गाडी दुर्घटनमा बाबुआमा गुमाएका दुई बालिकाको जिम्मा प्रचण्डले लिने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटनामा बाबुआमा गुमाएका दुई सन्तानको अभिभावकत्व ग्रहण गर्नुहुने भएको छ ।
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका कागेश्वरी-मनोहराका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने उहाँले घोषणा गर्नुभएको हो । हिजो साँझ कागेश्वरी-मनोहरा-२ आलापोटस्थित नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
‘अध्यक्ष क. प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा-२ आलापोट पुग्नुभयो । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाउनु भएका ३८ वर्षीय नारायण नगरकोटी र उहाँकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्नुभयो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन्, ‘उहाँले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताउनुभयो ।’
कात्तिक २८ गते भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको ल्याण्डक्रुजर गाडीले मोटर साइकललाई ठक्कर दिँदा नारायण र उनकी श्रीमती सानुमायाकाे मृत्यु भएकाे थियाे ।
टिप्पणीहरू