सिंहदरबारमा सयौँ युवराज

सिंहदरबारमा सयौँ युवराज

मुलुकमा न त राजा छन् न युवराज । तर, कुनै समय पारस शाहको ज्यादती चलेझैं मामुली सुब्बा तहका युवराजले अहिले सिंगो सिंहदरबार हल्लाइरहेका छन् । क्रान्तिकारी छविका सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई समेत हत्तु खेलाइदिने त्यस्ता युवराजले एक दशकदेखि एउटै मन्त्रालयको एउटै शाखामा बसेर रजगज गरिरहेका छन् । मन्त्रीले उनलाई सरुवा गर्न खोज्छन् तर सुब्बा सा’बको पावर यति कडा कि थेग्न सकस । त्यही विषयलाई लिएर बालुवाटार, प्रम कार्यालय, खुमलटारदेखि शंखलमुलसम्मबाट दबाब दिने सिलसिला जारी छ । मन्त्रीलाई यसरी हैरानी खेलाउने नासु युवराज गिरी पूर्वमन्त्री रामकुमारी झाँक्रीका पति (उपसचिव) पशुपतितिरका नातेदार हुन् । पशुपति पनि पाँच वर्षदेखि भौतिक पूर्वाधार मन्त्रालय मातहत कमाउ अड्डामा डेरा जमाएर बसिरहेका छन् । ३ महिनामै बुटवल राजश्वको हाकिम फेरेर आफू पदस्थापन हुने कोसिस जारी छ ।

दुई साताअघि १६ चैत्रमा कर्मचारी संकेत नम्बर १७०३०७ भएका युवराजलाई शहरी विकास मन्त्रालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय भयो । उनले आफ्नो सरुवा उल्टाउन भएभरका शक्तिकेन्द्र लगाए । यसरी दबाब दिनेमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अधिकारीसम्म छन् । कर्मचारी, कार्यकर्ता खोजेर गिरीले दबाब सिर्जना गरिरहेको मन्त्रालय स्रोतको दाबी छ । कर्मचारी प्रशासन स्रोतका अनुसार गिरीको सरुवा रोक्न अहिलेसम्म झण्डै ३ दर्जन मानिसले विभिन्न माध्यमबाट दबाब दिइसकेका छन् ।

शहरी विकास मन्त्रालय र मातहत निकायमा चारपांग्रे सवारी साधन, तिनीहरूको व्यवस्थापन, सञ्चालन र मर्मतसम्भारदेखि मातहत निकायमा कार्यालय प्रयोजनको लागि सरसामग्री खरिदमा पनि वर्षौंदेखि गिरीकै हालीमुहाली चलिरहेको छ । उनी २०६९ साल जेठ ५ मा शहरी विकास मन्त्रालय स्थापना भएदेखि नै सरुवा भएका छैनन् । ऐनअनुसार कर्मचारीको सरुवा दुई वर्षमा हुनुपर्छ । उनी ०७२ को महाभूकम्पपछि त्रिपाल खरिदमा समेत मुछिएका व्यक्ति हुन् । त्यसबेला अख्तियारको निर्देशनकै कारण तीन वर्ष निलम्बनमा परेका थिए ।

सोको सय मीटरअगाडि वन मन्त्रालयमा एउटै कर्मचारीले मालदार विभागमा २० वर्षदेखि रजाइँ गरिरहेको भेटिन्छ । मन्त्रालयअन्तर्गतको खरिद शाखामा एकछत्र गरिरहेका नासु हुन् विश्व काफ्ले ।उपसचिव ऋषि आचार्यले सामान्यको चौघेरा तोडेर अन्यत्र जानुपरेको छैन, दश वर्षदेखि । प्रकाशमानसिंह स्थानीय विकासमन्त्री हुँदादेखि सामान्यमै छन् । त्यसयता एक दर्जन मन्त्री फेबरिए, उति नै सचिव फेरिए तर उनी मन्त्रालयको एउटा शाखाबाट अर्काे शाखामै घुमेर जागिर पकाइरहेका छन् । अर्का उपसचिव छन् रवीन्द्रजंग थापा । ट्रेड युनियनकै आडमा पुरस्कार, विभूषण, अलंकार पाउने पनि उनै हुन् ।

त्यहाँका रैथाने कर्मचारीमा रामचन्द्र अधिकारी (आरसी)ले केही समयअघि सामान्यकै एक जना सचिवलाई लोकन्थलीमा करोडौं पर्ने जग्गा उपहार दिएका थिए । उनी सुब्बा दर्जाका कर्मचारी भए पनि महँगो गाडीमा गुड्छन् । पूर्व ट्रेड युनियन अध्यक्ष गणेश आचार्य, उपसचिव महेन्द्रकुमार सापकोटा, गोविन्द फुँयालदेखि उमेश पराजुली, शेखरनिधि दाहाल, उपसचिव रामुराज कडरिया र माधव सिग्देल थलो नछाड्ने थप कर्मचारी हुन् ।

टिप्पणीहरू