अब अतिले खति निम्त्याउने डर
– श्याम रिमाल
– कुनै लाइनका लागि वादविवाद गर्ने जाँगर छैन अब ।
– चिन्न कोही बाँकी छैनन् ।
आइतबार एक नेकपा (एमाले) कार्यकर्ताले दिक्क मान्दै मसँग च्याट गरे । प्रसङ्ग नक्कली भुटानी शरणार्थी प्रकरण नै थियो । सोझा, इमान्दार र प्रतिबद्ध मधेसका ती कार्यकर्ताले प्रदेशसभातर्फ प्रत्यक्ष त के समानुपातिक टिकट पनि पाउँदैनन् । आर्थिक हैसियत छ्र्रैन र नेताहरूसँग बाक्लो आउजाउ छैन । बरु कहिलेकाहीँ केन्द्रका नेताहरूले मधेस जाँदा उनको खोजीचाहिँ गर्छन् रे ! त्यसैमा मख्ख छन् । एमाले नेता पनि मुछिएको भनिएको सो घटनाबाट खिन्न भएका उनी पार्टीका पक्षमा वाद, प्रतिवाद गर्ने मुडमा थिएनन् र विषयान्तर गरिहाले ।
गण्डकी प्रदेशसभा सदस्य भइसकेका एमालेकै नेताले स्वीकारोक्तिका भाषामा ‘कानुनले जे भन्छ त्यही हुनुपर्छ’ भने । उनले त अझ गहिरो कुरा पो गरे, ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि महाभियोग लगाउने दाउमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र दाहाल छन् किनभने राईको पनि यस प्रकरणमा नाम आएको छ । दाहाल क्यान्टोन्मेन्टको हिसाबबारे छानबिन नहोस् भन्ने चाहन्छन्, नेपाल ललिता निवास घटनामा जोगिन चाहन्छन् । देउवा अथाह सम्पत्तिका मालिक छन् । अनि दाहालहरू संसद्मा विचाराधीन भ्रष्टाचारविरुद्धको विधेयकमा घटनाको पाँच वर्षपछि छानबिन गर्न पाइन्न भन्ने बुँदा राख्न चाहन्छन् किनभने पश्चात्दर्शी कानुनले अघिल्लो मुद्दा हेर्न पाउँदैन ।
त्यसैले त गएको आइतबार नै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब त अति भयो भनेका हुन् । आफ्नो फेसबुक सामाजिक सञ्जालमा सांसद थापाले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर सोचेँ, जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !” कुरो पार्टीको आन्तरिक प्रजातन्त्रप्रति लक्ष्यित भए पनि सामाजिक सञ्जालमा नै लेखेर पार्टीकै पदाधिकारीले निराशा पोख्नाले ‘अति’ले सबलाई पोलेको रहेछ भन्ने मालुम भयो ।
अति कुन ठाउँमा भएको छैन ? सरकारमा, संसद्मा, अदालतमा, चौथो अंगमा, पाँचौँ अंगमा ? सडकमा, खोलामा, आकाशमा, जङ्गलमा ? इनफ इज इनफ जस्तै अब अति नै अति भयो । सन्तोषको ठाउँ कतै छैन । न पुराना न नयाँ । नयाँको गति देख्नुभएन ? अति पुरानाले नै हो नयाँलाई सिकाउने । नयाँले झन् नयाँलाई सिकाउँछ । चोखा कोही छैनन् । खासमा कर्मचारी पनि हुन् नेतालाई खान सिकाउने । खाने दुलो उसले देखाइदिएपछि नेताको चमकधमक पाँच वर्षमा कसरी मौलाउँछ, ०४८ सालदेखि देखिएको छ नै !
यस्ता मामिलामा भने मिडियाचाहिँ चोखिए हुन्थ्यो कालो बादलमा चाँदीको घेरा भएर वा हुरीआँधी, घना अन्धकारबीच पिलपिले नै सही दियो वा टुकीजस्तो । मिडिया वा मिडिया अनुहारका युट्युब वा सामाजिक सञ्जालले गरिदिएको यो एक्सपोजले हाम्रा तारनहार भनिएका सक्कली अनुहार त देख्न पाए जनताले । अदालत र अदुअआ बलिया र स्वच्छ भइदिए त अहिलेको यो नक्कली प्रकरणमा राजनीति गर्ने भनाउँदाका मुकुण्डो त उतारिनेवाला छ । कानुनले अबला महिला भन्दैन, अपांगतायुक्त पुरुष पनि । आगे पशुपतिनाथ भरोसा, मुलुक उनैले बचाएको भनी मान्नुपर्ला । अति सर्वत्र वर्जयेत् ।
टिप्पणीहरू