प्राज्ञ न्यौपानेलाई दुर्व्यवहार गर्ने सिडिओले माफी मागेपछि...
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीलाई दुर्व्यवहार गरेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले माफी मागेका छन् ।
राष्ट्रिय परिचय पत्रको क्रममा जिल्ला प्रशासन कार्यालय गएका डा. न्यौपानेलाई प्रजिअ अर्यालले दुर्व्यवहार गरेपछि डा. न्यौपानेले घटनाको विषयमा बेलिबिस्तार लगाउँदै फेसबुकमा लामो स्टाटस् लेखेको थिए । उक्त घटनालाई लिएर प्राज्ञिक, साहित्यिक क्षेत्र र नागरिक समाजले कडा शब्दमा निन्दा गरेका हुन् ।
उनीहरुले प्रजिअ अर्यालले माफी नमागेसम्म आन्दोलन गर्ने चेतावनीसहित विज्ञप्ति प्रकाशित गरेका थिए । त्यससम्बन्धी समाचार जनआस्था डट कममासमेत प्रकाशित भएको थियो । उक्त समाचारपछि प्रजिअ अर्यालले गल्ती स्वीकार्दै नवलपरासीका विभिन्न संघसंस्था र स्थानीय माओवादी केन्द्रका नेताका सामुन्ने गल्ती स्वीकारेको बताइएको छ । उक्त विषयमा मेलमिलाप भएको उल्लेख गर्दै डा. न्यौपानेले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै एक विज्ञप्ति जारी गरेका छन् ।
यस्तो छ डा. न्यौपानेको विज्ञप्तिको विवरण :
सम्माननीय प्रधानमन्त्रीज्यू,
माननीय गृहमन्त्रीज्यू,
मैले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बसुप) का प्रमुख जिल्ला अधिकारीज्यूको कार्यकक्षमा ममाथि गरिएको दुर्व्यवहारबारे मिति २०८०/०१/०४ गते पोष्ट गरेको विषयले निकै व्यापकतासहित चर्चा पायो । मप्रति गरिएको दुर्व्यवहारबाट यस मुलुकका पूर्व प्रमुख जिल्ला अधिकारीज्यूहरू लगायत प्राज्ञिक जगत्, भाषा– साहित्य, कला र संस्कृति क्षेत्रका विशिष्ट विद्वान् व्यक्तित्वहरू, मेरा प्रिय अग्रज र अनुज स्रष्टाहरू, प्यारा शिष्य, शिक्षाहरू, विभिन्न साहित्यिक संघ संस्थाहरू निकै दुःखित र चिन्तित भएको मैले पाएँ । देश विदेशबाट हजारौं कमेन्टका साथै कतिपय व्यक्ति र संस्थाहरूले यस्तो कार्यको भत्र्सना गर्दै वक्तव्य नै जारी गर्नुभयो । स्थानीय तहदेखि राष्ट्रिय स्तरका पत्रकारहरू मित्रहरूले यसलाई समाचारको रूप दिई व्यापक बनाउनुभयो ।
धरहरा पुनर्निर्माण अभियानका स्वतन्त्र अभियन्ता ध्रुव गजुरेलले त धरहराको टुप्पोबाट मेरो न्यायका लागि आन्दोलन नै घोषणा गर्नुभएको वक्तव्य समेत पढ्ने अवसर मिल्यो । यी सबै कुराले मलाई शक्ति मिलेको थियोे ।
यसै बिच नेकपा माओवादी केन्द्रबाट कल्पना नै गर्न नसकेको सहयोग मैले पाएँ । मप्रति भएको अभद्र व्यवहारको निन्दा गर्दै यस पार्टीका केन्द्रीय सदस्यलगायत दर्जनौं नेता कार्यकर्ताहरू भोलिपल्ट नै अर्थात् मिति२०८०/०१/०५ का दिन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुग्नुभयो । उहाँहरूले मलाई पनि बोलाएर मेरै उपस्थितिमा विषयको उठान गरियो । यसमा वाईसिएल नेपालको पनि सहभगिता थियोे ।
यस अवसरमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालज्यूले आफूबाट ठुलो गल्ती भएको र यस गल्तीलाई आफूले एउटा दुर्घटनाको रूपमा लिएको बताउँदै अत्यन्त नम्र भएर क्षमायाचना गर्नुभयो । यसरी नै मेरो योग्यता र पेसाप्रति अपमानजनक शब्द प्रयोग गर्ने कर्मचारी सुनीलदत्त कँहारले आफूबाट भएको गल्ती स्वीकार गर्दै यसका लागि जस्तोसुकै सजाय भोग्न तयार रहेको छु भन्दै क्षमायाचना गर्दै मेरा खुट्टा समाउन खोज्नुभयो । मैले खुट्टा समाउन दिइनँ, मैले आजसम्म कसैलाई सजाय दिएको छैनँ, तपाईंलाई पनि कुनै सजाय दिन चाहन्नँ भन्दै क्षमादान गर्दै तपाईं अब उपरान्त सुध्रिनुहोस् भनेँ ।
यसपछि उपस्थित सबैले खुसी व्यक्त गर्नुभयो । सामूहिक तस्बिरहरू खिच्ने काम भयो । यसरी यस विषयको समाधान गरिएको म सबैलाई जानकारी गराउँछु । यस सन्दर्भमा मलाई सहयोग गर्नुहुने सबै पक्षलाई हार्दिक कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्दछु । यो विषय प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयमा समेत पुगेको हुनाले यसमा सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृह मन्त्रीज्यूलाई सम्बोधन गरिएको हो ।
डा. घनश्याम न्यौपाने परिश्रमी
हाल– कुलपति र, बर्दघाट प्रज्ञाप्रतिष्ठान,
नवलपरासी (बसुप) लुम्बिनी प्रदेश ।
टिप्पणीहरू