यातना शिविरको त्यो अमर प्रेम
हेलेना सित्रोनोभा स्लोभाककी हुन् । बुबा त्यहाँको सभागृहमा मञ्चन गरिने नाटकका लागि गीत लेख्थे । बुबाकै पदचाप पछ्याउँदै रंगमञ्चको कलाकार बनिन् । अभिनय भनेपछि हुरुक्क हुन्थिन् । गाउँथिन् पनि । युरोपमा दोस्रो विश्वयुद्ध शुरु भइसकेको थियो । जर्मनीका तानाशाह एडोल्फ हिटलर संसारबाटै यहुदी जातिलाई सफाया गर्ने अभियानमा लागेका थिए । जर्मन सरकारले युद्धकाताका युरोपमा सयौं यातना गृह स्थापना गरेको थियो, जहाँ राजनीतिज्ञ र यहुदीहरूलाई बन्दी बनाइएको हुन्थ्यो । तीमध्ये दक्षिण पोल्याण्डमा स्थापित आस्वित्ज क्याम्प सबैभन्दा ठूलो थियो । सन् १९४० देखि सन् १९४५ सम्म सञ्चालित उक्त क्याम्पमा ५ वर्षको अवधिमा १३ लाख जना थुनिएमध्ये ११ लाखको हत्या गरिएको थियो । जसमा ९ लाख ६० हजार त यहुदी नै थिए । सन् १९४२ मा हेलेना १९ की थिइन् । दुर्भाग्यवश, उनी पनि यहुदी नै थिइन् ।
सन् १९४२ मार्चको एकदिन स्लोभाक सैनिकले स्कुल, कलेज, रंगमञ्च सबैतिर घेरा हाल्न पुगे । युवालाई छानीछानी जम्मा पारे । ट्रकमा कोचेर रेलवे स्टेशन लगे । उनीहरूलाई पोल्याण्डको आस्वित्जमा राम्रो काम दिलाइदिने आश्वासन दिइएको थियो । यथार्थमा स्लोभाक सेनाले जर्मनीको नाजी सेनालाई युवाहरू बेचेको थियो । राति नै रेल चढाएर सबैलाई आस्वित्ज शिविर लगियो । त्यो दिन त्यहाँ लगिएकामा ९ सय ९७ जना युवतीमध्ये हेलेना पनि एक हुन् । शिविरमा उनको पहिलो काम थकाइलाग्दो र खतरनाक थियो– भत्किएको भवनको भग्नावशेष साइटमा सार्ने– तर चाँडै ‘क्यानाडा’ भनिने बिरकेनाउको ठूलो र सुरक्षित गोदाममा काम पाइन्, जहाँ उनले ग्यास च्याम्बरको विरोध गरेकाहरूसँग काम गरिन् । त्यहाँ ग्यास चेम्बरमा मारिएकाहरूका जुत्ता, लुगा र चश्माका पहाड थिए भने गहनाको थुप्रो । उनीहरू त्यहाँ पुगेको केही समय नबित्दै हेलेनाका भाइले भाग्ने प्रयत्न गरे । उनको अनुहार र हातलाई बुटले थिचेर र काँडेतारले गर्धनमा बाँधेर हत्या गरियो । त्यसैले हेलेना भन्थिन्, ‘त्यहाँ पुगेपछि नै लाग्यो, नाजीहरूको नजरमा हामी त मानव होइनौँ, पशु रहेछौँ ।’
फ्रान्ज वुन्स्च क्यानाडाका कमाण्डर थिए । सन् १९४२ मार्च २१ उनको २०औँ जन्मदिन । जन्मदिन मनाउन कैदीहरु भेला भए । हेलेनाले उनलाई आएको एउटा गीत‘लभ इट् वाज नट’ (प्रेम यो थिएन) गाइन्, अनि आफ्नै सुरमा नाचिन् । उनको स्वर सुरिलो त थिएन तर नराम्रो पनि होइन । जे जस्तो भए पनि फ्रान्जले उनको गायन र नृत्य मन पराए । जब गीत सकियो तब ताली बजाएर तारिफ गरे । हेलेनाले गाला रातो पारिन् । हेलेना र फ्रान्जले यसअघि एकार्कालाई देखेकै थिएनन्, यो नै पहिलो सक्षात्कार थियो तर फ्रान्जले पहिलो भेटमै हेलेनालाई आफ्नो मनमा बसाले भने हेलेनाको मनमा फ्रान्जप्रति कुनै प्रेम जागेन किनभने फ्रान्ज नाजी थिए, जो आफूलाई यहुदीभन्दा