अरनिकोको पाइला पहिल्याउँदै जाँदा...

अरनिकोको पाइला पहिल्याउँदै जाँदा...

हिजोआज काठमाडौंको पुस्तक पसलहरुमा ‘माओ जेडोङ्ग कुटनीतिक’ भन्ने पुस्तक छ्यापछ्याप्ती पाइन्छ । उक्त पुस्तकमा चिनियाँ अध्यक्ष माओले सन् १९६० को दशकमा जन गणतन्त्र चीन र नेपालको आर्थिक हैसियत एउटै अवस्थाको रहेको उल्लेख गरेका छन् । 

तर नेपालको आर्थिक विकासको इतिहास केलाउँदा त्यसबेला नेपाल जनगणतन्त्र चीनभन्दा धेरै अघि थियो भन्ने थप आधारहरु पाइन्छ । जतिबेला नेपाल वैदेशिक सहयोग तथा आर्थिक सशक्तिकरणमार्फत् औद्योगिक क्रान्तिको युगमा थियो । त्यतिबेला चीन आन्तरिक कलह र वाह्य शक्तिको कोपभाजनको दुष्चक्रहरुसँग जुधिरहेको थियो ।

त्यसो त १२औं शताब्दीको पूर्वाद्र्धतिर नै नेपाल चीनभन्दा कलाकृति र संस्कृतिमा समेत अगाडि थियो भन्न सकिन्छ । त्यतिबेला नेपालमा अब्वल कलाकार तथा मूर्तिकारहरु थिए । त्यसको ज्वलन्त उदाहरण चीनको राजधानी बेइजिङ्गको सिछेन काउण्टीको फुछेन्ङ्गमेन्नेइमा रहेको प्यागोडा शैलीको सेतो डागोबा (स्वेत चैत्य) । 

युआन साशक कुब्ला खाँन आफैंमा मुस्लिम समुदायको भएको र बुध्द धर्मका अनुयायी चीनियाँ जनताको मन जित्न, चीनमा बौद्ध धर्मको विकास, विस्तार र संरक्षण गर्ने अभिप्रायले उनले नै डागोबा (चैत्य) तत्कालीन युआन राज्यको राजधानी रहेको उक्त स्थानमा निर्माण गर्न लगाएको चीनियाँ इतिहासमा पाइन्छ । युआन शासनकालको प्रथम गुरु च्याकु पास्पाको सल्लाहमा उक्त समयमा सम्राटद्वारा नेपालका कलाकारहरु झिकाइएको थियो । 

नेपाली कलाकार अरनिकोको नेतृत्वको टोलीले सन् १२७१ देखि १२८० सम्म झण्डै आठ वर्षको समय लगाएर उक्त चैत्य निर्माण गरेको अभिलेखमा पाइन्छ । जुन हाल नेपालका स्वयम्भू र बौद्धनाथको स्तुपासँग मेल खान्छ । उक्त समयमा शान्तीको प्रतिक भगवान बुद्ध र भगवान बुद्धको प्रतिकात्मक रंग झल्काउन प्यागोडालाई सेतो रंगले पोतिएको थियो । हाल पनि पुरानै रंगमा यथावत छ । 

उक्त प्यागोडालाई चिनियाँहरु म्याउईङ्ग मन्दिरको रुपमा चिन्दछन् भने नयाँ पुस्ताले ग्रेट सेतो मन्दिरको रुपमा पनि चिन्ने गरेको पाइन्छ । युआन शासनकालको दोस्रो गुरु तथा बौद्ध धर्मगुरु इन्चिनचेन्जनले उक्त मन्दिर बौद्ध धर्मको धार्मिक अनुष्ठानसहित सम्पन्न गराएका थिए । मन्दिर निर्माण पश्चात् राज्यमा शान्ति छाओस् र देवीदेवताले सुरक्षा गरुन् भन्नाका लागि उक्त चैत्यको दुवैतर्फ ठूलो ग्रेट मन्दिर पनि निर्माण गर्न लगाएका थिए ।  उक्त मन्दिरलाई अहिलेपनि चिनियाँहरु शान्ति र सुरक्षाको प्रतिकको रुपमा पुज्ने गरेको पाइयो । सन् १४५७ मा चिन्सुनकालको प्रथम वर्ष तथा मिङ्ग साम्राज्यको साशनकालमा उक्त मन्दिरलाई जीर्णोद्धार तथा पुनर्निमाण गरी ‘म्याउइङ्ग महाविहार’ नामाकरण गरिएको थियो । 

