानविन टोलीमा संलग्न सहसचिव बुद्धिसागर लामिछाने र नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट नायव महानिर्देशक हंसराज पाण्डे छन् । त्यसअघि विमानस्थल सुचारु गर्ने विषयमा केन्द्रित भई सम्पन्न दुई देशका सचिवस्तरीय वार्तामा राम्रैसँग कुरा उठेको थियो । 

यसैबीच, चिनियाँ राजदूत छेन सोङले कोभिड संक्रमणपछि बन्द भएको पर्यटक आवागमन सुचारु गर्न नेपाललाई गन्तव्य राष्ट्रको सूचीमा राखेको भन्दै परराष्ट्र मन्त्रालयसँग सहजीकरणका लागि छलफल गरेका छन् । उनले चिनियाँ पर्यटकको अनअराइभल भिसा प्रक्रियामा सहजता ल्याउनुपर्ने, नेपालले भिसा दिने ठाउँहरू थप्नुपर्ने, भन्सारका झमेला मिलाउनुपर्नेजस्ता माग राखेका छन् । 

उता, नेपाल वायुसेवा निगमले अनुदानमा पाएका चिनियाँ जहाजहरू ग्राउण्डेड छन् । आन्तरिक उडानतर्फ केही पहाडी जिल्लामा गन्तव्यहरू थप भएका कारण वायुसेवा निगमलाई अहिले ट्वीनअटर जहाजको खाँचो भएको छ । यसका लागि अर्थ मन्त्रालयसँग अनुमति माग्दा उसले पहिलाको ४८ अर्ब ऋण नतिरी अनुमति दिने सम्भावना छैन । पर्यटन मन्त्रालयले भने बिचौलियामार्फत नभई जहाज निर्माण गर्ने कम्पनीसँग सीधै खरिद गर्ने सोच बनाएको छ । बीचको मान्छेबाट खरिद गर्दा कमिशनको कुरा आउँछ र विवाद हुन्छ भनी त्यस्तो गर्न लागिएको हो । 

बुद्ध र यती एयरलाइन्सले केही महिनाअघि जहाजहरू थपेको छ । २० वर्षभन्दा पुरानो जहाज ल्याउन नपाइने भनिएको कारण निजी कम्पनीहरूले जहाज ल्याउन नसकेका हुन् । किनभने, नयाँ जहाजको खरिद मूल्य बढी हुन्छ, जबकि नेपालको आन्तरिक उडानबाट उक्त रकमलाई धान्ने व्यापार सम्भव छैन । 
 

टिप्पणीहरू