गणतन्त्रमाथि नै देखिएकोे गाँठो ?

गणतन्त्रमाथि नै देखिएकोे गाँठो ?

– जानुका धमला

राजनीतिक दलमा निर्णायक रहेका केहीलाई लागेको छ, ‘लोकतन्त्रलाई मनलाग्दी उपयोग गर्दा, चिथोर्दा र लुछ्दा फरक पर्दैन । संविधानका व्यवस्थालाई यान्त्रिक अनुशरण गरे पुग्छ, आमनागरिकका भावनात्मक पक्षको ख्याल गर्नु पर्दैन । हाम्रोजस्तै खेतीपाती गरिने भूपरिवेष्ठित पहाडी मुलुक स्वीट्जरल्याण्डले दोस्रो विश्वयुद्धपछि चामत्कारिक प्रगति गरेर संसारलाई नै आश्चर्यमा पारेको थियो ।

शक्तिशाली राष्ट्रहरू जर्मनी, फ्रान्स, इटाली र अष्ट्रियाबाट घेरिएको यस सानो पहाडी राष्ट्रले आफूलाई युद्धबाट निरपेक्ष राख्यो, बरु ती राष्ट्रलाई हतियार बेच्यो । समय क्रममा विश्वविख्यात रोलेक्स घडी, औषधि, चकलेट, जवाहरात, केमिकल्सलगायत वस्तुको निर्यातकर्ता भयो र भर्खरै शान्ति प्रक्रिया अवलोकन गर्न नेपाली नेताहरूलाई उसैले कोलम्बिया पठायो ।

नीति राजनीतिक प्रणाली, त्यसको स्थायित्व र राजनीतिक दलको अठोटबाट निर्धारित हुन्छ । वैयक्तिक क्षुद्र स्वार्थबाट माथि नउठेसम्म देशको उन्नति प्राथमिकतामा पर्दैन र सम्भव पनि छैन । बडो दुःखका साथ भन्नुपर्छ कि राजनीतिका नाममा आफ्नो सर्वश्व दिएका मानिसले नै राजनीतिको मूल आत्मालाई बिसर्जन गरिदिए । र, समय क्रममा आफूलाई सम्मानित राजनीतिकर्मीको रूपमा जोगाउन सकेनन् । देश, समाज र समग्र मानव जातिका निम्ति आफ्नो जीवन समर्पण गरेका व्यक्तिले नैं पतनको बाटो समाते । नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र त्यसले खोजेको आर्थिक, सामाजिक सुधारको आवश्यकतालाई तिलाञ्जली दिएर आफू त बिग्रे बिग्रे, समाजलाई समेत त्यसको दुश्चक्रमा फसाए । मूल कुरा त राजनीतिको केन्द्रीय तत्वमाथि निर्मम प्रहार गरे । राज्यको उत्पत्तिसँगै विकसित राजनीति शास्त्रका आधारभूत मान्यताको समेत खिल्ली उडाए ।

युवापुस्ता समेत बरु कुनै दह्रो इमानदार मानिस आइदेओस् र देशलाई उँभो लगाइदेओस् भनेर सोच्न थालेको छ । र, ठूला दलहरूलाई चुनावमा चुनिचुनी हराइँदैछ । के हामीले त्यही पर्खेको हो ? नत्र किन नसुध्रिएको ? उच्च शिक्षाको लागि विदेशिन बाध्य लाखौँ युवा जीवनयापनको लागि खाडीको ५० डिग्रीमा जीवन जोखिम मोल्न तयार हुनेहरूले यो सोच्नु नाजायज पक्कै होइन । जनताको दुःख दर्दको कुरा उठाउँदा चाणक्यले मगधका राजा धनानन्दबाट घोर अपमान सहनुपर्‍यो।

तक्षशिला विश्वविद्यालयबाट राजनीति र अर्थशास्त्रमा उच्च शिक्षा प्राप्त गरेका आचार्य विष्णु गुप्तले नोकरीका लागि दरबारमा दरखास्त दिँदा धनानन्दले चरम बेइज्जत गरेपछि उनले मगधबाट नन्द वंशको जरा उखेल्ने प्रतिज्ञा गरे र अन्ततः सफलता प्राप्त गरे ।

यस ऐतिहासिक घटनाले के सिद्ध गर्छ भने जहाँ वा जुन देशमा योग्य र दक्ष व्यक्तिको कदर हुँदैन, त्यहाँ समयक्रममा ठूलो विद्रोह अपरिहार्य छ । के नेपाल त्यही दिशातर्फ अग्रसर हुँदै हो ? हामीले द्वन्द्व भोगेको जम्मा दुई दशक पनि पूरा भएको छैन । अब द्वन्द्व आवश्यक छ कि विकास ?

सरकारका एकजना उच्चपदस्थ नेताले भर्खरै दिएको अभिव्यक्ति निकै चिन्ताजनक छ । उनका अनुसार कर्मचारीलाई तलब खुवाउनसमेत ऋण काढ्नुपर्ने अवस्था छ । यस्तो स्थितिमा कसले पुपर्‍योयो ? आजसम्म देश कसले चलायो ? यसको जिम्मा कसले लिने ? कम्तीमा विनम्रतापूर्वक कमजोरी स्विकार्नु पर्दैन ? यतिबेला नेपालका नागरिकको आशा मरेको छ र यसका कारणमध्ये राजनीतिक दल प्रमुख हुन् । दलहरूको कार्यसम्पादन यति निराशाजनक छ कि नागरिकले आफ्नो भविष्य सुरक्षित देख्न छाडे । गणतन्त्रपछि झण्डै दुई दशक देश चलाउँदा आजको दुरवस्था छ ।

