कसरी आयो नेकपा ब्युँताउने कुरो ?
त्यतिबेलै माधव कमरेडको प्रस्ताव मानेको भए आज राजनीतिको चित्र अर्कै हुन्थ्यो, छिन्नभिन्न भएका कम्युनिष्ट मिलिसक्थे । संघदेखि ६ वटा प्रदेशमा हाम्रै नेतृत्वको सरकार रहन्थ्यो । तर, अहिले पुर्पुरोमा हात राखेर बस्नुपर्या छ – शनिबार भक्तपुर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँताउने प्रस्ताव गरेपछि एमालेका एक केन्द्रीय सदस्यले यस्तो प्रतिक्रिया दिए ।
अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्ने गरेका कारण खुलेर बोल्न नमिल्ने बाध्यतामा रहेका उनी राष्ट्रपति चुनावका बेला माधवले नेकपा ब्युँताउन गरेको औपचारिक प्रस्ताव आफ्ना अध्यक्षले बेवास्ता गरेकोमा चुक्चुकाए ।
कांग्रेस नेतृत्वको पाँचदलीय चुनावी गठबन्धन भत्किएर पुस १० गते अकस्मात एमाले र माओवादीको पुनर्मिलन हुँदा अरुजस्तै हौसिएका थिए उनी पनि । टुटफुट र विभाजनले रक्षात्मक बनेका कम्युनिष्टहरू बलियो हुने आमकार्यकर्ताको जस्तै अपेक्षा उनमा पनि थियो । तर, राष्ट्रपतिको चुनावसम्म आइपुग्दा परिस्थिति बिग्रियो । दिनहुँ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कन्याउँदा पनि राष्ट्रपति आफ्नो हातमा नपर्ने पक्का भएपछि एमालेबाट माधवलाई राष्ट्रपति बन्नका लागि आग्रह थियो । त्यतिखेरै हो, माधवले नेकपा ब्युँताउने प्रस्ताव ओलीलाई पठाएको ।
ओलीका तर्फबाट माधवलाई मनाउन प्रत्यक्ष खटिएका थिए विष्णु पौडेल र सुवास नेम्वाङ । माधवले भेट्न नचाहेपछि शंकर पोखरेल भने बाहिरबाट मिलाउने भूमिकामा रहे । राष्ट्रपतिको प्रस्ताव लिएर आएका एमाले नेताहरूलाई माधवको जवाफ थियो– माओवादीसहित तीन पार्टी एक हुने शर्तमा मात्रै मञ्जुर छ । प्रचण्डलाई म कन्भिन्स गर्छु तपाईंहरू ओलीलाई मनाउनुस् ।
नेकपा पुनःस्थापित हुन सक्ने आधारसहित आफ्ना सम्धी सोमप्रसाद पाण्डे र नेता किसान श्रेष्ठमार्फत माधवले सन्देश पठाउँदा ओलीले टेर्नुभएन । तर्कद्वारा आफ्ना कुरा माथि पार्न खप्पिस, ओलीले आफूसम्म प्रस्ताव नै नआएको जिकिर गरेपछि सार्वजनिक मञ्चबाटै किसानले ‘ए ! कमरेड झुट नबोल्नुस्, अस्ति मैले नै भनेको हैन ?’ सम्म भन्नुपरेको थियो । परिणामतः न माधव राष्ट्रपति हुनुभयो, न एमाले सरकारमा रह्यो ।
अहिले अकस्मात माधवबाट फेरि त्यही कुरा किन आयो ? वामपन्थी वृत्तमा यसले यौटा तरंग छोडेको छ – के कम्युनिष्टहरू एकजुट हुँदैछन् ? सत्ता राजनीतिको सबै सम्भावना लगभग गुमाइसकेको एमाले नेतृत्व के नेकपा ब्युताउँन तयार भएको हो ? बताइएअनुसार आफ्नो पार्टी रित्याउन एमालेका केही नेताले ‘माधव नेपालले पार्टी माओवादीमा मिसाउन लागे, तपाईंहरू त्यहाँ किन बस्नुहुन्छ’ भनेर तल्लो तहका कार्यकर्तालाई म्यानिपुलेट गर्न थालेपछि नेकपा पुनर्गठनको काउण्टर प्रस्ताव आएको हो ।
