ईसीडी सुधारका लागि नेत्रको एकल प्रदर्शन

ईसीडी सुधारका लागि नेत्रको एकल प्रदर्शन

प्रारम्भिक बाल विकास (ईसीडी) लाई व्यवस्थित गर्न माग राख्दै बाबुराम भट्टराई नेतृत्वको पार्टीका विद्यार्थी अध्यक्ष नेत्र चापागाईंले दोस्रो चरणको आन्दोलन शुरु गरेका छन् । 

यसअघिको सहमति कार्यान्वयनमा सरकारले चासो नदेखाएको भन्दै उनले पोखराबाट दोस्रो चरणको प्रदर्शन थालेका हुन् । आइतबारदेखि प्रदर्शन गरिरहेको चापागाईंले बताए । 

दुई दिन पोखरामा प्रदर्शन गरेका उनले मंसिर १३ र १४ गते धनगढी अनि १५ र १६ गते नेपालगञ्जमा प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी सातै प्रदेशमा प्रदर्शन गर्छौं । अन्तिममा हेटौंडामा प्रदर्शन गर्ने तयारी छ । त्यति गर्दापनि माग सुनुवाई नभएमा हामी राजधानी केन्द्रित प्रदर्शन गर्छौं’,उनले भने । 

चापागाईंले ईसीडीमा भौतिक संरचना, सिकाई सामाग्री, उपयुक्त पाठ्यक्रमका लागि बजेट विनियोजन गर्न, खाजा रकम प्रतिविद्यार्थी ५० रुपैयाँ पुर्याउन, ईसीडीमा कार्यरत शिक्षक तथा कर्मचारीलाई बालमनोविज्ञान, केयर गिभर र मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्नलगायतका माग राख्दै गत जेठमा काठमाडौंको माइतीघर मण्डलामा एकल प्रदर्शन गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् तथा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उनको माग कार्यान्वयन गर्ने सम्झौता गरेकी थिइन् । तर, माग कार्यान्वयन नभएपछि उनले पुनः प्रदर्शन थालेका हुन् ।

टिप्पणीहरू