संसदमा रमाइलो : रघु पन्तको ‘ह्यान्डसम’ भन्ने अभिव्यक्तिमा प्रधानमन्त्रीको ‘तौल घटेको’ जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा सांसदहरुसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । त्यसक्रममा प्रधानमन्त्री र सांसदहरुबीच केही रोचक र घोचक सवाल–जवाफसहित ख्याल ठट्टासमेत भएको छ ।
आज दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रम थियो । प्रमुख राजनीतिक दलसहित साना पार्टी र स्वतन्त्र सांसद गरि २० जनाले प्रधानमन्त्रीलाई २० वटा प्रश्न सोधे । सांसदहरुले अहिले सर्वाधिक चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणदेखि माओवादी लडाकू शिविरमा भएको भनिएको अनियमितता, प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण, सरकारको कामकारवाही, सुशासनलगायत विविध समसामायिक राजनीतिका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका सबै प्रश्नको पालैपालो जवाफ मात्र दिनुभएन कतिपय प्रश्नको पूरक जवाफ पनि दिनुभयो । त्यसक्रममा उहाँले दरबार हत्याकाण्डसहित गैरहत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डको पनि छानबिन गरिनुपर्ने धारणा राख्नुभयो ।
प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री र सांसदहरुबीच कडा सवाल जवाफ मात्र भएन घोचपेच र व्यग्य पनि भयो । प्रायः प्रतिनिधिसभामा एमालेबाट बोल्ने गरेका सांसद रघुजी पन्तले मुख्य प्रश्नमा प्रवेश गर्नुअघि प्रधानमन्त्री ‘ह्यान्डसम’ र खाइलाग्दो देखिएको भन्दै ठट्टा गरेका थिए ।
दौरा सुरुवाल लगाउँदा प्रधानमन्त्री खाइलाग्दो देखिएको भन्दै उनले नेपाली जनता पनि खाइलाग्दा देखिउन भन्दै प्रधानमन्त्रीलाई कटाक्षसमेत गर्न भ्याए । ‘प्रधानमन्त्रीज्यू पहिलेभन्दा ह्यान्डसम देखिनुभएको छ । झन् दौरा सुरुवाल लगाएर आउनुभएको छ, खाइलाग्दो पनि देखिनुभएको छ,’ पन्तले भने, ‘कामना छ, प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभएको छ, नेपाली जनता पनि छिटो खाइलाग्दा देखिउन् ।’
त्यसको जवाफमा प्रधानमन्त्रीले आफूलाई ह्यान्डसम र खाइलाग्दो देखेकोमा धन्यवाद दिनुभयो । ‘खाइलाग्दो देख्नुभयो धन्यवाद, तर मेरो तौल घटेको छ,’ उहाँले भन्नुभयो ।
त्यसअघि प्रधानमन्त्रीलाई प्रश्न सोधेका राप्रापा सांसद ज्ञानबहादुर शाहीले पनि राष्ट्रिय पोशाक लगाएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्रीले त्यसमा भने कुनै पनि टिप्पणी गर्नुभएन ।
टिप्पणीहरू