‘यिनले हटाउन सक्दैनन्’ : असन्तुष्ट समूह
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कम्तिमा एउटा पदबाट हटाउने पूर्ववत् अडानमा रहेपनि सोमबारको भेटमा विगतकोझैँ कडा मुडमा प्रस्तुत हुनुभएन । बरु उल्टै वरिष्ठ नेता माधव नेपालको कारण अप्ठेरो परेको बेलामा पनि आफूले बालुवाटारसँग सम्झौता गरी अहिलेको अप्ठ्यारोलाई निकास दिन नपाएको आशय व्यक्त गर्न थालेको निकटस्थहरुले अथ्र्याएका छन् । घटना र परिदृश्यले दाहाल अर्का अध्यक्षसँग टक्करभन्दा मेलमिलाप गर्नु नै यतिखेरको आवश्यकता रहेको निश्कर्षमा पुग्न खोज्नुभएको बताइएको छ ।
आफूनिकट भनिएका विगतदेखिका घनिष्ठ कमरेडहरुले साथ छाडेपछि प्रचण्ड अप्ठेरोमा पर्नुभएको आँकलन गरिएको छ । हिजो मात्र हरिबोल गजुरेलले एउटा अन्तर्वार्तामा ‘यस्तै अवस्था रहेमा प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्रमा समेत जान नसक्ने अवस्था सिर्जना हुनसक्ने’ भनेर घुमाउरो तवरले चुनौती दिएका छन् । दाहालले आवश्यकताभन्दा बढी वर्षमान पुन र जनार्दन शर्माहरुलाई अवसर दिएकोमा पनि अन्य धेरै पूर्व माओवादी नेताले चित्त दुखाएको अनुमान गरिएको छ ।
हिजोको जनयुद्धकाल र त्यसपछिको एक दशक एमाओवादी नेताहरु मन परे पनि नपरे पनि प्रचण्ड मातहत रहन बाध्य थिए । तर, एकीकरणपछि उक्त अवस्थाको अन्त्य भएकाले उनीहरुले गुट परिवर्तन गरेको हुनसक्ने बताइन्छ । साथै, पूर्व एमाओवादीमा योगदानको हिसाबले पुन र शर्मा कनिष्ठ मानिन्छन् । टोपबहादुर रायमाझीले हाकाहाकी आफू २०४२ सालको केन्द्रीय सदस्य भएकाले पार्टीमा प्रचण्डपछिको वरिष्ठ आफू मात्रै रहेको बताउने गरेका छन् । उता, हरिबोल गजुरेलको पनि त्यस्तै दाबी छ ।
तर,जनयुद्धमा समेत कमाण्डरको दर्जा उनै पुन र शर्माले पाएका थिए । संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि मन्त्रीको अवसर पटक पटक यिनैले पाएपछि उपप्रधानमन्त्रीसमेत खाइसकेका पटके मन्त्री रायमाझी, कृषिमन्त्रीबाहेक कुनै अवसर नपाएका गजुरेल, अभावको जिन्दगी बिताउदै आएका मणि थापाहरुले आफू जिल्लिएको अनभूति गर्दै आएका थिए । एकपछि अर्को अवसर सँधै एकैथरिलाई मात्र दिएकाले पनि प्रचण्डप्रति अरुको असन्तुष्टि बढ्नु स्वाभाविक भएको बताइएको छ ।
टिप्पणीहरू