प्रतिबन्धित क्रिप्टोकरेन्सी किन चाहियो विनोद चौधरीलाई ?
डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले संसद बैठकमा क्रिप्टोकरेन्सीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने धारणा राखेका छन् । डलर अपचलन गरेको, व्यवसायमा पारदर्शिता नअपनाएको,विदेशमा लगिएको डलरको स्रोत नखुलेको र उता कमाएको आम्दानीको कौडी नेपाल नल्याएको आरोप लागेका उनले क्रिप्टोकरेन्सीको प्रतिबन्ध फुकुवा गरेर विदेशी लगानी भित्र्याउन सकिने परम्परागत ‘मारवाडी सल्लाह’ दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेटसम्बन्धी प्रारम्भिक छलफलमा भाग लिँदै उनले सरकारलाई क्रिप्टोकरेन्सी लगानीकर्ता भित्र्याउन र व्यापार घाटा कम गर्न सल्लाह दिएका छन् । जबकि नेपाल राष्ट्र बैंकले उक्त डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाएको छ । क्रिप्टो कारोबार नगर्न पटक पटक सार्वजनिक सूचना जारी गर्दै आएको छ ।
सानो अर्थतन्त्र भएको हाम्रो जस्तो अविकसित समाजलाई क्रिप्टोमा लगानी गर्न दिनुपर्ने चौधरीको मागले मुलुक नै टाट पल्टनसक्ने विज्ञहरु बताउँछन् । भारत,बंगलादेश, श्रीलंका,संयुक्त अरब इमिरेट्स,चीन र अफ्रिकाका विभिन्न मुलुकमा होटललगायत व्यवसाय सञ्चालन गर्दै आएका उनलाई नेपाल टाट पल्टेमा कुनै अप्ठेरो नपर्ने भएकाले पनि आफ्नै दलका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सल्लाह दिएको एकथरीको विश्लेषण छ ।
उनले संसदमा बोलेका छन्, ‘नेपाललाई २१ औं शताब्दीको क्रिप्टो माइनिङको हब बनाउन सकिन्छ । यसका लागि गुणस्तरीय बिजुली आवश्यक पर्छ । क्रिप्टो माइनिङ गरेर निर्यात गर्छ भने त्यसमा प्रतिबन्ध लगाउन जरुरी छैन । यसका लागि विशेष कार्यक्रम नै घोषणा गर्न सक्छौं र ठूला लगानीकर्तालाई ल्याउन सक्छौं । यो पनि हाम्रो व्यापार घाटा घटाउने कोशेढुंगा सावित हुनसक्छ ।’
संसदमा कानुन निर्माण गर्ने भूमिकामा रहेका व्यापारीलाई क्रिप्टोमा लगानी सम्बन्धमा नेपाल राष्ट्र बैंकले २०७४ सालदेखि पटक पटक सूचना जारी गरेर सर्वसाधारणलाई सूचित गराउँदै आएको छ । यसबीच पाँच पटक सूचना जारी गरिएको छ ।
पछिल्लो पटक चैत २० गते क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण गरेर १५ पृष्ठको पूर्ण पाठ वेवसाइटमा राखिएको छ । क्रिप्टोकरेन्सीमा गरेको लगानी किन जोखिमपूर्ण हुन्छ ? भनेर जानकारी गराउँदै नेपाल राष्ट्र बैंकले भनेको छ, ‘क्रिप्टोकरेन्सीलाई मुद्रा भन्ने गरिएता पनि यो कुनै सार्वभौम मुलुकले जमानत/सुरक्षण राखी जारी गरेको मुद्रा होइन । यसलाई निजी क्षेत्रका कुनै निश्चित व्यक्ति/समूहले जारी गर्ने हुँदा यसमा गरिएको लगानीको कुनै प्रत्याभूति हुँदैन । तसर्थ यसमा गरिएको लगानी जोखिमपूर्ण हुन्छ ।’
क्रिप्टोकरेन्सी आतंकवादमा लगानी गर्ने गतिलो माध्यम हुने भएकाले धेरै मुलुक यसतर्फ संवेदनशील छन् । त्यसैगरी यो मुद्रा सम्पत्ति शुद्धिकरणको पछिल्लो विश्वव्यापी मान्यता विपरीत भएको अवस्थालाई पनि डलर अर्बपति माननीयले संसदमा बोल्दै गर्दा बुझ पचाएको पाइन्छ ।
उता,अमेरिकामा क्रिप्टोकरेन्सीमा लगानी गरेका कारण दुई वटा बैंक हालै टाट पल्टेका छन् । क्रिप्टोमा मुख्य लगानी गर्दै आएकामध्ये सिग्नेचर बैंक टाट पल्टेको छ । उक्त बैंकले पाक्सोस ट्रष्ट,सेल्सियस नेटवर्क र अन्य नामका क्रिप्टोमा लगानी गरेको थियो । त्यसैगरी सिलिकन भ्याली बैंकले पनि ५ करोड अमेरिकी डलर बराबर रकम क्रिप्टोमा लगानी गरेको थियो । उक्त बैंकले पनि क्रिप्टोकरेन्सी भेन्चर क्यापिटल फण्डस, एण्डे्सेन होरोविज, पाराडिज्म र पान्टेरा क्यापिटलमा लगानी गरेका कारण उठ्नै नसक्नेगरी डुबेको थियो । चौधरीले अरुलाई सल्लाह दिइरहँदा आफ्नै प्रमुख लगानीको नबिल बैंकबाट किन यस्तो "पुण्य कर्म" को थालनी नगरेका होलान् ?
टिप्पणीहरू