सर्वश्रेष्ठ नश्लका ठान्थे । जसरी नाजीहरू यहुदीलाई घृणा गर्थे, उनी पनि नाजीलाई उत्तिकै घृणा गर्थिन् । यसबीच एकदिन फ्रान्ज हेलेना श्रम गर्दै गरेको साइटमा पुगे र कसैले नदेख्ने गरी एउटा कागजको टुक्रा फ्याँके । हेलेनाले सो कागज कच्याककुचुक पारेर फ्याँक्न के लागेकी थिइन्, एउटा शब्द ‘लभ’ मा आँखा प¥यो । तैपनि, मनमा फ्रान्जप्रति कुनै प्रेम भाव जागेन । उनले सोचिन्, ‘नाजी सैनिकको प्रेममा पर्नुभन्दा मर्न उचित ।’ तर लगातारको देखादेखपछि उनको हृदय पनि फ्रान्जका लागि पग्लिन थाल्यो । फ्रान्जप्रति उर्लन थालेको प्रेमिल भावनालाई चाहेर पनि रोक्न सकिनन् । किनभने फ्रान्जले उनका लागि सुटुक्क कहिले बिस्कुट त कुनै दिन खानेकुरा र तकिया ल्याएर दिन थालेका थिए । एक दिन एउटा कलम र कापी पनि दिए । त्यसैको सहायताले एकअर्कोलाई मनको भाव व्यक्त गर्न थाले । यसै सिलसिलामा फ्रान्जले उक्त नर्कबाट उम्काउने वचन दिन भ्याए । यसरी उनीहरूले विस्तारै नाजी र यहुदीबीचको शत्रुता, घृणा र वैमनष्यताको अजंगको पहाडलाई ढालेर दुबै एकअर्कालाई प्रेम गर्न थाले ।
फ्रान्जले हेलेनालाई गर्न थालेको सहयोगको लाभ अरु कैदीले पनि उठाउन भ्याए । तर, केही कैदी उनलाई विश्वासघाती ठान्थे त कोही ईष्र्या पनि गर्थे । जसले फ्रान्जले दिने गरेको उपहारको मज्जा लिने गरे, उनीहरूले अन्य गार्डको आँखा छल्दै फ्रान्जको पत्र हेलेनासम्म र हेलेनाको प्रत्युत्तर फेरि फ्रान्जको हातमा पु¥याउनमा ठूलो मद्दत गर्न थाले । यसबीच, डिसेम्बरमा हेलेनालाई टाइफाइडले ग्रस्त पा¥यो । फ्रान्जकै सहयोगमा उनलाई गोदाममा सुत्ने व्यवस्था मिलाइयो र नाजी सैनिकहरूलाई दिइने पौष्टिक खाना ख्वाइयो जसले गर्दा उनी छिट्टै उठ्न सक्ने भइन् । बिमारीको बेला फ्रान्जले हेलेनालाई पागलसरह माया गरे । स्वास्थ्यको हेरचाह गरे । स्मरणीय छ, उनले आफ्नो र हेलेनाको फोटो राखेर एउटा लकेटसमेत बनाएका थिए, जुन पछि छोरीहरूलाई उपहार दिए । हुँदाहुँदा फ्रान्जमाथि हेलेना यतिबिघ्न हावी हुँदै गइन् कि कतिपय बखत आस्वित्ज यातना शिविरभित्र रहेका अन्य यहुदी कैदीमाथि फ्रान्ज जाइलाग्दा हेलेना उनको हातै समातेर रोक्न पुग्थिन् । फ्रान्ज पनि उनले रोकेपछि रुक्थे । कतिपय त्यहाँका कैदी आफैँ मर्न रुचाउँथे, कारण हुन्थ्यो– अमानवीय र क्रूर यातना । तर, हेलेना भाग्यमानी थिइन् जसले फ्रान्जलाई प्रेम गरेको र उनको भक्ति गरेकै कारण त्रासको जीवन भोग्नु परेन । बरु उनले त्यहाँभित्र हुने गरेको बर्बरतालाई कतिपय बेला आँखा चिम्लिदिने काम गरिन् ।
