उजाड पठारमा चार दशकमा फर्कियो हरियाली

चीनको तिब्बतका अधिकांश भूभाग पठार हुन् । वर्षमा धेरै समय हिउँ पर्ने र केही महिना कालो नाङ्गो डाँडा देखिने ती पठार क्षेत्रका विशेषता हो । चीनको दक्षिण पश्चिममा रहेको तिब्बतको लुञ्जे काउण्टीमा पनि पठार धेरै छ । तर लामो प्रयासपछि अहिले उक्त काउण्टीमा अहिले हरियाली छाएको छ । 

४० वर्ग किलोमिटरभन्दा बढी भूभागमा फैलिएको हरित क्षेत्रले काउण्टीको प्राकृतिक अनुहार नै फेरिदिएको बताइन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीयको मेहनत र लगातारको कोशिसले दशकौंपछि उक्त क्षेत्रमा बाक्लो हरियाली सम्भव भएको हो । 

समुद्र सतहभन्दा पाँच हजार मीटरमाथि रहेको उक्त क्षेत्र चार दशक अघिसम्म मरुभूमिजस्तै उजाड पठार थियो । प्राकृतिक वातावरण नै उराठलाग्दो रहेको बताइन्थ्यो  । हरिया बोटबिरुवाको कहिँ कतै बिऊ पनि थिएन ।

४० वर्षअघि लुञ्जे पुगेका एक जना पूर्व सरकारी अधिकारी लाङजोङले त्यहाँ खेतिपाती गर्न सकिने औंल्याएकी थिइन् । भ्रमणको क्रममा लुञ्जे पुगेकी उनी त्यहाँको कहालीलाग्दो उजाड अवस्था देखेर आश्चर्यचकित भएको बताइन्छ ।

त्यसैले स्थानीयलाई बोटविरुवा रोप्नुपर्ने र त्यसको महत्वबारे बताइन् । उनले सक्दो बोटविरुवा रोप्न सुझाएकी थिइन् । लुञ्जेका बासिन्दाले मरुभूमि र पठारजस्तो जमिनमा सक्दो रुखविरुवा रोपे । साह्रो माटोमा बोटविरुवा रोप्न र हुर्काउन उनीहरुलाई निकै हम्मे परेको थियो ।

छोटो समयमा जताततै हरियाली छाएपछि स्थानीय मख्ख छन् । आफ्नो मेहनतको प्रतिफल पाएकाले उनीहरु खुशी देखिएको बताइन्छ । स्थानीय साम्टेनले पहिले धुलोको कारण चियासमेत पिउन नसकिने अवस्था रहेको अनुभव सुनाउँछिन् । अहिले उनी पनि दंग छन् ।

‘पहिले यहाँ बसेर चिया पिउनसमेत सकिँदैनथ्यो । हात धोएर आउनेबित्तिकै माटो र धुलोले छपक्क छोप्थ्यो । गिलासको माथिसम्म धुलो जम्मा हुन्थ्यो । तर, अहिले सबैतिर हरियाली छ । त्योे अवस्था हरायो । यो सबैको मेहनतको फल हो,’ उनले भनिन् । काउण्टीमा रोपिएको बोटविरुवाको संरक्षणको निम्ति हरेक वर्ष आठ हजार प्रतिनिधि खटाउने गरिएको छ ।

भिडियो : सिन्ह्वा

टिप्पणीहरू