यसको कारक बनेका पात्र र प्रवृत्तिले जिम्मा लिने कि नलिने ? नयाँ पुस्ता दुनियाँमा राम्रोसँग चलेका गणतन्त्रबारे भलिभाँती जानकार छ । ऊ नेपालको लोकतन्त्रलाई त्यसैसँग दाँजेर हेर्छ । संसारमा भएका प्रगति हेर्छ र कारण केलाउँछ । उसलाई राम्रोसँग थाहा भइसकेको छ कि उन्नतिका विभिन्न कारणमध्ये नेतृत्व कुशलता र एजेण्डा नै हो । समयको पनि हिसाब गर्छ– संसारका विकसित देशले दुई दशकदेखि तीन दशकभित्र ठूलो उपलब्धि हासिल गरेका रहेछन् । हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको झण्डै दुई दशक भएछ । यो निकै लामो अवधि हो । लाओस, भुटानजस्ता भूपरिवेष्ठित, कृषिप्रधान र पहाडी मुलुकले कसरी चाँडै उन्नति गर्न सके र हामी किन पछि पर्‍यौँ ? युवा पुस्ताले चाल पाएको छ । कतिपय तानाशाह वा तानाशाही चलेका देशसमेत निकै अघि बढेका छन् । देशको उन्नति गर्ने तानाशाह पनि जनतामा लोकप्रिय भएका छन् । लोकतान्त्रिक प्रणालीमार्फत उन्नति गर्न नसकेको नेपालले के तानाशाह खोजेको हो ? 

कलिलो युवापुस्ता बरु कुनै दह्रो इमानदार मानिस आइदेओस् र देशलाई उँभो लगाइदेओस् भनेर सोच्न थालेको छ । के हामीले त्यही पर्खेको हो ? नत्र किन नसुध्रिएको ? नेपाली जनताले खोजेको एउटै कुरा हो, गरिखाने वातावरण । सरकार सबै जनतालाई न गरिखाने वातावरण सिर्जना गर्छ, न रोजगारी दिन्छ । बर्सेनि लाखौं युवा विदेश जान बाध्य छन् । गरिब जनताका लागि गुणस्तरीय शिक्षा दुर्लभ र लगभग असम्भवजस्तै छ । सरकारी शिक्षण संस्था राजनीतिक अखडा बनेका छन् । बिरामी भएको गरिब नेपाली उपचार नपाएर तड्पिनुपर्छ ।

उद्यम व्यापार गर्नेहरूलाई सहुलियतपूर्ण ऋण दिन सक्दैन । बैंकहरू मिटर ब्याजी साहुजस्ता छन् । देशका उद्योगधन्दाको हालत नाजुक छ । सरकारसँग नयाँ उद्योगधन्दा खोल्ने कुनै योजना देखिँदैन । प्रचुर सम्भावना बोकेका पर्यटन र धार्मिक सम्पदाले उद्योगको रूप लिन सकेका छैनन् । देशको अर्थतन्त्र रेमिट्यान्सले जसोतसो धानेको छ । सरकारी अधिकारीहरूमा गम्भीरता देखिँदैन । सरकारको ध्यान देशको अवस्था र जनताको हालतप्रतिभन्दा अन्य कुरामा देखिन्छ । साठी वर्षअघि दक्षिण कोरियाभन्दा राम्रो आर्थिक अवस्था भएको नेपालको प्रतिव्यक्ति आय डेढ हजार पनि पुगेको छैन । गाउँ र शहरका गरिबहरूको हालत चिन्ताजनक छ । मुख्य कुरा त नयाँ पुस्ता राजनीतिलाई घृणा गर्छ । यस्तो कसरी भयो ? र, कारण के हो ?

सबैभन्दा उदेकलाग्दो कुरा त के छ भने राजनीतिक दल आफ्नो मूल्य–मान्यतामा एक्लै उभिनै नसक्ने र अड्नै नसक्ने भएका छन् । अबका निर्वाचनमा दलीय प्रतिस्पर्धाभन्दा गठबन्धनका दाउपेच हुन थालेका छन् । कालान्तरमा यसले बहुदलीय र खासगरी बहुलताको आत्मालाई मार्ने काम गर्छ । राजनीतिक दलका कार्यकर्ता म फलानो दलको व्यक्ति भन्न हिचकिचाउन थालेका छन् । हामीले राम्रो गर्न नसकेको कुरा सबैभन्दा बढी हामीलाई नै थाहा छ । जनता त भुक्तभोगी नै हुन् । अझै पनि जनताले दल सुध्रिउन् भनेका छन् तर सुधारको एकरत्ति छनक छैन ।

सरकारमा हुनेहरू अवसर प्राप्तिको रुखो र निरपेक्ष उत्सव मनाइरहेका छन् भने सरकार बाहिर हुनेहरू शासनारुढ हुने दिन गनी बसेका छन् । आर्थिक समृद्धिको कुनै एजेण्डा छैन । विगतको अकर्मण्यताप्रति कुनै पश्चाताप छैन । यस्तो चालले कहाँ पुर्‍याउँछ ? अब नयाँ शक्तिको उदयलाई कसैले रोक्न सक्ने छैन । नयाँ शक्ति भन्नाले पुरातनवादी शक्तिको नयाँ कलेबर हुन सक्छ या बिल्कुलै नयाँ पनि हुन सक्छ ।

(जनआस्था साप्ताहिकबाट साभार)

 

टिप्पणीहरू