रेशम चौधरीलाई जेलबाट छुटाउन मिल्दैन - चित्रबहादुर

रेशम चौधरीलाई जेलबाट छुटाउन मिल्दैन - चित्रबहादुर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाप्रति राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै चौधरीलाई आममाफी दिनका लागि सरकारले अघि बढाएको प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् । उनले टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गर्दै त्यसका नाइकेलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने दाबी गरे । 

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले आफ्नो सरकार टिकाउनका लागि चौधरीलाई आममाफी दिन लागेको पनि केसीको आरोप छ । 

‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।’

जन्मकैदको सजाय भुक्तानी गरिरहेका चौधरीलाई आगामी सोमबार गणतन्त्र दिवसको दिन राष्ट्रपतिबाट माफी दिने तयारीका साथ सरकारले सिफारिस गरेको बताइएको छ  ।

 २०७२ भदौमा टीकापुरमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा दोषी ठहरिएका चौधरी हाल केन्द्रीय कारागारमा छन् ।
 

टिप्पणीहरू