यातना शिविरमा नाजी सैनिक जवान र कैदीबीच यो खालको भातृत्व कायम हुनै पाउँदैनथ्यो । तर, उनीहरूको गहिरो सम्बन्धका कारण गर्दा अरु कैदीप्रति पनि सैनिक जवान नरम बन्न थाले । यहाँसम्म कि उनीभन्दा पहिल्यै आस्वित्ज पुगेकी दिदी रोजिन्कालाई त्यहाँबाट उम्काउनसमेत सफल भइन् । उनले फ्रान्जसितको आफ्नो प्रेम सम्बन्धबारे रोजिन्कालाई सबै बेलिबिस्तार लाइसकेकी थिइन् । रोजिन्कालाई भर्खर जन्मेकी शिशु र ६ वर्षको छोरीसहित त्यता पु¥याइएको थियो । जब हेलेनाले ग्यास चेम्बरमा खाँदेर मार्न तयार पारेको सूचीमा रोजिन्काको नाउँ पनि देखिन् । उक्त चेम्बरका जल्लादसँग रिहाइका लागि बिन्ती गरिन् । उनले यो पनि भनिन् कि रिहाइ गर्न नसक्ने हो भने दुबै बच्चासँगै मर्न दिनू । हेलेना ग्यास चेम्बरतर्फ हिँडेको खबर सुन्नासाथ फ्रान्ज दौडेर त्यहाँ पुगे । उनले ‘मृत्युको परी’ को नाउँले कुख्यात सैन्य अधिकृत जोसेफ मेङेललाई अनुरोध गरे कि रोजिन्का हाम्रोनिम्ति उपयोगी कार्यकर्ता बन्न सक्छिन् ।’ र, उनैको कुरा सुनेर रोजिन्काको नाउँ मृत्युदण्ड दिन तयार पारिएको सूचीबाट हटाइयो । तर, दुर्भाग्य, रोजिन्काले मात्र उन्मुक्ति पाइन् । दुवै शिशु ग्यास चेम्बरमै मारिए । फ्रान्ज र हेलेनाको प्रेम दुई वर्षभन्दा बढी चल्यो । यो कुरा शिविरभित्र ‘ओपन सिक्रेट’ जस्तै थियो । फ्रान्जका साथीहरू बेलाबखत’यति धेरै राम्री केटी हाम्रो भाग्यमा किन नभा’को होला !’ भनेर जिस्क्याउँथे ।
अन्त्यमा, रुसी लालसेनाले पोल्याण्डलाई जर्मनीबाट मुक्त पार्ने क्रममा उनीहरूको बिछोड हुन पुग्यो । लालसेनाले आस्वित्जमा बन्दी बनाइएका सम्पूर्णलाई रिहा गरे । रिहा हुनेमा हेलेना पनि थिइन् । बिछोडमा फ्रान्जले आफ्नो डायरीमा यसरी लेखे ‘उनको आँखामा आँशु थियो । उनले मलाई कहिल्यै नबिर्सन भनिरहिन् । हामीले अन्तिम पटक अँगालो मा¥यौं । लामो चुम्बन ग¥यौं ।’ उता, रिहाइपछि हेलेनाले फ्रान्जको डायरीबारे अनभिज्ञता प्रकट गरिन् । उनले फ्रान्जप्रति आफ्नो भावना भएको भने स्वीकारिन् । रिहाइपछि हेलेनाहरू हिँडेर स्लोभाकियाको आफ्नो गाउँ पुगे । भनिन्छ, स्वदेश फर्कने क्रममा लालसेनाहरूको तर्फबाट उनी दिनहुँ बलात्कृत भइन् । पछि यहुदी अभियन्तासँग प्रेम विवाह गरिन् र दुई छोराछोरीको आमा बनिन् । सन् १९४७ मा इजरायलको स्थापनापछि उनीहरू उतै लागे । सन् २००७ मा ७९ वर्षको उमेरमा उनको मृत्यु त्यहीं भयो । लालसैनिकले आस्वित्ज कब्जा गर्दा ज्यान जोगाएर भाग्न सफल फ्रान्ज दोस्रो विश्वयुद्ध सकिएको २६ वर्षपछि हेलेनालाई खोज्दै हिँड्ने क्रममा अष्ट्रियाको भियनामा पक्राउ परे । उनीविरुद्ध आस्वित्ज शिविरमा कैदीमाथि अत्याचार गरेको आरोपमा मुद्दा चलाइयो । तर, २ महिनामै रिहा भए । उनको मृत्यु सन् २००९ मा जर्मनीको हटलडोर्फमा भयो । हेलेनासँग अन्धो प्रेम गरेका उनले जर्मन युवती थेहासँग बिहे भइसकेपछि पनि हेलेनालाई खोज्दै हिँडे । थेहाले उनलाई त्यसो गर्न पटक–पटक रोक्थिन् । फ्रान्ज भन्थे, ‘हेलेनालाई म अति माया गर्थें । उनको प्रेमभावले नै मेरो चरित्रमा परिवर्तन ल्याइदियो । म खुंखार अत्याचारीबाट नरम हृदयको बन्न पुगेँ ।’
टिप्पणीहरू