तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
कैलालीको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । गाउँपालिकाले तीन महिनादेखि तलब नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
माघदेखि तलब नपाएका ५७ स्थायी स्वास्थ्यकर्मीले गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । जसमा वैशाख १० गतेबाट कालोपट्टी बाँधेर काम गर्ने, वैशाख १६ गतेबाट गाउँपालिकालाई नियमित स्वास्थ्य रिपोर्टबारे जानकारी नगराउने लगायत छन् ।
आउँदो वैशाख १५ गतेभित्र तलब नपाए स्वास्थ्य सेवा नै ठप्प पार्ने स्वास्थ्यकर्मीहरुको चेतावनी छ । गाउँपालिकाको स्वास्थ्य संयोजक नरेश चौधरीलेले आफूहरुको माग सम्बोधन नगरेमा स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने बताए ।
‘हामीले तलब दिन माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाइसकेका छौं । १५ गतेसम्म कालोपट्टी बाँधेर काममा खटिन्छौं । तैपनि तलब हात परेन भने हामी चरणबद्ध आन्दोलनमा जान्छौं’, उनले भने ।
यता, गाउँपालिकाका सूचना अधिकारी यगम कलेल कैलारीको मात्र नभई अन्य स्थानीय तहको अवस्था पनि उस्तै रहेको बताए । प्रदेश सरकारले रकम नपठाएपछि कर्मचारीलाई तलब खुवाउन नसकिएको उनको भनाइ छ ।
टिप्पणीहरू