मुलुकभर वायु प्रदूषण उच्च, विशेष सावधानी अपनाउन आग्रह
वातावरण विभागले केही दिनयता काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मुलुकभरका एक सय ४० भन्दा बढी स्थानमा केही दिनदेखि लागेको डढेलो र प्रदूषणका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको उल्लेख गर्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।
आज विज्ञप्ति जारी गर्दै विभागले बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएकाले बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई सकेसम्म घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ । त्यस्तै, प्रदूषणको बढ्दो स्तरका कारण मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकोले विशेष सावधानी अपनाउन पनि सुझाएको छ ।
विभागले फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिन अपिल गर्दै डढेलोको अवस्था यथावत रहेमा उच्च प्रदूषणको जोखिम झनै रहने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ । वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउनुहुन आमसर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिन्छ ।’
टिप्पणीहरू