सूचना लुकाएका प्रमुख प्रशासकीय अधिकृतलाई जवाफ पठाउन आदेश

सूचना लुकाएका प्रमुख प्रशासकीय अधिकृतलाई जवाफ पठाउन आदेश

राष्ट्रिय सूचना आयोगले सूचनाको हकबमोजिम सूचना माग गर्दा सूचना लुकाएका सप्तरीको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले उक्त आदेश जारी गरेको बताइएको छ । 

सूचनाको हकको प्रयोग गरी गत माघ २२ गते पत्रकार सौरभ यादवले नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग नगरपालिकामा हालसम्म खर्च भएको कुल बजेट र भौतिक प्रगतिसहितको विवरण माग गरेका थिए । तर, उनले तोकिएको समयमा सूचना उपलब्ध नगराएपछि कारबाहीको माग गर्दै गत फागुन २६ गते पत्रकार यादवले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरन्जनसँग उक्त विवरण माग गरेका हुन् । 

यता निरञ्जनले सूचना लुकाउने निर्णय गरेपछि पत्रकार यादवले सूचनाको माग गर्दै गत फागुन २७ गते राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका हुन् । त्यसैले, आयोगले प्रमुख प्रशासकीय अधिकृत यादवलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२) बमोजिम सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । । 

मागिएको सूचना के हो ? 

पत्रकार यादवले हालसम्म नगरपालिकामा उपलब्ध सवारी साधन (चालु, ठप्प र हाल मर्मत) र तीनमा लाग्ने इन्धन र सवारी मर्मत खर्चसहितको विवरण, फोहोर व्यवस्थापन र सरसफाईमा खर्चिएको बजेटको विवरणका साथै नगरपालिकामा रहेको दरबन्दी र हाल कार्यरत कर्मचारी (स्थायी, अस्थायी, करार र डोर हाजिर) को नाम, ठेगानासहितको विवरण माग गरेका हुन् । 

त्यस्तै, जनप्रतिनिधिलाई उपलब्ध गराइएको सवारी साधन (सवारीनम्बर र जनप्रतिनिधिको नाम उल्लेखित) र सवारी फिर्ता गरेको भए सोको विवरण, सडक बोर्डबाट खर्चिएको कुल बजेट (योजना शीर्षकअनुसार), भौतिक प्रगतिसहितको विवरण, हालसम्म खदिर गरिएका औषधि र सेनेटरी प्याडको मूल्य उल्लेखित विवरण र खरिद प्रक्रियाको आवश्यक कागजात समेत माग गरिएको हो ।
 

टिप्पणीहरू