प्यागोडा शैलीमा बनाइएको ५१ मिटर अग्लो सेतो चैत्यमा आधार, मुख्य र माथिल्लो गरी तीन वटा तल्ला छन् । तल्लो तह वर्गाकार क्षेत्रफलमा नौ मिटर उचाईको छ । त्यसमा पनि तीन तह छुट्याइएको छ । मुख्य भाग कचौरा घोप्ट्याएको आकारमा १८.५५ मीटर व्यासको छ । जसमा माथिदेखि तलसम्मको तहगत कलाकृतिमा निर्माण गरिएको छ । 

चैत्यको माथिल्लो भागमा २४ वटा तहगत प्यानल बनाइएको छ । जसको झल्लर आकारको टुँडालको चारैतर्फको भागमा ३६ वटा कलाकृतिले भरिएको आकर्षक घण्ट र तामाको पाता झुण्ड्याइएको छ । चैत्यको माथिल्लो भागमा चार टन अर्थात चार हजार किलो वजन तामा प्रयोग गरेर आकर्षक कला कृतिले कुँदिएको पाँच मिटर अग्लो गजुर बिहानको सूर्योदयको समयमा पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

चैत्य परिसरमा प्रवेश गर्ने बित्तिकै नेपाल मण्डप र तिब्बती शैली मिश्रित तीन वटा महाविहार लहरै देखिन्छन् । महाविहारको पश्चिम तथा परिसरको अन्तिममा विशाल स्वेत चैत्य छ । पहिलोमा शान्ति र खुशीको प्रतिक हाँसेको बुद्धको विशाल मूर्तीले सबैलाई स्वागत गर्दछ । जसको दुईतर्फ चार वटा साशकहरुको जस्तो आकृति रहेको मूर्ति स्थापना गरिएको छ । जहाँ चतुर्महाराजको पूजा हुने गर्दछ । यसलाई उत्कृष्ठ चार राजाहरुको हलको नाम दिइएको छ । एक महाविहारमा त्रिकला वुध्दको पुरानो तीन वटा मूर्ति स्थापित गरिएको छ । 

त्रिकला बुद्धको मूर्तिको दायाँबायाँ दुवैतर्फ नौ नौ वटा गरेर जम्मा १८ जना शासकले प्रार्थना गरेको महशुस हुनेगरी मूर्तिहरु राखिएको छ । अर्को महाविहारमा तीनवटा ढलोटको विशाल छन् । जसको बाहिर एकापसमा हेरेको भान हुनेगरी दुई वटा ढुङ्गाले कुँदिएको सिंहको मूर्ति राखिएको छ । 
उक्त महाविहारलाई विगतमा महिला र पुरुषले छुट्टाछुट्टै ध्यान गर्न प्रयोग हुने गरेको किवंदन्ती पाइन्छ । पहिलो महाविहारमा भने पहिल्यैदेखि देवी देवताको मूर्ति स्थापना गरी पूजापाठका समयमा मात्र खोल्ने गरेको पाइएको छ । श्वेत चैत्यको बाहिरी पर्खालमा पुरानो माटोले बनाएको झिँगटी जस्तो कलायुक्त बुट्टेदार टायल प्रयोग गरिएको छ । परिसरभित्रै पुराना साशनकालको इतिहास समेटिएको संग्रहालयसमेत बनाइएको छ ।

अरनिकोको जन्म सन १२४४ मा काठमाडौं उपत्यकाको पाटन शहरको बुद्ध धर्मका अनुयायी निर्माणकर्मी नेवार परिवारमा भएको मानिन्छ । त्यो समयमा पाटनमा राजा अभय मल्लको शासनकाल थियो । उनी कलिलै उमेरमा प्यागोडा र शिखरशैलीको मन्दिर बनाउन पोख्त भइसकेका थिए । त्यसैले उनीसहितको ८० जना कलाकारहरुको समूहलाई १२६० मा तिब्वतमा स्वर्ण मन्दिर (डागोबा) बनाउन राजले पठाएको ऐतिहासिक अभिलेख छ । त्यतिबेला पाटनका राजा जयभीमदेव (अनन्त) मल्ल थिए । 


