भारतीय प्रधानमन्त्री पहिलो पटक पपुवा न्युगिनी जाँदै

भारतीय प्रधानमन्त्री पहिलो पटक पपुवा न्युगिनी जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीन वटा मुलुकको भ्रमणमा निस्कने तयारी छ । मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमणमा भोलि जान लागेको बताइएको छ ।

पपुवा न्युगिनी भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीहरुमा मोदी पहिलो हुनेछन् । भारतीय विदेशमन्त्रालयका अनुसार जापानमा हुन लागेको विश्वका सात ठूला औद्योगिक तथा विकसित मुलुकहरुको समूह जी ७ बैठकमा सहभागी हुन जाने क्रममा पपुवा न्युगिनी र अष्ट्रेलियाको पनि भ्रमण गर्न लागिएको हो ।

सो क्रममा भारतीय प्रधानमन्त्री इण्डिया प्यासिफिक आइल्याण्डस कोपरेसन र क्वाड लिडर्स सम्मेलनमासमेत सहभागी हुनेछन् । भ्रमणको शुभारम्भ गर्दै प्रधानमन्त्री मोदी तीन दिनको निम्ति भोलि हिरोशिमा पुग्ने कार्यक्रम छ । त्यहाँ जी ७ को बैठक हुँदैछ । 

प्रधानमन्त्री मोदी पपुवा न्युगिनीमा २२ तारिखका दिन हुन लागेको हिन्द र प्रशान्त महासागरका टापु राष्ट्रहरुको सम्मेलनमा सहभागी भएपछि सोही दिन राति अष्ट्रेलिया पुग्नेछन् । हिन्द र प्रशान्त महासागरका टापु राष्ट्रहरुको सम्मेलनमा भारतसहित १५ मुलुक सहभागी हुँदैछन् । 

जसमा फिजी, पपुवा न्युगिनी, टोङ्गा, टुभालु, किरीबाटी, सामोआ, भानुआतु, नियुए, माइक्रोनेसिया, मार्शल आइल्याण्ड्स, कुक आइल्याण्ड्स, पालाउ, नाउरु र सोलोमन आइल्याण्डसले सहभागिता जनाउने भारतीय समाचार एजेन्सी इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

अष्ट्रेलियामा हुने क्वाड लिडर्स सम्मेलनमा अमेरिकी राष्ट्रपति, जापानी प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री र अष्ट्रेलियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । तर, ह्वाइटहाउसले अन्तिम क्षणमा राष्ट्रपति बाइडेन जापानमा हुने जी ७ को सम्मेलनमा भाग लिएपछि अमेरिकी फर्कने बताएकाले क्वाड लिडर्स सम्मेलनमा जापान, भारत र अष्ट्रेलियका प्रधानमन्त्रीहरु मात्रै सहभागी हुने भएको छ ।

टिप्पणीहरू