नामुद मीटरब्याजी आरएनएसी सञ्चालक, कारवाहीमा सरकार बेखबर !
पछिल्लो केही महिनादेखि मुलुकभर मीटरब्याजबाट पीडितहरुले आफ्ना पीडा पोखेका छन् । राजधानी काठमाडौंमा तीन वटा समूहले लगातार प्रदर्शन र धर्ना आयोजना गरे । महोत्तरीदेखि काखे बालक च्यापेर पैदल आएका विशेषगरी पीडित महिलाहरुले केही महिनाअघि राजधानीको सडक तताए ।
प्रधानमन्त्रीलगायत मन्त्रीहरु संवेदनशील बनेपछि मीटरब्याज पीडितहरुलाई कारबाही गर्न कानुन संशोधन गर्ने र पीडितहरुको समस्या समाधान गर्ने वचन दिन बाध्य भए । तर, सरकारको नाकैमा रहेका मीटरब्याजीबारे सरकार र सरकारी निकाय बेखबर हुनु कानुनी राज्यको निम्ति लाजमर्दो अवस्था उत्पन्न भएको छ ।
सप्तरीका एक जना मीटरब्याज पीडितले सञ्चारमाध्यममा सप्रमाण सरकारी निकायमा रहेका मीटरब्याजीबारे बताउँदा पनि सरकार कारबाहीमा निरीह देखिएको छ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य किशोर प्रधान सप्तरी जिल्लाका स्थानीयको निम्ति नामुद मीटरब्याजी रहेको बताइएको छ ।
एपीवान टेलिभिजनसँगको एक महिना अघिको कुराकानीमा सप्तरी रुपनी २ का पीडित प्रमोद साहले प्रधानको कर्तुतबारे खुलासा गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका प्रधानले जिल्लाका सर्वसाधारणको कसरी उठीबास लगाएका थिए भन्ने रहस्य पनि खोलेका छन् । साह स्वयम् प्रधानबाट पीडित रहेको बताइएको छ ।
किशोरका बुबा लक्ष्मण प्रधानको परिवार सप्तरीका धनीमध्येका एक थिए । त्यतिबेला प्रमोदका बुबाले ३ बिघा ५ कठ्ठा जग्गा धितो राखेर पाँच हजार रुपैयाँ सापटी लिएका थिए । यो २०३७ माघको कुरो हो । त्यसपछि उनीहरुले जग्गा पास गरे र साह परिवारलाई नेपाली कागजमा लेखिएको तमसुक पनि दिएको प्रमोदले बताएका छन् । त्यसबेला केही जग्गा लक्ष्मणले आफ्ना छोरा किशोर प्रधानको नाममा पास गरिदिएका थिए ।
काँग्रेस छाडेर एमालेमा प्रवेश गरेका किशोरको परिवारलाई साह परिवारले २०५२ सालको १५ वर्षमा ५५ हजार तिरे । तर रकम तिरेको भरपाई भने दिइएन । तर आफूहरुले त्यतिबेला साहुमहाजन भनेर चुपचाप बसेको प्रमोदले टेलिभिजनसँगको कुराकानीमा खुलाएका छन् । उनै प्रमोद, उनको परिवार अन्य स्थानीयझैँ बर्दिबासबाट हिँडेर मीटरब्याजी पीडितमाथि कारबाहीको माग र आफ्नो जग्गा फिर्ताको लागि काठमाडौं आएको थियो ।
२०३७ सालपछि साह परिवारले सोही जग्गामा नयाँ घर समेत बनाएको थियो । जग्गाको स्वामित्व सबै किशोर र उनको परिवारको भइसकेकाले दुःख गरेर बनाइएको उक्त घरसमेत अहिले किशोरले हडपेका हुन् ।
विराटनगर र सप्तरीमा घर भएका किशोर विराट फर्मास्युटिकल्सको पूर्वअध्यक्ष हुन् । अघिल्लो कार्यकालमा उनी साहुजीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष थिए । त्यसपछिको चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालसँग् पराजित भएपछि उनलाई एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले पार्टीमा भित्र्याएर आरएनएसीको बोर्डमा नियुक्त गर्नुभएको थियो ।
भिडियो स्रोत : एपी वान टिभी ।
टिप्पणीहरू