तिब्वतमा उनको समूहले स्वर्ण मन्दिर (हालको पोतला दरबार) को निर्माण सम्पन्न गरेपछि शाक्य गुम्बाका भिक्षु पाहसपाको सहयोगमा युआन शासकहरुको राजधानी डाडु (पेचिङ्ग) लगिएको थियो । नेपालमा रहँदाको वास्तविक नाम बलबाहु भएपनि बेइजिङले उनलाई अरनिकोको नामले थप प्रशिद्ध बनायो ।  चिनियाँहरु उनलाई पालुपु नामले चिन्दछन् । 

उनी चीन जाँदा भर्खरको कलिलो युवा अवस्थामा थिए त्यसैले सबैले उनलाई अनिको अर्थात सानो भाई भनेर बोलाउँथे । अन्ततः उनको नाम कालान्तरमा अनिको अर्थात अरनिको हुन गएको भनाई छ । उनको देहान्त डाडु शहरमा सन् १३०६मार्च अठार तरिखका दिन भएको इतिहास पाइन्छ । 

उनको मृत्य आत्महत्या थियो वा सामान्य भन्नेमा भने चिनियाँ अभिलेखहरुमा मतभिन्नता देखिन्छ । यद्यपि उनको नेपालमै बाल विवाह भएको र चीन गएपछि दुई मंगोलियन र सात चिनियाँ श्रीमती रहेको उल्लेख छ । ती श्रीमतीहरुबाट छ छोरा तथा आठ छोरीहरु पैदा भए । त्यसपछि गृह कलहका कारण उनलाई मृत्युको मुखसम्म पुर्याएको चिनियाँहरुको विश्वास छ ।

तत्कालीन साशक कुब्ला खानले उनलाई निर्माण कार्यको प्रमुख सामान्य प्रबन्ध कार्यालयको प्रमुखको जिम्मा समेत दिएका थिए । विश्व विजेता सम्राट चेङ्गिज खाँको नाती कुब्ला खाँले थप ख्याति कमाउँदै गएकाले साशक खाँको घमण्ड बढ्दै जाँदा उनको सामुन्ने सबै नतमस्तक भएर शीर झुकाउनुपर्ने प्रथा चलाइयो । 

राजा खाँले अरनिकोलाई भेट्न बोलाउँदा उनी शानका साथ साशकका सामुन्ने प्रस्तुत हुँदा ‘तिमीलाई मदेखि डर लागेन ? किन शीर नझुकाएको ?’ भनेर प्रश्न गरेका थिए । कलाकार अरनिकोले ‘आफ्नो देशमा राजालाई जनताको पिता र जनतालाई राजाको सन्ततीको रुपमा हेर्ने गरिन्छ । म तपाईंको सन्तती र तपाईं मेरो पिता । अब कुरा कहाँ रह्यो शासक र रैतीको ?’ भनेर प्रतिउत्तर दिएको चिनियाँहरु बताउँछन् ।

३० वर्षको अवधिमा चीनमा उनले तीन वटा विशाल डाबोगा (चैत्य), नौ मन्दिर, असंख्य चित्र तथा मूर्तिहरु निर्माण गरेका थिए । तीमध्ये बेइजिङ्ग शहरकै दोस्रो चक्रपथको पश्चिमी भागमा रहेको बाईता पार्कमा देखिन्छ । उक्त चैत्यको नामबाट ठाउँको र पार्कको नाम पनि बाईता नै राखिएको छ । अर्को चैत्य राजधानी बेइजिङदेखि करिब चार सय किलोमिटर उत्तरमा रहेको चाङ्गदा शहरमा पनि छ ।

डाबोगामा सन् २००२ मा जनगणतन्त्र चीनमा अध्ययन गरेर नेपाल फर्केका नेपालीहरुको समूह ‘अरनिको समाज’ ले उपहारस्वरुप श्वेत चैत्य व्यवस्थापन कार्यालयलाई दिएको अरनिकोको तामाको मूर्ति स्थापना गरिएको छ । जसले अझै उक्त चैत्य परिसरलाई शोभा बढाएको छ । 

सन् १९६१ मा चीन सरकारले पहिलो राष्ट्रिय सांस्कृतिक सम्पदाको रुपमा पहिचान दिएर राष्ट्रिय संरक्षणको जिम्मा लिएको पाइन्छ । सन् १९८७ मा उक्त परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो ।
                                                       (चीन भ्रमणबाट फर्केका एक जना नेपालीको अनुभव)

टिप्पणीहरू