नेपालमा अहिले पनि झण्डै ६० प्रतिशत जनमत वामपन्थी देखिन्छ । तर, वाम पार्टीहरू विभाजित हुँदा जनमत पनि छरिएको छ । विगतको कमजोरीबाट पाठ सिकेर एकतावद्ध हुनुपर्नेमा अहिले पनि उनीहरूबीच तानातानको अवस्था छ । नेतृत्व तहमा बढेको अविश्वासले एमालेसँग मात्र होइन,सँगै रहेका एकीकृत समाजवादी, माओवादी र जसपाको पनि दूरी बढ्दै छ । बजेटमा प्रधानमन्त्री प्रचण्डले एकलौटी गरेको भन्दै समाजवादी र जसपाका नेताहरू रुष्ट छन् ।
माधव नेपालसहित समाजवादीका कतिपय नेताले सामुन्नेमै यथास्थितिमा बजेट पारित गरे सरकार छोड्नेसम्मको चेतावनी दिइसकेका छन् । बजेटले मधेसलाई उपेक्षा गरेको भन्दै उपेन्द्र यादव अर्कोतिर रिसाएका छन् । प्रधानमन्त्री, अर्थमन्त्री र कांग्रेस सभापतिको निर्वाचन क्षेत्रमा भएभरको बजेट थुपारेको भन्दै सत्तापक्षकै अरु नेताहरूको पनि गुनासो सुनिन्छ । आफ्नो निर्वाचन क्षेत्रमा बजेट खन्याउँदैमा चुनाव जितिने भए प्रचण्डले चितवन छोडेर गोरखा किन जानुपथ्र्याे भन्ने तर्क आइरहेको छ ।
यो अविश्वासले समाजवादी मोर्चा गठनमा प्रत्यक्ष प्रभाव पारेको छ । एमालेबाहेकका वामपन्थीहरूको बृहत मोर्चा बनाउने तयारी चुनावलगत्तैबाट शुरु भएको हो । माओवादी, एकीकृत समाजवादी, बाबुराम, जसपा हुँदै विप्लवसम्म एक ठाउँमा आउने र संसदमा एमालेकै हाराहारीको शक्ति बनाउने प्रयासले यस्तै अविश्वासका कारण गति लिन नसकेको दोस्रो तहका नेताहरूको बुझाई छ । समाजवादीका एक नेताले भने – सामुहिकताको अभ्यास नहुँदा अविश्वास बढेको छ, जस कारण मोर्चा गठनको प्रयासले मूर्तता पाउन नसकेको हो ।
यता, मध्यावधि चुनावको सम्भावना देखेर मंसिरको चुनावलगत्तै ‘मिसन ग्रासरुट’ अभियान चलाएको एमालेले यसबीचमा पार्टीको अवस्था सोचेजस्तो राम्रो नभएको घुमाउरो पाराले स्वीकार गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले गरेका निर्णयको जानकारी तथा कार्यान्वयनका लागि अध्यक्ष ओलीले पठाएको अन्तरपार्टी निर्देशन (अपानि)मा पार्टीभित्र समस्या नै समस्या रहेको र त्यसमा केन्द्रीय नेताहरूको भूमिकालाई जिम्मेवार ठहर्याइएको छ । केन्द्रीय सदस्यहरूले काम गर्न नसक्दा संगठन कमजोर बन्दै गएको बैठकको निष्कर्ष देखिन्छ ।
तर, त्यसप्रति असन्तुष्ट नेताहरू भन्छन्, ‘सच्चिनुपर्ने छ ओली, भनिन्छ तलका कमिटीले काम गर्न सकेनन् ।’ अध्यक्ष ओलीलाई एक केन्द्रीय सदस्यको प्रश्न छ – माक्र्सवादी हुनु भनेको वस्तुवादी हुनु हो, जब हामी वस्तुवादी हुँदैनौँ भने सोचेको परिणाम कसरी आउँछ ? समाजले अपेक्षा गरेअनुसार पार्टीले काम नगरेका कारण समस्या बढेको र त्यसमा मुख्य नेतृत्वका हिसाबले ओलीले जिम्मा लिनुपर्ने उनको तर्क छ ।
प्रवास कमिटीले काम नगरेका कारण विदेशमा भएका नेपालीहरूले एमालेको विपक्षमा माहोल बनाएको र त्यसको असर चुनावमा देखिएको निश्कर्ष निकालेको एमालेले विदेश गएकाहरूको दुःख, उनीहरूलाई देशमै रोजगारी दिएर अड्याउन नसक्नुको कारण चैँ ढाकछोप गरेको देखिन्छ । आफ्नै अध्यक्षमाथि कटाक्ष गर्दै ती नेता भन्छन्– यहाँ भ्यु टावर बनाइयो तर त्यसले रोजगारी दिएन । उनीहरूलाई यहाँ अड्याउन हामीले के गर्यौँ, त्यसको समीक्षा खोइ ? पेट भर्नैका लागि व्यापारीको पछि लागेर पार्टी नबन्ने उनको ठम्याइ छ ।
टिप्पणीहरू